Comments Add Comment

१३ औं सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक

खेलकुदमा १ अर्ब ३१ करोड र पूर्वाधारमा २ खर्ब ८६ करोड खर्च

खर्च विवरण सार्वजनिक गर्दै राखेप सदस्य सचिव रमेश सिलवाल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले गत वर्ष मंसिरमा सञ्चालन भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)  को खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै २०७६ साल मंसिर १५ देखि २४ सम्म नेपालको काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको १३ औं सागको खर्च विवरण प्रस्तुत गरेको हो ।

साग सम्पन्न भएको तीन महिनाभित्रै सागको हिसाबकिताब सार्वजनिक गर्ने बताएका राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले तोकिएको समयमा त्यो काम गर्न नसकेको भन्दै क्षमा समेत मागे ।

आइतबार सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ १५ पैसा खर्च भएको छ । यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ ।

यसैगरी राखेपले सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ ।  त्यस्तै १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ रकम खर्च गर्न नसकी फ्रिज भएको पनि जनाएको छ ।

यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए ।

साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ ।

यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ ।

सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ ।

१३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ । उक्त रकम भने सरकारबाटै वितरण भएको राखेपले जनाएको छ ।

साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख भउपनि आयोजनास्थलको हिसाब किताब समयमा नआएको र कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ ।

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो ।

१४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment