Comments Add Comment

उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु धुरुधुरु रोए बिरामीका आफन्त

१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो ।

चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना गर्नुअघि नै ३ लाख रुपैयाँ धरौटी माग्यो । शान्तिका अनुसार अहिले दिनको झण्डै ५० हजार रुपैयाँ उपचार खर्च लागिरहेको छ ।

शुक्रबार अस्पताल निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारबारे सोध्दा शान्ति भक्कानिइन् । ‘हामी साधारण नागरिककको पनि ज्यान हो । राम्रो होस् भनेर भेन्टिलेटर खोज्दा सरकारीमा रहेछ’ उनले भनिन्, ‘यहाँ कुरा गर्दा सहुलियत चाहिने हो भने सरकारी अस्पताल जानुस् भनियो । मेरो बाबा जीवन र मृत्युको (भक्कानिइन्) …।’

अस्पतालको सेवा राम्रो भएपनि उपचार खर्च धान्नै नसक्ने अवस्था रहेको उनले सुनाइन् ।

मुख्यमन्त्री राई, सामाजिक विकासमन्त्री घिमिरेले शुक्रबार विराटनगरको नोबेलसँगै न्यूरो अस्पताल र विराट मेडिकल कलेजको अनुगमन गरे । निजी अस्‍पतालको  उपचार खर्च धान्न नसक्ने अवस्थाको रहेको भन्दै बिरामीका आफन्तले सहयोग गरिदिन उनीहरुसँग याचना गरे ।

नोबेल मेडिकल कलेजमा उपचार गराइरहेको बिरामीका आफन्तले आइसोलेसनको व्यवस्थापन राम्रो नभएको गुनासो गरे । बुबालाई आइसोलेसनमा भर्ना गराएका इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले अस्पतालले दिएको दुःख सुनाए ।

तप्लेजुङका कृष्ण मोक्तानले बिरामीको अवस्था कस्तो छ भनेर जानकारी पाउनै मुश्किल परेको बताए । बिरामीलाई भेट्न पनि प्रत्येक पटक २ हजार रुपैयाँको पीपीई सेट किन्नु पर्ने उनको गुनासो थियो । ‘औषधि किन्ने पैसा र पीपीई किन्नमै ठिक्क हुन्छ’ मोक्तानले भने । बिरामी कुरुवाले संक्रमितको खानपान र हेरचाह राम्रो नभएको भन्दै सुधारका लागि सहयोग गरिदिन पनि आग्रह गरे ।

मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजवंशी कात्तिक ३० देखि विराट मेडिकल कलेजमा आमाको उपचार गराइरहेका छन् । मुख्यमन्त्री पुग्दा उनले दैनिक २० हजारदेखि ४५ हजारसम्मको बिल तिर्नुपरेको दुखेसो गरे ।

निशुल्क उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

अनुगमनका क्रममा मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले विपन्न नागरिकको उपचार निशुल्क गर्ने निर्णय गरेको बताउँदै त्यस्ता बिरामीको शुल्क नलिन निर्देशन दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वघोषणा गरेर आफैं उपचार गर्ने बाहेकका मानिसलाई वार्डमा बसेको ३५ सय, आईसीयूमा ७ हजार र भेन्टिलेटरको दैनिक १५ हजार लिन पाउने नियम बनाएको छ ।

अनुगमनका क्रममा नोबेल मेडिकल कलेजले र न्यूरो अस्पतालले सरकारी निर्देशनको पालना नगरेको भेटिएको मुख्यमन्त्री राईले बताए ।

नोबेलले आइसोलेसनमा दैनिक २० हजार रुपैयाँ लिने गरेको छ । न्यूरोले भेण्टिलेटरमा दिनको ३० हजार तोकेको छ । विराटमा भेण्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर विराटले केही दिनयता सरकारी दरअनुसार नै खर्च लिएको दावी गरेको छ ।

विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले महामारीको सम्पूर्ण दायित्व सरकारको हुनुपर्ने बताए । गुणस्तरीय सेवा दिएकोले त्यही अनुसारको खर्च पनि लाग्ने उनले बताए ।

सरकारले पठाएको पत्र प्रष्ट नभएकोले निशुुल्क उपचार सुरु गर्न नसकिएको नोबेल मेडिकल कलेजका प्रबन्धक राजेश नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment