Comments Add Comment
सन्दर्भ : विश्व टेलिभिजन दिवस :

नियामक निकायको अभावमा प्रसारण क्षेत्र

सञ्चारको प्रभावकारी माध्यम हो टेलिभिजन । सञ्चार क्षेत्रमा पत्रपत्रिका, रेडियोपछि टेलिभिजनको आविश्कार भयो । पत्रपत्रिकामा रहेका कमजोरीलाई रेडियोले रेडियोमा रहेको श्रव्यलाई दृष्यसमेत पस्केर टेलिभिजनले आफ्नो प्रभाव विस्तार गर्‍यो ।

प्रसारणको प्रारम्भमै दोस्रो विश्वयुद्धका कारण टेलिभिजनले झण्डै १५ वर्षपछिमात्र द्रुतगतिमा विकास गर्न सक्यो । सन् १९५० को दशकमा टेलिभिजनको व्यापक विस्तार भयो र विश्वभर टेलिभिजनको माग सर्वाधिक हुन पुग्यो । उक्त अवधिलाई टेलिभिजनको स्वर्ण युग भनिन्छ ।

टेलिभिजनले विश्वमा एकछत्र प्रभाव जमाउन सफल भए पनि इन्टरनेटको विकाससँगै अनलाइन मिडियाले अहिले बजार ओगट्न थालेको छ । तैपनि टेलिभिजनको प्रभाव भने अझै कायम नै छ ।

सन् १९८० मा इन्टरनेटको विकास भए पनि सञ्चार क्षेत्रमा इन्टरनेटले प्रभाव सन् २००० पछिमात्र पर्न थाल्यो । इन्टरनेटले रेडियो र टेलिभिजनलाई विस्थापित गर्नुको सट्टा झन प्रभावकारी बनाउन मद्दत गरेको छ ।

रेडियो र टेलिभिजनमा रहेको तत्काल विश्वव्यापी बन्ने क्षमता इन्टरनेटमा उपलव्ध छ । रेडियो र टेलिभिजनमा अन्तरक्रियात्मक कम हुनेमा इन्टरनेट अन्तरक्रियात्मक हुन सक्छ । तत्काल प्रतिक्रिया व्यक्त गर्न सकिने, अर्कोलाई सिफारिश गर्न सकिने, चाहेका बेला हेर्न मिल्ने र कम खर्चमै विश्वव्यापी हुन सक्ने गुण इन्टरनेटमा उपलव्ध छ ।

तैपनि टेलिभिजनको प्रभावकारिता कम नहुनुको मुख्य कारण सूचना, मनोरञ्जन र ठूला-ठूला घटनालाई प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण टेलिभिजनको महत्व अझै व्यापक बनाएको छ भने इन्टरनेटको प्रयोगले टेलिभिजन झन सहज माध्यम भएको छ । आफूले चाहेका बेला हेर्न सकिने, प्रसारणकै समय हेर्न नपर्ने जस्ता सहजता इन्टरनेटले थपिदिएको छ ।

विश्वमा जनचेतना अभिवृद्धि गर्न, द्वन्द्व कम गर्न र मनोरञ्जन प्रदान गर्न टेलिभिजनले खेलेको भुमिकाको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले सन् १९९६ मा नोभेम्वर २१ तारेखलाई विश्व टेलिभिजन दिवसका रुपमा मनाउने घोषणा गर्‍यो । सोही घोषणाअनुरुप प्रत्येक वर्ष नोभेम्वर २१ तारिकलाई टेलिभिजन दिवसका रुपमा मनाउने गरिएको छ ।

सूचना, मनोरञ्जनका साथसाथ शिक्षा र उत्प्रेरणा प्रदान गर्ने क्षमताकै कारण रेडियो र टेलिभिजनले लोकप्रियता हासिल गरेका हुन् । निरक्षरले समेत हेर्न र सुन्न सक्ने, दुर्गम स्थानमा समेत सहजै पहुँच पुर्‍याउन सकिने र निशुल्क प्राप्त हुने भएकाले रेडियो र टेलिभिजनको लोकप्रियता वढेको हो । टेलिभिजनको कारण विश्वका एक कुनामा भएको घटना अर्को कुनामा बस्ने मानिसले हेर्न सक्ने अवस्थाको सिर्जना भयो ।

प्रविधिमा आएको निरन्तर परिर्वतनसँगै टेलिभिजन उद्योगमा पनि निरन्तर परिर्वतन आइरहेको छ । परम्परागत टेलिभिजनलाई न्यु मिडिया मार्फत संचालन गर्नु पर्ने, उत्पादन र वितरणलाई समेत नियमन गर्नुपर्ने चुनौति हामी सामु आइसकेको छ ।

विश्वमा टेलिभिजनको बजार

विश्वमा टेलिभिजन बजार विस्तार हुने क्रममा छ । अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन रहेको अनुमान गरिन्छ । यस आधारमा हेर्ने हो भने झण्डै ५/६ खर्व मानिसले टेलिभिजन हेर्ने गरेको अनुमान गर्न सकिन्छ । तत्काल दृष्यसहित प्रसारण गर्न सक्ने र विश्वव्यापी हुन सक्ने सामथ्र्य अहिलेसम्म टेलिभिजनसँग बाहेक अरु सञ्चारका माध्यमसँग छैन ।

इन्टरनेटको विकासले टेलिभिजनलाई विस्थापित गर्ने सोच र अवधारणा पूर्णतः गलत अवधारणा हो । इन्टरनेटले टेलिभिजनलाई विकास र विस्तार गर्न मात्र होइन, टेलिभिजनमा रहेको अत्यधिक खर्चलाई कम गर्न सहयोग पुर्‍याएको छ । इन्टरनेटले तत्काल विश्वव्यापी बन्ने, तर अन्तरक्रियात्मक हुन नसक्ने टेलिभिजनको अवगुणलाई अब अन्तक्रियात्मक अर्थात तत्काल विश्वभरवाट प्रतिक्रिया व्यक्त गर्न सकिने बनाएको छ ।

इन्टरनेटको विकाससँगै टेलिभिजन प्रसारणकै समय (Real time) को सट्टा आफूले चाहेको समय Video on demand (VOD) मा जान सक्ने भएको छ । जसले प्रसारणको समयमा हेर्न नसक्ने लोकपि्रय कार्यक्रम वा सूचना जुनसुकै बेला हेर्न सक्ने अवस्थामा पुर्‍याएको छ । यसले टेलिभिजन र तिनमा बन्ने कार्यक्रमको लोकपि्रयता बढेको छ । टेलिभिजनमा इन्टरनेटको प्रवेशसँगै डिजिटल प्रविधिका कारण टेलिभिजनको गुणस्तरमा पनि वृद्धि हुन भएको छ ।

नेपालमा टेलिभिजन

विश्वमा टेलिभिजनको प्रसारण प्रारम्भ भएको करिव ५० वर्षपछि नेपाल टेलिभिजनको स्थापना भयो । सन् १९३६ मा बीबीसीले पहिलो टेलिभिजन प्रसारण गरेको थियो भने नेपालमा नेपाल टेलिभिजनको स्थापना सन् १९८५ मा भयो । नेपालमा टेलिभिजन स्थापना गर्न आवश्यक छैन भन्ने बहसकै वीचमा त्यसबेला टेलिभिजनको स्थापना भएको थियो ।

नेपालमा निरंकुश पञ्चायती व्यवस्था हुनु, भारतीय टेलिभिजनको प्रभाव बढ्दै जानु र भिडियो पार्लरप्रति जनताको आकर्षण बढ्दै जानाले टेलिभिजन स्थापनाका लागि दबाव परिरहेको थियो । त्यति नै बेला विभिन्न सभा सम्मेलनमा सहभागिता जनाउने क्रममा तत्कालीन राजा वीरेन्द्रले अन्य देशका राष्ट्र प्रमुखका साथ आउने टेलिभिजन क्यामेराका वीचमा नेपालको प्रतिनिधि नहुँदा अप्ठेरो महशुस गरेकै कारण नेपाल टेलिभिजनको स्थापना हुन पुग्यो ।

२०३६ सालमा भएको जनमत संग्रहमा समेत पञ्चायती व्यवस्थाले झिनो मतले जितेका कारण पनि उक्त व्यवस्थालाई टिकाउन रेडियो नेपालको विकल्पका रुपमा राजाले टेलिभिजन स्थापनामा जोड दिएका थिए ।

त्यस्तो पृष्ठभुमिमा स्थापना भएको नेपाल टेलिभिजन र राणा शाही विरुद्धको मोर्चाबाट जन्मिएको रेडियो नेपालको काम सरकार, पञ्चायत र राजाको गुणगान गाउनमै व्यस्त रहन्थ्यो । यद्यपि नेपाली भाषाको एउटामात्र टेलिभिजन भएको र नेपालको समाचार त्यसबाट मात्र आउने भएकाले पनि नेपाल टेलिभजनको लोकपि्रयता बढ्दै गयो ।

२०४६ सालको परिर्वतनले सञ्चार क्षेत्रको संस्थागत विकासमा मद्धत पुग्यो भने प्रसारण क्षेत्रमा रहेको सरकारी नियन्त्रणलाई तोड्दै निजी क्षेत्र पनि प्रसारणमा प्रवेश गर्न सक्ने भयो । परिणामस्वरुप २०५८ साल असार १९ गतेबाट च्यानल नेपालले आफ्नो प्रसारण प्रारम्भ गर्‍यो । नेपाल टेलिभिजनले असार २० गतेदेखि स्याटेलाइटमार्फत प्रसारण गर्ने मिति सार्वजनिक गरेको अघिल्लो दिन च्यानल नेपालले बैंककबाट प्रसारण थालेको थियो । समय र परिस्थितिले च्यानल नेपाल बन्द भए पनि अहिले देशभर सयौंको संख्यामा टेलिभिजन स्थापना र प्रसारणमा रहेका छन् ।

टेलिभिजन चक्र र त्यसको प्रभाव

टेलिभिजन प्रसारणमा विभिन्न व्यक्ति र संस्थाको संलग्नता हुन्छ । उत्पादन, प्रसारण र वितरणमा संलग्न व्यक्ति वा संस्थाको अतिरिक्त विज्ञापनदाता, विज्ञापन एजेन्सी, उपकरण उत्पादन तथा सप्लाई गर्ने कम्पनिका साथै उपभोक्ताको प्रत्यक्ष संलग्नता र सहभागिताविना टेलिभिजन उद्योग सञ्चालन हुन सक्दैन । उपभोक्ताले निशुल्क पाउने भए पनि टेलिभिजनमा प्रसारण गर्ने सामग्रीको उत्पादनदेखि नै ध्यान दिनु जरुरी हुन्छ ।

कार्यक्रमको उत्पादनमा ठूलो लगानीको आवश्यकता पर्ने र लगानीलाई उठाउन विज्ञापनमा भर पर्नुपर्ने हुन्छ । विज्ञापनदाताले विज्ञापन एजेन्सीमार्फत टेलिभिजनमा आफ्ना उत्पादनका बारेमा जानकारी गराउने र त्यस्ता विज्ञापनवाट प्राप्त रकमले टेलिभिजन चल्ने भएकाले यो व्यवसाय चुनौतिपूर्ण छ । विज्ञापनदाता र एजेन्सीको सहयोगविना न त स्तरीय कार्यक्रम उत्पादन हुन सक्छ, न प्रसारण ।

अतः टेलिभिजन कार्यक्रम उत्पादनमा विज्ञापनदाताको महत्व बढी हुन्छ । टेलिभिजन व्यवसायमा विज्ञापनदाता, विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादन तथा निर्माण कम्पनी, टेलिभिजनलाई जनताको घरघरसम्म लाने केवल अपरेटर, इन्टरनेट सर्भिस प्रोभाइडर ISP को भूमिका महत्वपूर्ण रहेको हुन्छ ।

यी संस्था र निकायवीचको समन्वयविना टेलिभिजन उद्योग सञ्चालन हुन सम्भव हुँदैन । यी निकाय, संस्था वा व्यक्तिवीच कुनै असमझदारी उत्पन्न भए त्यसको निरुपण गर्ने निकायसमेत नेपालमा छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नै अहिले यी सबैको नियामक निकाय हो । नेपालमा टेलिभिजन स्थापनाको ३५ वर्ष, रेडियो स्थापनाको ७० वर्ष भए पनि यो उद्योग जुनरुपमा विकास हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।

नियामक निकायको अभाव

झण्डै दुई सयभन्दा बढी टेलिभिजन, करिव एक हजार रेडियो स्थापनाको अनुमति वितरण गरिसकेको सरकारले ती रेडियो तथा टेलिभिजन सञ्चालन हुन सक्छन्/सक्दैनन् भन्नेतर्फ कुनै ध्यान दिएको पाइँदैन । करिव २ अर्बको टेलिभिजन विज्ञापन बजारले दुई सय टेलिभिजन र भण्डै १ अर्ब ५० करोडको विज्ञापनले एक हजार रेडियो सञ्चालन हुन सक्छन् भन्ने अवस्था छैन ।

अझ स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरको टेलिभिजन कुन हो भन्ने वर्गीकरणसमेत हुन सकेको छैन । जसका कारण सबैले आफूलाई राष्ट्रिय स्तरको टेलिभिजन भन्ने चलन छ ।

एउटा टेलिभिजन स्थापना गर्नभन्दा सञ्चालन गर्न कठिन हुन्छ । चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने भएकोले न्युनतममा पनि ६०/७० जनाभन्दा कम जनशक्तिबाट टेलिभिजन सञ्चालन गर्न सकिँदैन । मासिक खर्च ५० लाखमै सीमित गर्ने हो भने पनि एउटा टेलिभिजन सञ्चालन गर्न वाषिर्क ६ करोडको आवश्यकता पर्छ । त्यस्तो स्रोत नै नहेरी टेलिभिजनको जथावाभी स्वीकृति प्रदान गरिदिनाले सञ्चार क्षेत्रमा यसले थप विकृति ल्याउने निश्चित छ ।

साथै, देशभर प्रसारणका लागि अनुमति लिएका करिव एक हजार रेडियो, झण्डै एक हजारजति केवल अपरेटर, अनगिन्तीरुपमा खुलेका अनलाइन न्युज पोर्टललाई नियमन गर्ने नियामक निकाय गठन नहुँदा मन्त्रालय नै नियामक निकाय भएको अवस्था छ । मन्त्रालयले प्रभावकारी अनुगमन गर्न नसक्दा रेडियो टेलिभिजनका साथै इन्टरनेटमा आधारित सञ्चार माध्यमहरु खासगरी अनलाइन, यु ट्युव, फेसबुक तथा गुगललाई नियमन गर्ने निकायको स्थापना अहिलेको आवश्यकता हो । त्यसतर्फ सोच्न नसक्दा नेपालमा प्रसारणको क्षेत्रमा अनेकौ विकृति देखा परेको पाइन्छ ।

टेलिभिजनको प्रभावकारिता

विश्व टेलिभिजन दिवसको सन्दर्भमा सञ्चारको प्रभावकारी माध्यम हुनु, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताका साथै विश्व वन्धुत्व कायम गर्न टेलिभिजनको महत्व अझ वढी छ । विश्वका विभिन्न देशमा घटेका घटनाको सूचना पाउन मात्र होइन, विश्वव्यापी फैलिने कोभिड जस्तो महामारी नियन्त्रणमा एक अर्को देशको अनुभव जान्न पनि टेलिभिजन प्रभावकारी माध्यम हुन सक्छ ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन भन्ने मूल मन्त्रलाई सार्थकता दिने एउटा प्रभावकारी साधन पनि टेलिभिजननै हो । जसमा सूचना, शिक्षाको अतिरिक्त मनोरन्जनको प्रशस्त सम्भावना हुन्छ । सञ्चारका उपलव्ध साधनमध्ये मनोरञ्जनका दृष्टिकोणले टेलिभिजन जति प्रभावकारी साधन अरु छैन ।

टेलिभिजन सूचनाको स्रोतका अतिरिक्त भिन्न दृष्टिकोण, विचार र सिद्धान्तका बारेमा एकै थलोमा बसेर बहस गर्न सकिने माध्यम पनि हो । त्यस्ता बहस र छलफलबाट आम दर्शकले त्यस्ता विचार, दृष्टिकोण र सिद्धान्तलाई आत्मसात गर्न र प्रभावित गर्न सक्छन् । त्यसकारण टेलिभिजन विश्वविद्यालय पछिको अर्को विश्वविद्यालय पनि हो । जसबाट आम मानिसले ज्ञान प्राप्त गर्न, शिक्षा लिन र दृष्टिकोण बनाउन सक्छन् ।

विश्व टेलिभिजनको उपलक्ष्यमा टेलिभिजन कर्ममा संलग्न आम टेलिभिजनकर्मी, दर्शकका साथै विज्ञापनदाता, विज्ञापन एजेन्सी, टेलिभिजन वितरक सबैमा शुभकामना ।

(लेखक सञ्चारविज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment