Comments Add Comment
निःशुल्क पीसीआर टेष्टको दुःख :

‘अहिले ज्वरो ९९ मात्रै छ, तपाईंको पैसा लाग्छ’

टेकु अस्पताल

दृष्य १

‘पीसीआर टेस्ट गराउने कता हो सिस्टर ?’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको फ्रन्ट डेस्कमा बसेकी स्वास्थ्यकर्मीसँग एक युवतीले सोधिन् ।

‘पहिले काउन्टरमा गएर पैसा तिर्नुस्, अनि टिकट लिएर उ त्यता जानुस्’ स्वास्थ्यकर्मीले सुझाइन् ।

‘पीसीआर त निःशुल्क भएको होइन ?’ युवतीसँग आएकी आफन्तले सोधिन् ।

‘अहँ छैन,’ स्वास्थ्यकर्मीले भनिन्, ‘लक्षण देखिएकालाई मात्र हो ।’

‘लक्षण त छ नि, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, खानाको स्वाद नआउने…’ युवतीले सुनाइन् ।

‘ज्वरो कति छ ?’ स्वास्थ्यकर्मीको प्रश्न ।

‘राति १०२ आएको थियो, अहिले सिटामोल खाएर आएको हुँ’ युवतीले जवाफ दिइन् ।

स्वास्थ्यकर्मीले थर्मल गन तेस्र्याएर ज्वरो नापिन् । ‘अहिले ९९ मात्रै छ, तपाईंको पैसा लाग्छ,’ उनले भनिन् ।

युवती पैसा तिर्न काउन्टरतिर लागिन् ।

उनीजस्तै अरु पनि यसरी नै पैसा तिर्न लाम लागेका थिए । हामीले आफ्नो परिचय नखुलाई स्वास्थ्यकर्मीसँग सोध्यौं, ‘अहिले ज्वरो नदेखिँदैमा लक्षण नभएको हुन्छ र ?’

उनले भनिन्, ‘हामीलाई जे आदेश छ, त्यही गर्ने हो । १०० डिग्री ज्वरो देखियो भने मात्रै निःशुल्क गर्ने भनिएको छ ।’

जबकी अस्पतालको गेटमा टाँसिएको ‘पीसीआर परीक्षण र उपचारसम्वन्धी सूचना’को पहिलो नम्बरमा भनिएको छ, ‘तालको ओपीडीमा खटिएका चिकित्सक÷स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डीग्री फरेनहाइट वा सोभन्दा बढी) देखिएका तथा कोभिड–१९ का अन्य लक्षण वा चिह्न भएका व्यक्तिहरूको निःशुल्क पीसीआर टेस्ट गरिने छ ।’

दोस्रो नम्बरमा लेखिएको छ, ‘माथि उल्लेख भएका बाहेकका व्यक्तिहरूलाई रु २ हजारमा पीसीआर टेस्ट गरिनेछ । निःशुल्क परीक्षण र उपचार पाउनेहरूका हकमा पनि यदि उनीहरूले कोरोनाको बीमा गराएको भए सबै परीक्षण र उपचारको खर्च निजको बिमा रकमबाट असुल गरिने उल्लेख छ ।

तर स्वास्थ्यकर्मीले नाप्दा १०० डिग्री ज्वरो आउनैपर्ने अस्पतालको ‘मापदण्ड’ले कोरोनाको लक्षण देखिएको छ र, हनहनी ज्वरो आएको छ भने पनि या त सिटामोल नखाई स्वाब दिन जानुपर्ने वा पैसा तिरेर परीक्षण गर्नुपर्ने अवस्था देखिएको छ ।

दृष्य २

अर्को सरकारी अस्पताल लगनखेलस्थित पाटन अस्पतालमा अलि फरक शैली देखियो । सो अस्पतालको नगद काउन्टरमा बुधबार मात्रै नयाँ सूचना टाँसिएको छ । हस्तलिखित सूचनामा भनिएको छ, ‘आजको मिति (मंसिर ३ गते) बाट कोरोना भाइरसलाई गर्ने जाँच (आरटी–पीसीआर) को पैसा लिइने छ (सःशुल्क सेवा) ।

लाइनमा बसेका एक युवकले झ्यालमा चियाउँदै सोधे, ‘पीसीआरको पैसा नलाग्ने होइन र ?’

भित्रबाट जवाफ आयो, ‘उ त्यता गएर सोध्नुस् ।’

जवाफ दिने व्यक्तिले इंकित गरेअनुसार उनी सोधपुछ काउन्टरमा गए र, सोधे, ‘पीसीआर निःशुल्क होइन ?’

स्वास्थ्यकर्मीले जवाफ दिए, ‘सबैलाई निःशुल्क हुँदैन, कसै कसैलाई हो ।’

उनले आफूलाई विभिन्न लक्षण देखिएको र परिवारमा ३ जनालाई पोजेटिभ आएको सुनाए ।

त्यसपछि स्वास्थ्यकर्मीले भने, ‘त्यसो हो भने कन्ट्याक्ट ट्रेसिङका लागि वडाको सिफारिस लिएर आउनुस् ।’

उनले आफू बिरामी भएकाले वडा पुग्न नसक्ने बताए । स्वास्थ्यकर्मीले लक्षण सोधे । रुघा–खोकी लागेको र ज्वरो आएको भन्दै उनले भने, ‘अहिले पनि ज्वरो आइरहेको छ ।’

त्यसपछि स्वास्थ्यकर्मीले उनलाई एउटा सानो कागजको चिट दिए । त्यसमा केवल अंग्रेजी अक्षर ‘एफ’ लेखिएको थियो ।

‘यो लिएर अघिको काउन्टरमा जानुस्,’ उनले भने ।

युवक अल्मलिँदै अघिकै ठाउँमा लाइन बस्न पुगे । भित्रबाट महिलाले सोधिन्, ‘चिटमा के लेखेको छ ?’

‘एफ’ लेखिएको बताएपछि महिलाले अरु विवरण मागिन् र पैसा तिर्नु नपर्ने बताइन् । लाइन लागेका अरु व्यक्तिले भने ‘पी’ लेखेको चिट बोकेका थिए । उनीहरुले पैसा तिर्नुपर्ने भयो ।

हामीले स्वास्थ्यकर्मीलाई हामीले सोध्यौं, ‘पीसीआर टेस्ट त सबैको निःशुल्क होइन र ?’ उनले जवाफ दिए, ‘सबैको निःशुल्क गरेर त कसरी साध्ये हुुन्छ ? अरु काममा हिँडेकाहरू पनि एकपटक पीसीआर गरिहालांै न त भनेर लाइन लाग्न आउँछन् ।’

दृष्य ३

नयाँ वानेश्वस्थित सिभिल अस्पताल पनि सरकारी अस्पताल हो । यहाँ कोरोना आशंकित बिरामीको परीक्षण भइरहेको छ । तर, शुल्क लिएर मात्रै ।

शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राजभण्डारी सबैको निःशुल्क पीसीआर टेष्ट व्यवहारिक रुपमा सम्भव नभएको बताउँछन् । ‘सबैलाई निःशुल्क गर्दा त हामीले भिड धान्नै सक्दैनौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले पनि लक्षण देखिएकालाई मात्र निःशुल्क गर्नू भनेको छ ।’

दिउँसो ११ बजेतिर अस्पतालमा पुग्दा प्राङ्गणमा एक व्यक्ति पीसीआर टेष्टका लागि आउने बिरामीहरुबाट धमाधम दुई हजार रुपैयाँका दरले रकम उठाइरहेका थिए ।

‘सरकारी अस्पतालमा त पीसीआर निःशुल्क भइसकेको होइन र ?’ हामीले सोध्यौं ।

उनले जवाफ फर्काइहाले, ‘सरकारले निर्णय गर्‍यो होला, तर हाम्रो अस्पतालले गरेको छैन । अरु अस्पतालले त झन् २४ सय लिन्छन्, हाम्रोमा २ हजार मात्रै छ ।’

सोधपुछ डेस्कमा बसेकी महिला कर्मचारीले भने अस्पतालको आफ्नो पीसीआर मेसिन नभएको र निजी ल्याबले परीक्षण गरिरहेकाले शुल्क लिने गरिएको बताइन् ।

०००

कोरोनाको परीक्षण र उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने मन्त्रिपरिषदको २४ कात्तिकको निर्णय कार्यान्वयन भएको छैन भन्ने बुझ्न माथिका दृष्टान्त पर्याप्त छन् । त्यति मात्रै होइन, सरकारी अस्पतालहरूले आफूखुशी नियम बनाएर निःशुल्क परीक्षणबाट वञ्चित गरिरहेका छन् भन्ने पनि देखाउँछ ।

शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राजभण्डारी सबैको निःशुल्क पीसीआर टेष्ट व्यवहारिक रुपमा सम्भव नभएको बताउँछन् । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार लक्षण देखिएका बिरामीको निःशुल्क गरिरहेको उनले बताउँछन् । ‘सबैलाई निःशुल्क गर्दा त हामीले भिड धान्नै सक्दैनौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले पनि लक्षण देखिएकालाई मात्र निःशुल्क गर्नू भनेको छ ।’

‘१०० डिग्री ज्वरोलाई मात्र लक्षण मान्नु गलत भएन र ?’ भन्ने प्रश्नमा उनले त्यस्तो नियम नबनाइएको दाबी गरे । ‘ज्वरो मात्रै लक्षण होइन । अरु लक्षण भएकाले पनि निःशुल्क परीक्षण गराउन सक्छन्,’ उनले भने, ‘उनीहरुको चिकित्सकको सिफारिसका आधारमा निःशुल्क परीक्षण गराउने व्यवस्था गरिएको छ ।’

सबैको निःशुल्क गर्दा एउटै व्यक्ति पटकपटक परीक्षणका लागि आउने, लक्षण नदेखिए पनि देखिएको भनेर ढाँट्ने जस्ता समस्या देखिएको उनले सुनाए । ‘निःशुल्क परीक्षण र उपचारमा हामीले कुनै पनि कञ्जुस्याई गरेका छैनौं । एउटा बिरामीलाई ४० दिनसम्म राखेर उपचार गरी निको बनायौं तर, एक पैसा लिएनौं’ उनले सुनाए, ‘पैसा दिएको भए बिल ६ लाखभन्दा बढी उठ्थ्यो ।’

नेपालमा कोरोना संक्रमित भेटिएदेखि सरकारी ल्याब र अस्पतालहरुमा परीक्षण र उपचार निःशुल्क हुँदै आएको थियो । तर राज्यकोषमा भार बढेको भन्दै २ कात्तिकमा सरकारले नयाँ निर्णय लियो । गरिब–विपन्न, असहाय, अति अपांग, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मीमा लक्षण छ भने निःशुल्क परीक्षण र उपचार गर्ने, अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय थियो ।

सरकारको यो निर्णयको चौतर्फी विरोध भयो । कोरोनाको परीक्षण र उपचारबाट सरकारले नागरिकलाई वञ्चित बनाएको भनेर आलोचना मात्र भएन, कोरोनाको परीक्षण र उपचार निशुल्क गर्न १५ असोजमा सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन अदालतले खारेज गरिदियो । त्यसपछि बाध्य भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क परीक्षण र उपचारसम्बन्धी प्रस्ताव लगेपछि मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले सरकारी प्रयोगशाला र अस्पतालहरुमा कोरोनाको परीक्षण र उपचार पूर्ण निःशूल्क गर्ने निर्णय लिएपनि मन्त्रालयले ‘लक्षण देखिएकालाई नि:शुल्क गर्ने’ भनेर कन्ट्राक्ट ट्रेसिङका आधारमा निःशुल्क परीक्षण गर्ने बाटो बन्द गराइदिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने डाक्टरले हेरेर आवश्यक देखेमा परीक्षण निःशुल्क हुने बताउँछन् । ‘सबैको निःशुल्क भनिएको छैन, लक्षण देखिएकालाई मात्र हो,’ उनले भने, ‘लक्षण जाँच्ने डाक्टरले हो । डाक्टरलाई नदेखाई कसैले यस्तो भयो उस्तो भयो भनेको भरमा निशूल्क गर्न सकिन्न ।’

लक्षण देखिएकाहरुले पनि निःशुल्क परीक्षण सहजै गराउन नपाएको जनगुनासो छ नि भन्ने प्रश्नमा गौतमले जवाफ दिए, ‘जनगुनासो त भइहाल्छ नि । सकभर त घरमै आएर निःशुल्क पीसीआर गरिदिए हुन्थ्यो भन्ने छ सबैलाई ।’

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरर अधिकारीले भने निःशुल्क परीक्षण तथा उपचार गर्न नमानेको शुनासो आएपछि अस्पतालहरूलाई कारवाहीको गर्ने चेतावनी दिँदै पत्राचार गरिएको जनकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment