Comments Add Comment

‘उद्योग वाणिज्य महासंघमा बहुमत अल्पमतको मतलब नै हुँदैन’

फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् ।

गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले उनी महासंघको नेतृत्वमा पुगेका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाल भने भावी अध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योगी व्यवसायीहरुको छाता संगठनको नेतृत्व गर्न पुगेका शेखर नेपालका पायोनियर उद्योगपति रामलाल गोल्छाका नाति हुन् । विराटनगरलाई कर्मथलो बनाएका उनले नेपालमा पहिलो पटक जुट लगायत उद्योगहरु खोलेको गोल्छा समूह स्थापनाकालदेखि नै महासंघमा आवद्धता रह्यो । तर नेतृत्व लिन भने ५४ वर्ष कुर्नुपर्‍यो । शेखरका बुबा हुलाशचंद गोल्छाले महासंघको अध्यक्ष हुने इच्छा देखाउँदा सहमति जुटेन । उनका ठूलाबुबा हंशराजका छोरा दिवाकर गोल्छाले महासंघको अध्यक्ष हुन इच्छा राखेका थिए । चण्डिराज ढकाल अध्यक्ष हुँदा उनी प्रथम उपाध्यक्ष थिए, तर उनले नेतृत्व पाएनन् । २७ वर्ष अघि बुबाको र एक दशक अघि दाजुको इच्छा अहिले शेखर गोल्छाले पूरा गरेका छन् ।

सरल स्वभावका उद्योगीको परिचित शेखरको अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, हस्पिटालिटी, बैंक तथा वित्तीय लगायतका क्षेत्रमा लगानी छ । यसपटकको निर्वाचनबाट फरक प्यानलको नेतृत्व गरेका ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकाले महासंघको नयाँ कार्यसमितिमा काम गर्ने सहज वातावरण नबन्ला कि भन्ने चासो पनि छ । प्रस्तुत छ, उद्योग वाणिज्य महासंघको आगामी कार्यदिशा लगायतका विषयमा अध्यक्ष गोल्छासँग गरिएको कुराकानीको सम्पादित अंश :

महासंघको १९औं अध्यक्ष बन्नुभएको छ । तपाईंको नेतृत्वमा महासंघले गर्ने कामहरु के–के हुन् ?

महासंघको ५४औं साधारण सभा राम्रोसँग सम्पन्न भयो । मुख्य कुरा भनेको हामी उद्योगी–व्यवसायीहरु एक भएको सन्देश जानु पर्छ । एक नहुने हो भने निजी क्षेत्रलाई कसैले गम्भिरतापूर्वक लिँदैन । तसर्थ, महासंघलाई एक बनाउने, एक छौं भन्ने सन्देश दिने पहिलो प्रयास रहनेछ ।

चुनावमा जे भयो, त्यो अब सकियो । अब सबैले कुनै व्यक्ति वा समूहको नभई समग्र निजी क्षेत्रको नेतृत्व गर्ने हो । मेरो ध्यान यसैमा केन्द्रित हुनेछ ।

चुनाव अघि तपाईंहरु दुई समूहमा विभाजित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा तपाईंले समर्थन गरेको भन्दा फरक प्यानलबाट निर्वाचित हुनुभएको छ । यसले तपाईंलाई काम गर्न कत्तिको सहज होला ?

असहज भन्ने कुरै हुँदैन, हामी मिलेरै काम गछौँ । हामी सबैको उद्देश्य एउटै हो । चुनावमा यता र उताको भनेर बस्ने कुरा आउँदैन । निजी क्षेत्रका मुद्दाहरुमा सबैलाई समेटेर अघि बढ्छौं ।

तर तपाईंले १० वर्षे र चन्द्र ढकालले २५ वर्षे छुट्टै कार्ययोजना बनाउनु भएको छ । अब महासंघले कुन कार्ययोजना अनुसार काम गर्छ त ?

मैले १० वर्षे कार्ययोजना बनाएको छु । अब त्यो कार्यसमितिमा जान्छ । कार्यसमितिले पारित गरेपछि त्यो नेपाल उद्योग वाणिज्य महासंघ, समग्र निजी क्षेत्र र चन्द्रजीको पनि कार्ययोजना बन्छ । हामी सबैले सबैको साझा कार्ययोजना अनुसार काम गर्छौँ ।

तपाईंले भनेको जस्तो सहज छ र । दुई समूहबाट चुनाव जितेर आएकाहरुको बहुमत अल्पमतको हिसाब होला नि ?

जसको तर्फबाट जसले जिते पनि सबै नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको मान्छे हो । सबैले निजी क्षेत्र र अर्थतन्त्रको हितमा काम गर्ने हो । त्यसकारण, मलाई बहुमत, अल्पतको मतलब नै छैन । मिलेर काम गर्ने ठाउँमा बहुमत, अल्पतको कुरै हुँदैन ।

महासंघमा कुनै राजनीतिक हुँदैन । केवल मुलुकको आर्थिक पुनरुत्थानको विषयमा मन्थन हुन्छ । हामी समग्र निजी क्षेत्रको साझा एजेण्डाहरु बनाएर अघि बढ्छौँ । सबै त्यसमा लागेपछि यो पक्ष वा त्यो पक्ष भन्ने कुरै रहँदैन ।

कोभिड १९ संकटको बेला निजी क्षेत्रको नेतृत्व लिनु भएको छ । मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि अब निजी क्षेत्रको भूमिका कस्तो हुन्छ ?

मेरो मुख्य प्राथमिकता नै अर्थतन्त्रलाई कोभिडको थप क्षतिबाट जोगाउनेमा हुनेछ । अब कसरी हुन्छ अर्थतन्त्रलाई उकास्ने हो । यसका लागि महासंघले सरकारसँग सहकार्य गर्छ । यस विषयमा मैले कार्ययोजना नै बनाएको छु । त्यसलाई अबको कार्यसमिति बैठकमा राख्छु । कार्यसमितिको रायसुझावमा त्यो अगाडि बढ्छ । यो पनि महासंघको उच्च प्राथमिकताकै विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment