Comments Add Comment

राष्ट्रसंघका महासचिवद्वारा जी-२० का नेताहरुलाई एकताबद्ध हुन आह्वान

६ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न जी-२० का नेताहरुलाई आह्वान गरेका छन् ।

जी-२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुनुअघि शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उनले विश्वका नेताहरुलाई यो आह्वान गरेका हुन् ।

विश्वमा अहिले विशेष गरेर कोरोना महामारीको अवस्था रहेको र विश्वमा आर्थिक मन्दी पनि देखिएको भन्दै गुटरेसले यी र अन्य समस्याहरु समाधानका लागि  एकताबद्ध हुन  अपील गरे ।

पत्रकार सम्मेलनमा महासचिव गुटरेसले भने, ‘यसै हप्ताको अन्त्यमा जी-२० का नेताहरुको अनलाइन बैठक हुँदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ, त्यो सन्देश हो- विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।’

उनले कोभिड १९ ले निरन्तर रुपमा कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी-२० का नेताहरु पनि लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment