Comments Add Comment

उद्योग वाणिज्य महासंघको निर्वाचनमा शतप्रतिशत मतदान

१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए।

बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

जिल्ला-नगरमा कडा टक्कर

मतदानमा जिल्ला नगरतर्फ शतप्रतिशत मत खसेको छ । महासंघमा देशभरका १०५ वटा जिल्लारनगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।

जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, पि्रन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।

ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् । महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३८ जना उम्मेद्वार भिडेका छन् ।

वस्तुगतमातर्फको भिडन्त

निर्वाचनमा वस्तुगततर्फ शत प्रतिशत नै मत खसेको छ । वस्तुगततर्फको मतभार २० प्रतिशत हुन्छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । महासंघमा १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय उद्योग वाणिज्य संघ छन् । द्विदेशीयलाई पनि वस्तुगतमै गणना गरिन्छ ।

वस्तुगत तर्फका उम्मेदवारमा अञ्जन किशोर प्रधानको प्यानलबाट हुन् भने उमेश चन्द्र ढकाल प्यानलका हुन् । लक्ष्मी ग्रुपका अध्यक्ष रहेका अञ्जन नाडा अटोमोवाइल डिलर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ ३ कार्यकाल महासंघको केन्द्रीय सदस्य रहेर हाल पनि उपाध्यक्ष छन् ।

वस्तुगत तर्फका १४ केन्द्रीय सदस्यमा भने २८ जना चुनावी भिडन्तमा छन् ।

एसोसियटमा पनि टक्कर

मतदानमा एसोसियटतर्फ शतप्रतिशत नै मत खसेको छ । महासंघमा ९ सय ३  एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघई भिडेका छन् । ज्योति प्रधान प्यानल र संघई ढकाल प्यानलका उम्मेदवार हुन् ।

यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका ज्योतिले यसपटक ढकालको विपक्षी प्यानलबाट उम्मेदवारी दिएका छन् ।

महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा शौरभ अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिब मिल्स का मालिक हुन् । सरकारबाट सीआईपी सम्मान समेत पाएका उनी एक वाणिज्य बैंकको सञ्चालक समेत हुन् ।

एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

सम्भवतः आजै नतिजा

मतदान सकिएपछि अब छलफलमार्फत मतगणना सुरु गर्ने समय तय हुनेछ । मतगणना सुरु गरिहाल्ने योजना भएकालेसम्भवतः रातिसम्म महासंघले नयाँ कार्यसमिति पाउनेछ ।

महासंघको नयाँ कार्य समिति चयनको लागि तीन स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्यांक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भएको हो ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्यांक्वेट बबरमहलमा एसोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको थियो । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दशत्र पनि भर्चुअल विधिबाटै गरिएको थियो । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण पटक-पटक स्थगित भएको थियो ।

अब महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै स्वतः अध्यक्ष बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment