Comments Add Comment

रोजगारीका लागि भिजिट भिसाको ‘जुवा’

१२ मंसिर, काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् ।

कोरोना महामारी सुरु भएपछि नेपाल फर्किएका उनीहरु ७ महिनासम्म म्यानपावर धाए । तर क्षतिपूर्ति नपाएपछि अहिले वैदेशिक रोजगार विभाग पुगेका छन् ।

श्रम स्वीकृति नलिई गएकै कारण दुःख पाउनेहरुको संख्या बढिरहेको छ, तै पनि भिजिट भिसामा यूएई, बहराइन लगायत श्रम गन्तव्य देश जानेको संख्या कम छैन ।

वैदेशिक रोजगार व्यवसायी संघले पनि भिजिट भिसामा घुम्न होइन, काम गर्न श्रमिक लगिएको बताएको छ । यसमा मानव तस्कर गिरोहहरु लागेको उसको अनुमान छ ।

कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् । तर भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसेले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।

तर, पछिल्ला समय प्रलोभनमा पारेर युवालाई विदेश पुर्‍याउने क्रम बढ्न थालेको छ । कोरोना माहामारीका कारण बन्द भएको अन्यतराष्ट्रिय उडान पुनः सुचारु भएसँगै भिजिट भिसामा जानेको संख्यामा बढेको छ । खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् । खाडी मुलुकहरुको ३ महिने भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमा रोजगारीको ग्यारेन्टी गरिएको छ ।

६ हजार नेपाली यूएई पुगेको अनुमान

अहिलेसम्म यूएईबाट नेपाली कामदारको माग आएको छैन । नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पनि सुरु गरेको छैन । तर, यहाँबाट यूएईलगायत देशमा रोजगारीका लागि नेपाली युवा उडाइँदैछ । भदौयता भिजिट भिसामा यूएईमा मात्र ६ हजार नेपाली पुगेको वैदेशिक रोजगार व्यवसायी संघको आँकलन छ ।

यूएई, बहराइनलगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गरेको छ ।

संघका महासचिव सुजित श्रेष्ठ यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९–३० वर्ष उमेर समूहका रहेको बताउँछन् । ‘भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका उनीहरुमध्ये केहीले संघमा उजुरी दिएका छन्,’ उनले भने, ‘मासिक एकलाख तलब दिलाउने भनेर त्यहाँ पुर्‍याइएको जानकारी उनीहरुले दिएका छन् ।’

श्रेष्ठका अनुसार, भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।

सरकारको उदासीननता

भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

त्यसमाथि होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर बोकेकालाई त अध्यागमनले रोक्न पनि सक्दैन । यसरी जानेहरुमाथि शंका लागे अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्न सक्छ, यसो गर्दा पनि रोजगारीकै लागि भिजिट भिसामा लैजान लागेकाहरु समातिन सक्ने भएपनि त्यसो नगरेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार, रोजगारीका लागि यूरोप, अफगानिस्तान लगायत देश छिर्ने ध्येयले पनि नेपाली युवा तस्करलाई मोटो रकम बुझाएर यूएई पुग्ने गरेका छन् । यो क्रम रोक्न सरकार उदासीन रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । यसलाई रोक्न प्रभावकारी कदम चाल्न जरुरी भएको उनीहरुको भनाइ छ ।

छानबिन गर्न माग

व्यवसायीहरुले भने खाडी मुलुकबाट कामदारको माग आइरहेकाले मागपत्र प्रमाणीकरण सुरु गर्नुपर्ने बताउँदै आएका छन् । दूतावासहरुले भने गन्तब्य मुलुकले विदेशबाट श्रमिक आपूर्ति गर्नेबारे स्पष्ट नीति नल्याएकाले प्रमााणीकरण नथालेको बताएका छन् । महामारीको ‘सेकेन्ड वेभ’ आएमा समस्या दोहोरिने भन्दै उनीहरु डराएका छन् ।

तर व्यवसायीहरु भने विदेशबाट नयाँ माग आउन रोक्दा भिजिट भिसामा युवालाई विदेश पुर्‍याउने क्रम बढ्ने भएकाले वैध बाटो खोल्नपर्ने बर्तारहेका छन् । कतिपय म्यानपावर एजेन्सी नै भिजिट भिसामा कामदार पठाउन लागिरहेको भन्दै उनीहरुले कानूनी बाटो खुला राख्न सरकारलाई आग्रह गरेका छन् ।

‘यूएईको सरकारी, अर्धसरकारी क्षेत्रमा विदेशी कामदार पठाउन पाइन्छ, तर म्यानपावरले वैधानिक रुपमा नयाँ मागपत्र ल्याउन सकेको छैन,’ संघका सचिव श्रेष्ठ भन्छन्, ‘यो अवस्थामा मानव तस्करहरुले भिजिट भिसाको धन्दा चलाएका छन्, कतिपय कम्पनी तिनकै सम्पर्कमा जान थालेका छन् ।’

संघले भिजिट भिसामा श्रम गर्न जानेहरुलाई रोक्न माग गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वेदेशिक रोजगार विभाग, संसदको उद्योग, वाणिज्य, उपभोक्ता हित तथा श्रम सम्बन्ध समितिमा ज्ञापनपत्र पनि बुझाएको छ ।

लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले पनि श्रम स्वीकृति र वैदेशिक रोजगार बिमा प्राप्त नगरी भिजिट भिसा लिएर विदेश जाँदा र पठाउँदा श्रमिकको हित नहुने बताएको छ ।

एसोसिएसनले यस्तो असुक्षित बाटो बन्द गर्न सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल भिजिट भिसामा नेपाली श्रमिक विदेश पुगिरहेको सम्बन्धमा सरकारले छानबिन समेत थाल्नुपर्ने बताउँछन् । तर, वैदेशिक रोजगार विभागका प्रवक्ता टीकामणि नेउपाने भिजिट भिसाको प्रक्रिया पूरा गरेर जानेलाई रोक्न कठिन हुने बताउँछन् ।

‘काम गर्न भिजिट भिसामा जाँदा समस्या पर्न सक्छ,’ उनी भन्छन्, ‘त्यसरी लैजानेले ठग्यो भने पनि कारवाही गर्न सहज छैन । त्यसकारण, श्रमिक आफैं सजग हुनुपर्छ ।’ भिजिट भिसामा जानेहरुलाई अध्यागमन विभागले कडा जाँचबुझ गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment