Comments Add Comment

क्लिनफिडले घटायो टेलिभिजनका दर्शक

हराए बीबीसी, सीएनन र स्पोर्टस् च्यानल

११ मंसिर, काठमाडौं । चितवन राप्ती नगरपालिका घर भएका ५७ वर्षीय देवप्रकाश ठकुरी आजभोलि टेलिभिजन खोल्दैनन् ।

उनी धार्मिक प्रवचन दिने भारतीय च्यानल ‘संस्कार’ र ‘आस्था’ हेर्थे । विज्ञापनरहित प्रसारण (क्लिन फिड) लागू भएसँगै उनले हेर्ने दुवै च्यानल हराए । ‘आजकाल विहान ६ बजे र बेलुका ८ बजेको समाचार रेडियोमा सुन्छु,’ ठकुरी भन्छन्, ‘यसो भजन कीतर्न हेर्न, सुन्न नपाएपछि टेलिभिजन किन चाहियो ?’

ठकुरीले जस्तै धेरै दर्शकले टेलिभिजन खोल्दा आफूले हेर्न चाहेको च्यानल भेटाउँदैनन् । किनकी कात्तिक ८ गतेदेखि क्लिन फिड लागू भको छ । र क्लिन फिडमा नभएका धेरैजसो विदेशी च्यानलको नेपालमा प्रशासन रोकिएको छ ।

सेवा प्रदायकहरुकाअनुसार नेपालमा उपलब्ध धेरै च्यानलहरु सेवा प्रदायकले सित्तैमा लिन पाउने ‘फ्रि टु एयर’ थिए । धार्मिक, गीतसंगीत, चलचित्र र भाषाभाषीका च्यानलहरु विज्ञापनकै भरमा चलेका हुन्छन्, त्यसैले ‘फ्रि टु एयर’मा पाइन्छ । त्यस्ता स्वतन्त्र अस्तित्वका च्यानलहरुले क्निल फिड गर्न नसक्ने बतााएका छन् । त्यही कारण आस्था, संस्कार, दबंग, बीफोरयू, सिनेवर्ल्डजस्ता धार्मिक तथा मनोरञ्जनात्मक च्यानलहरुको प्रशारण नेपालमा रोकिएको छ ।

यस्तै बीबीसी र सीएनएनलगायतका न्यूज च्यानलहरु पनि नेपाली दर्शकले हेर्न पाएका छैनन् । नेपालमा क्लिन फिड गरेर बजाउन नसकिने उनीहरुले बताएका छन् । विदेशी न्यूज च्यानलमा जी न्यूज र अलजजिरा मात्र उपलब्ध छ ।

खेलकुदसम्बन्धी धेरै च्यानलहरु पनि अहिले नेपाली दर्शकको पहुँचबाट टाढा भएका छन् ।

आफू खोजेको च्यानलहरु उपलब्ध नभएपछि दर्शक पनि टेलिभिजनसँग भड्किएका छन् । इन्टरनेट र एपतिर जान थालेको छ । आईपी (इन्टरनेटबाट हेर्ने) टिभी जोडेकाहरुले त टेलिभिजनमा च्यानलभन्दा बढी युट्युब हेर्न थालेका छन् ।

२५ प्रतिशत घट्यो रिचार्ज

नेपाल केबल टेलिभिजन महासंघकाअनुसार क्लिन फिड लागू भएपछि टेलिभिजन सेवाको नवीकरण गर्ने क्रम घटेको छ । अघिल्ला वर्षहरुमा दसैं र तिहारको बीचमा रिचार्ज १० प्रतिशत हाराहारीमा मात्र घट्थ्यो । यो वर्ष दसैंकै बेला क्लिन फिड लागू भयो र सबैजसो टेलिभिजन सेवा प्रदायकको रिचार्जमा २५ प्रतिशतभन्दा बढी घटेको महासंघका अध्यक्ष सुधीर पुराजुली बताउँछन् ।

यसको अर्थ करिब एक चौथाइ ग्राहकले काटिएको टेलिभिजन ‘एक्टिभ’ गराएका छैनन् । ‘क्लिन फिड लागू भएपछि धेरै च्यानल भेटिन छाडे । धेरैलाई आफूले हेर्न चाहेको च्यान नपाएपछि किन रिचार्ज गर्नु भन्ने परेको हुनसक्छ,’ पुराजुली भन्छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुब शर्माले पनि आफू अन्तर्गतका सेवा प्रदायकहरुको रिचार्ज गर्ने क्रम ३० प्रतिशतसम्म घटेको बताउँछन् । यसले कम्पनीहरुलाई समस्या पर्ने देखिएको उनको भनाइ छ ।

यसले क्लिन फिड नेपालको लागि घातक त बन्ने होइन भन्ने चिन्ता बढाएको केबल टेलिभिजन महासंघका अध्यक्ष पुराजुली बताउँछन् । ‘पैसा भएका र प्रविधि बुझ्नेहरु त इन्टरनेटसहित ओटीटी प्लेटफर्ममा जालान् । अरुले पनि चाहेको च्यानल हेर्न नपाउने बिडम्बनापूर्ण अवस्था रहनुहुँदैन’ उनले भने ।

शुल्क बढाउन गृहकार्य

एकातिर खोजेको जस्तो च्यानल हेर्न नपाएपछि दर्शक भड्किएका छन्, त्यही बेला माग सेवा प्रदायकहरुले भने मासिक शुल्क पनि बढाउने तयारी गरेका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढेकाले टेलिभिजन हेरेबापतको तिर्नुपर्ने शुल्क बढ्नसक्ने उनीहरुको तर्क छ ।

क्लिन फिड गर्न चाहिने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले उपभोक्ताले थप रकम तिर्नुपर्ने उनीहरु बताउँछन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष शर्मा पनि क्लिन फिड गरिएका च्यानल किनेबापत नेपालका टेलिभिजन च्यानल वितरकले प्रसारकलाई तिर्ने पैसा बढ्ने भएकाले त्यसको भार उपभोक्तामाथि पर्ने बताउँछन् ।

यसको विकल्पका रुपमा टेलिभिजनको आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई आवश्यकता अनुसार प्याकेज राखेर शुल्क थप्ने प्रस्ताव टेलिभिजन सेवा प्रदायकहरुको छ । उनीहरुले न्यूनतम शूल्क २५० रुपैयाँ राखेर त्यसमा ग्राहकले रोजेको च्यानलअनुसार शूल्क थप्दै लैजाने उनीहरुको प्रस्ताव छ । तर सरकारले यो विकल्पम जान अनुमति दिइसकेको छैन ।

अरु पनि छन् मुद्दा ?

केही नेपाली टेलिभिजन प्रसारकहरुले विदेशी ओटीटी (इन्टरनेटबाट हेर्न सकिने) हरुलाई पनि नियमन गर्नुपर्ने माग गरिरहरेका छन् ।

आईपी टिभीमार्फत नेपालमा प्रसारण अनुमति नलिएका युट्युब, हटस्टार, हंगामा, गाना जस्ता ओटीटी प्लेटफर्ममा विज्ञापन बजिरहेकाले सरकारले नियमन गर्नुपर्ने उनीहरुको माग छ । ‘आईपी टिभी सेवा दिनेले इन्टरनेट लिने ग्राहकलाई सित्तैमा टिभी दिने व्यवस्था गरेका छन्,’ केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष शर्मा भन्छन्, ‘एन्ड्रोइड सेटटप बक्स लगाएर विदेशी ओटीटी चलाउन र प्रशारण रोकिएका च्यानल र सामग्री बज्न दिनु त भएन नि ।’

अर्को मुद्दा हो, डब विज्ञापन ।

क्लिन फिडको वकालत गर्दा नेपालमा खपत हुने विदेशी उत्पादनका विज्ञापनहरु नेपालमा बन्ने र त्यसबाट विज्ञापन एजेन्सी तथा नेपाली कलाकारहरुले समेत लाभ पाउने तर्क गरिएको थियो । तर क्लिन फिड लागू भएपनि स्वदेशी च्यानलमा विदेशमा बनेका विज्ञापन प्रसारण हुन रोकिएको छैन ।

नेपाली टेलिभिजनले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन नपाउने नियम ऐनमा स्पष्ट छैन । नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइरहँदा क्लिन फिड लागू हुनुको औचित्य पुष्टि हुन सकेको छैन ।

यो पनि एउटा चुनौती भएको नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) बताउँछन् । यस्ता पक्षको व्यवस्थापनका लागि विज्ञापन नियमन गर्ने ऐनमा विज्ञापन बोर्ड बनाउने उल्लेख छ । तर अहिलेसम्म बोर्ड बनेको छैन ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईं विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौती धेरै भएको बताउँछन् । विज्ञापन बोर्डसामू विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कर्ममा लागेका व्यक्तिहरु, उद्योगपति, व्यापारी, उपभोक्ता सबै पक्षको समन्वय गरेर सरकार अघि बढ्नुपर्ने उनको मत छ ।

सरकारले बनायो कार्यदल

क्लिनफिड लागू गर्दा देखिएको समस्या समाधानका लागि सरकारले पनि चासो देखाएको छ ।

टेलिभिजन सेवा प्रदायक र विदेशी च्यानल वितरकको समस्या सुनेर समाधानका उपाय खोज्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एउटा कार्यदल बनाएको छ ।

मन्त्रालयका सहसचिव गोकर्णमणि दवाडी संयोजक रहेको कार्यदलमा सरोकारवालाहरु संलग्न छन् । कार्यदलले क्लिन फिड लागू भएपछिका असर, प्रभाव र समस्या पहिचान गरेर २ महिनाभित्र समाधान सिफरिस गर्ने जिम्मेवारी पाएको छ ।

यही बेला भारतका टेलिभिजन वितरक (प्याकेज सञ्चालक) कम्पनीहरुले बन्द भएका टेलिभिजन सेवा खुलाउन थालेका छन् । सोनी, जी, कलर्स, एचबीओ, डिस्करभरी जस्ता प्याकेजका च्यानल क्लिन फिडसहित प्रसारणमा छन् ।

‘सोनी’ले प्रविधि प्रयोग गरेर नेपालमै क्लिन फिड गरेको छ भने ‘जी’ले भारतबाटै क्लिन फिड गरेर स्याटेलाइटमा अपलिंक गरेको छ । त्यसैगरी कलर्सले आफ्ना च्यानलहरु भारतकै क्लिनफिड गरेर आईपी प्रविधिमा राखेको छ ।

३२ वटा च्यानल प्रसारण गर्ने ‘स्टार’ले नेपालमै क्लिनफिड गर्न ल्याएको उपकरण भन्सारमा अड्किएको छ । स्टारको प्याकेजमा पनि क्लिनफिड भएपछि नेपालमा विदेशबाट प्रसारण गरिनेमध्ये करिब ९० प्रतिशत च्यानलको क्लिन फिड सकिने नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पुराजुलीले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment