+
+
Shares

प्रधानले ढकाललाई भने-सेकेन्ड लाइनमा बस्नुस्, ढकालको जवाफ-अरुको एजेन्डा नबोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १६:२६

१२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै उनले प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरे ।

‘तपाईंलाई असल र सरल व्यक्तिको रुपमा मैले पाएको छु, भाइले दाजुको लिडरसीपलाई सफल बनाएर आफू सेकेन्ड लाइनमा बस्नु पर्‍यो’ प्रधानले भने, ‘यसअघि पनि मैले आग्रह गरेको छु, अझै पनि थोरै समय बाँकी छ, मलाइ छाडिदिनुस् ।’

ढकाल आफ्नो पि्रय भाइ भएको भन्दै उनले यसपटक आफूलाई छाडे अर्को पटक सघाउने स्पष्ट संकेत गरे । सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजना अनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन उनले आग्रह गरे ।

आफू २८ वर्षदेखिको अनुभव बोकेको व्यक्ति भएको र आफ्नो टिमका सबै योग्य रहेको भन्दै उनले आफ्नो प्यानललाई जिताए महासंघ सबल हुने बताए ।

अरुको एजेन्डा नबोक्नुस्-ढकाल
ढकालले पनि प्रधानलाई मन्तब्यमा जवाफ फर्काए । उनले प्रधानलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिए । महासंघको नेतृत्व गर्छु भन्नेले आफ्नै एजेण्डा बनाउन सक्नुपर्ने भन्दै अर्काको एजेण्डाको सहयोगी मात्रै बन्छु भनेर कसैले नपत्याउने ढकालले बताए ।

महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भने, ‘अर्काको एजेन्डामा हिँड्नु भएन, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ । अर्को मान्छेको एजेन्डा फलो गर्नु र सहयोगी मात्रै बन्छु भन्नु राम्रो होइन ।’

उनले किशोर प्रधान सिनियर भएपनि नेतृत्व छाड्न नसकिने बताए । आफ्नो प्यानलबाट दिएका हरेक उम्मेद्वारहरु हरेक हिसाबले योग्य रहेको भन्दै ढकालले आगामी नेतृत्वका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरे ।

उनले आफू भन्दा ३ वर्ष अगाडिको मान्छे शेखर गोल्छा अब अध्यक्ष हुन लागेको भन्दै सिनियर भन्दैमा कसैले नछाड्ने बताए ।

‘सिनियरको कुरा गर्नेहरुलाई मेरो आग्रह छ, म भन्दा ३ वर्ष अघिको शेखर जी अध्यक्ष हुनुहुँदैछ’ ढकालले भने, ‘अब निवर्तमान अध्यक्ष हुन लाग्नु भएकी भवानी म्याडम पनि कति वर्षको हुनुभयो तपाईहरु आफैं हेर्नुस् ।’

आफू धेरै हण्डर खाएर यहाँ आएको भन्दै उनले आफ्नो संघर्षले महासंघलाई बलियो हुन मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?