
१० मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चयनका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोर प्रधान र चन्द्र ढकाल आ–आफ्ना प्यानलसहित चुनावमा होमिएका छन् ।
सर्वसम्मत नेतृत्व चयनको विषय उठे पनि सहमतिको सम्भावना टरिसकेको छ । वरिष्ठ उपाध्यक्षका प्रतिद्वन्द्वी ढकाल मत परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन् । निर्वाचनपछि महासंघ एक ढिक्का बनाएर अगाडि बढ्ने उनी बताउँछन् ।
वरिष्ठ उपाध्यक्षका दाबेदार ढकालले एसोसिएट संघबाट महासंघको राजनीति सुरु गरेका हुन् । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छ । उनले पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् ।
इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत रहेका ढकाल मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनी यसअघि एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
प्रस्तुत छ, चुनावी सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकालसँग अनलाइनखबरले गरेको कुराकानी :
सहमतिमै वरिष्ठ उपाध्यक्ष छान्ने भन्ने विषय निकै उठ्यो । यहाँले पनि सहमतिको पक्षमा छु भन्नुभयो । तर, त्योसँगै चुनाव प्रचारमा हिँड्नुभयो नि, किन ?
म जहिल्यै सहमतिको पक्षमा छु । कोरोनाले मुलुक संकटमा परेको, आम व्यवसायी साथीहरुले आफ्नो व्यापार–व्यवसाय जोगाउनै नसकिरहेका बेला हामी सबै मिलेर अर्थतन्त्रलाई लयमा फर्काउनुपर्छ भन्नेमा मेरो विश्वास छ ।
योबेला निजी क्षेत्र फुटेर नभई जुटेर अगाडि बढ्नुपर्छ । त्यो भन्दैमा प्रतिस्पर्धा गरिसकेपछि सहमतिको मात्र पछाडि लागेर हुँदैन । मलाई ताप्लेजुङदेखि दार्चुलासम्मका उद्योगी–व्यवसायी साथीहरुले समर्थन गरेर महासंघमा वरिष्ठ उपाध्यक्ष बनाउन खोज्नुभएको छ भने मैले सहमतिको पछाडि दौडेर मैदान खाली गर्ने कुरा भएन ।
फेरि आफैं उम्मेदवार भएकाले सहमतिका लागि जोड लगाइरहँदा गलत सन्देश जान सक्नेमा सचेत हुनैपर्यो । खासमा म सहमति र निर्वाचन दुवैका लागि तयार छु ।
सहमतिको सुरुवात कसले गर्ने ? तपाईंले पहलकदमी लिँदा हुँदैन र ?
सहमतिको वातावरण बनाउने काम निर्वाचनमा सहभागी नहुने, स्वतन्त्र र सर्वमान्य व्यक्तिहरुले गर्ने हो । त्यस्ता व्यक्तित्व भनेका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष वा भावी अध्यक्षज्यूहरु हो । उहाँहरुबाट त्यो प्रयास भएको मैले पाएको छैन । स्वतन्त्र बस्नुपर्ने व्यक्तिहरु नै कुनै समूहमा भोट माग्दै आफैं उम्मेदवार जस्तो गरेर हिँडिरहनुभएको छ । सबैलाई थाहै छ– यसरी सहमतिको वातावरण बन्दैन ।
मेरो कुरा गर्नुहुन्छ भने विगतमा सर्वसम्मत उपाध्यक्ष भएको थिएँ । त्यसअघिका दुई निर्वाचनमा पनि कार्यकारिणी समितिमा पहिले सर्वसम्मत र त्यसपछि सबभन्दा बढी मतबाट निर्वाचित भएँ । अहिले पनि मेरो नाममा सहमति गर्न आम व्यवसायी साथीहरुलाई कुनै असहजता छ जस्तो लाग्दैन । यस्तो अवस्थामा मैले सहमति नै खोजिरहने, निर्वाचनबाट भाग्ने कुरा आएन । मेरो स्वभाव नै त्यस्तो होइन ।
मैले आफ्नै नाममा सहमति जुटाऔं भन्दै पहलकदमी लिनु नैतिक दृष्टिकोणले उचित हुँदैन । महासंघ जस्तो ठूलो संस्थामा सधैँ सहमति खोजेर सम्भव पनि हुँदैन । फेरि, म कमजोर उम्मेदवार होइन । अहिले सहमतिका नाउँमा सम्झौता गरेर भोलि हातखुट्टा बाँधिएको अनुभूति गर्न पनि चाहन्नँ । म सबैखाले परिस्थितिको सामना गर्न तयार छु र मलाई साथ दिन टिम पनि तयार रहेको अवस्थामा सहमतिका नाममा चुनावी अभियान नै अगाडि नबढाई पर्खेर बस्न सकिएन ।
तर, तपाईंले त्याग गर्न नसक्दा सहमति नभएको भन्नेहरु पनि छन् नि ?
यो त विल्कुल कुतर्क भयो । मैले त्याग गर्नुपर्ने एउटामात्र व्यवहारिक कारण दिनुस् न । मलाई देशभरका व्यवसायी साथीभाइले अभुतपूर्व ढंगले एकतावद्ध भएर अगाडि बढाइरहनुभएको छ । वस्तुगत र एशोसिएट समूहका साथीभाइको यति धेरै माया पाउँदा कसैको व्यक्तिगत इगो वा प्रतिष्ठाका लागि हजारौं भावनामा चोट पुर्याउन म सक्दिनँ ।
सहमतिको प्रयास गर्नुपर्ने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र निवर्तमान अध्यक्षको भूमिका हेर्नुस् त । उहाँहरुका अभिव्यक्तिमा सहमतिको रत्तिभर भावना देखियो ? उहाँहरु मेरा प्रतिस्पर्धीको काँधमा बन्दुक राखेर सिंगो निजी क्षेत्रको एकता भाँड्न उद्यत हुनुहुन्छ । भोलिका दिनमा मिल्नै नसक्ने परिस्थिति सिर्जना गरिरहनुभएको छ, उहाँहरु । हामी भने संयमित छौं । १३ गतेको निर्वाचनको मत परिणामबाटै जवाफ दिन आतुर छौं । उहाँहरुसँग विवाद हैन, भोलिका दिनमा पनि सहमति गरेरै अगाडि बढ्न प्रतिवद्ध छौं ।
तपाईंले सर्वसम्मतिको सामान्य शर्त पनि मान्नुभएन भन्ने कुरा आएको छ नि ?
उहाँहरुले व्यक्तिकेन्द्रित व्यवहार देखाउनुभयो । अहिले आएर हाम्रो समूहको जित सुनिश्चित भइसकेपछि फुटाउने खेलमा लाग्नुभएको जस्तो भान भयो हामीलाई । निजी क्षेत्रलाई गहिरोसँग बुझेको र समाधानको ल्याकत राख्ने हाम्रो समूहलाई कसरी हुन्छ, छिन्नभिन्न पार्न खोज्ने रणनीति हामीले नबुझेको होइन ।
हाम्रो समूहबाट उम्मेदवारी दिनुभएका सबै काबिल हुनुहुन्छ भन्ने उहाँहरुलाई राम्ररी थाहा छ । त्यसैले यस्तो छिन्नभिन्न पार्ने अस्त्र फाल्नुभयो । हामीले यसलाई सहमतिका लागि इमान्दार प्रयास मान्न सकेनौं ।
त्यही कारणले अब चुनावी भिडन्ततिर लाग्नुभएको ?
यसलाई भिडन्त होइन, स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा भन्नु उचित होला । हामी मंसिर १३ गते कुरिरहेका छौं । यसवर्ष इतिहास रच्ने अवस्थामा हामी छौं । त्यसपछि यो वा त्यो समूह नभनी अगाडि बढ्छौं । कोभिड संकटले चहर्याइरहेको निजी क्षेत्रको घाउमा सरकारसँग मिलेर मल्हम लगाउँछौं ।
तिहारअघिसम्म भोट माग्न देश दौडाहमा हुनुहुन्थ्यो । जिल्ला र नगरको मनोविज्ञान कस्तो पाउनुभयो ?
दसैंअघि म आफैं संक्रमित भएर धेरै साथीसँग प्रत्यक्ष भेटघाट गर्न पाइनँ । संक्रमण मुक्त भएर दसैं–तिहारबीचमा साथीहरुसँग भेटघाट गर्न पूर्वमा भेडेटार र पश्चिममा धनगढी पुगेँ । वीचका नेपालगञ्ज र पोखरामा पनि भेला भएर छलफल गर्यौं ।
उद्योग–वाणिज्य समूहका साथीहरुसँग धेरै वर्षदेखि निरन्तर सम्पर्कमै थिएँ । अहिले कोभिड कालमा पनि भेटघाट–छलफल भए । जिल्ला नगरका साथीहरु हिजो पनि मसँगै हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि हामी सँगै हुनेछौं ।
उहाँहरुसँगको पछिल्लो भेटघाट–अन्तक्र्रियाबाट म अत्यन्त उत्साहित भएको छु । यो समूहबाट हामीले करिब ८० प्रतिशत मत पाउने आँकलन छ ।
वस्तुगतमा तपाईंको अवस्था राम्रो छैन भनिन्छ नि ?
मैले महासंघमा विगतदेखि नै एशोसिएटबाट प्रतिनिधित्व गरेकाले यसो भनेका होलान् । अनलाइनखबरमार्फत के स्पष्ट पार्न चाहन्छु भने मेरो आधार एशोसिएट हो र म उद्योग वाणिज्य (जिल्ला नगर) र वस्तुगतमा पनि उत्तिकै परिचित छु । ती क्षेत्रका समस्या र सम्भावनाबारे पूर्ण जानकार छु ।
नेपालजस्तो सानो देशमा निजी क्षेत्रको संख्यात्मक उपस्थिति पनि विराट छैन । एशोसिएटकै धेरै साथीहरु वस्तुगतमा पनि हुनुहुन्छ । मेरा लागि कुनै पनि नौलो क्षेत्र होइन । विगतमा एउटा वस्तुगत संघको त नेतृत्वमै थिएँ । अहिले पनि यसमा हाम्रो सशक्त टिम रहेकाले कुनै समस्या छैन ।
निजी क्षेत्र एक हुनुपर्ने ठाउँमा प्यानलसहित प्रतिस्पर्धामा उत्रिनुभएको छ । प्रचार–प्रसारमा आरोप–प्रत्यारोप भएका छन् । यसले निजी क्षेत्रका लागि राम्रो सन्देश त नदेला नि ?
मैले त आरोप–प्रत्यारोपको राजनीति गरेकै छैन । मेरो स्वभाव पनि त्यो होइन । हामीले भावी अध्यक्ष शेखर गोल्छाकै नेतृत्वमा निजी क्षेत्रका लागि धेरै काम गर्नुपर्छ भनेर जुनसुकै मञ्च वा अन्तर्वार्तामा भन्दै आएको छु ।
हामीले महासंघबाट लिने होइन, सरकारलाई ‘कन्भिन्स’ गरेर निजी क्षेत्रका पक्षमा काम गर्ने हो । निर्वाचनलाई प्रजातान्त्रिक अभ्यासका रुपमा लिदै परिणामलाई सहज–सहर्ष स्वीकारेर अगाडि बढ्ने हो भने भोलिका दिनमा केही समस्या पर्दैन ।
चुनावका क्रममा कसैले बोलेका कुराले निजी क्षेत्रको छविमा केही समस्या देखिए पनि भोलि सबै मिलेर धमिलोपनलाई स्वच्छ बनाउँछौं ।
प्यानलसहित नै चुनावमा जानुपर्नाको खास कारणचाहिँ के–के हो ?
निर्वाचन प्राविधिक विषय पनि हो । त्यसमाथि महासंघमा गएर व्यक्तिगत भन्दा सामूहिक भावनामा काम गर्नुपर्छ भने काबिल साथीहरुको टिम बन्नुपर्छ भन्नु आफैंमा गलत होइन ।
महासंघलाई व्यक्तिमुखी भन्दा सामूहिक निर्णयका आधारमा अगाडि बढाउनु छ । यसका लागि भौगोलिक तथा व्यावसायिक क्षेत्रको समानुपातिक प्रतिनिधित्व आवश्यक रहेकाले टिम आवश्यक देखिन्छ ।
तपाईंले चुनाव जितेको अवस्थामा पनि कार्यसमितिमा दुई गुट हुने देखियो । शेखर गोल्छा र तपाईले फरक गुटको नेतृत्व गर्ने देखियो नि, होइन ?
मैले अघि भनिसकेँ कि हाम्रो अध्यक्ष शेखर गोल्छाजी नै हो । उहाँकै नेतृत्वमा हामीले महासंघलाई अगाडि बढाउने हो । वरिष्ठ उपाध्यक्ष, अन्य उपाध्यक्ष र कार्यकारिणी समितिमा उम्मेदवारी दिने सबैले उहाँको नेतृत्व स्वीकार गरेरै निर्वाचनमा भाग लिएका हौं । उहाँले सबैलाई समेटेर अगाडि बढ्न सक्नुपर्छ । हामीले पनि उहाँलाई सहयोग गर्नुपर्छ ।
महासंघलाई कसरी बनाउनुहुन्छ त एक ढिक्का ?
महासंघमा जाने भनेको कुनै लाभको पदमा निर्वाचित हुने होइन । स्वयम्सेवी पदमा लाभ भनेको आम व्यवसायी साथीहरुको माया ममता मात्र हो । यो भावनाले अगाडि बढ्दा एकढिक्का हुन समस्या हुँदैन । महासंघमा जित्नेले हार्नेको भावना समेट्ने र हार्नेले जित्नेको अस्तित्व स्वीकार्ने हो भने एकढिक्का हुन कुनै समस्या छैन ।
पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष र भावी अध्यक्ष एउटा प्यानलको पक्षमा खुलेर लागेको अवस्थामा ८० प्रतिशत नतिजा आफ्नो पक्षमा आउँछ भन्दैहुनुन्छ, यो कसरी सम्भव होला ?
बजारमा जे कुरा चले पनि म पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरेको कुरा म मान्न तयार छैन । म पनि उहाँहरूसँग नियमित सम्पर्कमै छु । सबै पूर्वअध्यक्षज्यूहरुको मप्रति सहयोग, शुभेच्छा छ ।
अर्को कुरा, देशभरका उद्योगी–व्यवसायीहरुबाट मलाई उल्लासपूर्ण साथ, समर्थन र सद्भाव प्राप्त छ । मेरो प्यानलका दुई साथी त निर्विरोध निर्वाचित भइसक्नुभएको छ । मेरो उमेद्वारीमा साना–ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ । सधंै व्यवसायिका हक, हित र अधिकारका पक्षमा लागेको हुनाले मलाई सबैले नेतृत्वमा आउन आग्रह गर्नुभएको हो । यस अर्थमा म वहाँहरु सबैको साझा उमेद्वार हुँ । यो त चुनाव जित्ने प्रमुख आधार हो नि ।
तपाईं महासंघको वर्तमान उपाध्यक्ष हो । हालसम्म के कस्ता कामहरु गर्नुभयो ?
महासंघमा रहेर मैले मेरो पद र कार्यक्षेत्र अनुसारको भूमिका पूरा गरेको छु । रोजगारदाता परिषदको सभापतिको हैसियतले पनि काम गरिरहेको छु । अहिले मजदुर र रोजगारदाताको सम्बन्धमा धेरै सुधार भएको छ । श्रम ऐन आयो, सामाजिक सुरक्षा कोष कार्यान्वयन भयो । धेरै विवाद नभई श्रमिकको न्यूनतम ज्याला निर्धारण भयो ।
प्रादेशिक संरचनाअनुसार महासंघका सातवटै प्रदेश कार्यालयमा पूर्वाधार विकास गरेको र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर धेरै कार्यक्रम गरेको छु ।
जिल्ला–नगर उद्योग वाणिज्य संघका साथीहरूको सीप विकास, अवलोकन भ्रमण लगायत धेरै क्षेत्रमा काम गरेको छु । लकडाउन अवधिको ५० प्रतिशत तलब दिने सहमति गराएँ । महासंघका प्रादेशिक कार्यालयहरुको पूर्वाधार विकास लगायतका क्षेत्रमा मैले गरेका कामहरु मूल्याङ्कन मेरा अग्रज र सहकर्मीहरुले गर्नुभएको छ ।
विगतको महासंघको साख कायम गर्न र छवि सुधार्न कस्तो योजना बनाउनुभएको छ ?
महासंघ जस्तो गैरराजनीतिक संस्थामा हुने राजनीतिले कसैलाई भलो गर्दैन । हामी विशुद्ध व्यवसायी हौँ । हामीले त्यस्तो व्यावसायिक हित सोच्नुपर्छ, जसले मुलुकको आर्थिक उन्नति, दिगो विकास र समृद्धिमा टेवा पुगोस् ।
महासंघको जुन उचाई थियो, त्यसमा कमी भएकै हो । यसमा हामी सबै जिम्मेवार छौं । विभिन्न कारणले महासंघलाई हेर्ने दृष्टिकोण फरक परिरहेको छ । म आइसकेपछि महासंघलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउनेछु । हाम्रो समावेशी समूहमा उद्योग–व्यवसायको मर्म बुझेका व्यक्तिहरू हुनुहुन्छ । हामी सबै महासंघलाई उद्योगी–व्यवसायीमात्रै नभएर पेशागत लगानीकर्ताहरूको पनि साझा संस्था बनाउन प्रतिबद्ध छौं ।
मतदातालाई आकर्षित गर्ने तपाईंका चुनावी एजेण्डा के–के हुन् ?
म वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएँ भने अध्यक्ष बन्ने भनेको अर्को कार्यकालमा मात्र हो । यद्यपि, यो कार्यकालमा पनि म कार्यकारी भूमिका छैन भनेर बस्नेवाला छैन ।
महासंघमा गएर काम गर्न एफएनसीसीआई भिजन– २०२५ सार्वजनिक गरिसकेको छु । त्यसमा कोभिडपछिको अर्थतन्त्र पुनरुत्थान र महासंघको संस्थागत सुदृढीकरणदेखि जिल्ला नगर आर्थिक सबलीकरण र वस्तुगत संघमार्फत सीप विकाससम्मका एजेण्डाहरु छन् । थिंक ट्यांकमार्फत नीति निर्माण तहमा निजी क्षेत्रको सबल उपस्थितिका लागि धेरै गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु ।
प्रतिक्रिया 4