+
+

किन जरुरी छ भिटामिन डी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १५:०८

सुस्वास्थ्य अस्पताल वानेश्वरका सञ्चालक सुदर्शन बस्नेत ठोकुवा गर्छन्, ‘यदि स्वास्थ्य परीक्षण नै गर्ने हो भने काठमाडौंका अधिकांश मान्छेलाई भिटामिन डीको कमी छ ।’ यसो भन्नका लागि उनीसँग केही आधार छन् । विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेहरुमा उनले भिटामिन डिको कमी भएका पाएका छन् । भिटामिन डी सूर्यको किरण र केही खानेकुराबाट प्राप्त हुन्छ । यी दुवै माध्यमबाट मान्छेहरुले भिटामिन डी लिइरहेका छैनन् ।

हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घिउ, अण्डाको पहेँलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यीमध्ये पनि सूर्यको किरण सबैभन्दा राम्रो र निःशुल्क पाइने भिटामिन डीको स्रोत हो ।

हामी हरेक दिन करिब पाँच मिनेट घाममा बस्यौं भने पनि हाम्रो शरीरले भिटामिन डी पाइरहेको हुन्छ । हाम्रो छालामा एउटा त्यस्तो पदार्थ हुन्छ, जुन सूर्यको पराबैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।

भिटामिन डीको सबैभन्दा महत्वपूर्ण कार्य हाम्रो शरीरको हड्डी बलियो बनाउनु हो । त्यसो त हड्डी बलियो बनाउनका लागि क्याल्सियमको आवश्कता पर्दछ । भिटामिन डीले त्यही क्याल्सियमको मात्रालाई सन्तुलित बनाउँछ । भिटामिन डीको सेवनले हामीलाई हड्डीसँग सम्बन्धित कुनै पनि रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

भिटामिन डीले हाम्रो शरीरको मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यसका साथै यसले शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि सहयोग पु¥याउँछ । भिटामिन डिले हड्डी टुट्नबाट समेत बचाउँछ ।

भिटामिन डीको कमीले महिलाहरुमा धेरै प्रकारका समस्याहरु देखा पर्छन् । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट तथा दैनिक कामकाजमा नै फरक पर्न सक्छ । भिटामिन डीको कमिले फोक्सोले गर्ने कार्य क्षमतामा पनि कमि आउँछ । यसबाहेक भिटामिन डीको कमीले फोक्सो खुम्चिन्छ । यसले गर्दा श्वास–प्रश्वास प्रकृयामै समस्या उत्पन्न हुन सक्छ ।

भिटामिन डीको कमीले ढाड तथा कम्मर दुख्न थाल्छ । एउटा अध्ययन अनुसार कम्मर दुखाइबाट पीडित ३ सय ६० जना बिरामीहरुमा भिटामिन डीको स्तर परीक्षण गरिएको थियो । परिणाम, सबै बिरामीहरुमा भिटामिन डीको कमी देखियो । भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन्छ, जसबाट हड्डीसँग सम्बन्धित कुनै पनि समस्या देखा पर्न सक्छ ।

एउटा अध्ययन अनुसार भिटामिन डीको कमीले किशोरीहरुलाई कम उमेरमै श्वास–प्रश्वास प्रकृयाको समस्या देखिन सक्छ ।

शरीरको मध्यभागमा कम्मर हुन्छ र यसले शरीरको अधिकांश भार थामेको हुन्छ । मेरुदण्ड समेत पूर्णरूपले कम्मरमै अडिएको हुन्छ । यदि हाम्रँे शरीरमा भिटामिन डीको कमी छ भने मेरुदण्डले शरीरको भार थेग्न गाह्रो पर्छ ।

भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्कीन फोल्ड रेशाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, उनीहरुमा भिटामिन डीको मात्रा बढी हुनेहरुको तुलनामा मोटोपन तीव्र रुपमा बढ्ने गरेको पाइएको छ ।

महिलाहरु प्रायः हाडजोर्नीको समस्याबाट ग्रस्त हुन्छन् । उमेर बढ्दै जाँदा महिलाहरुमा यो समस्या झन् बढ्दै जान्छ । उनीहरुलाई साधारण काम गर्न समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा उनीहरुले भिटामिन डीको सेवन गर्ने मात्रा बढाए भने त्यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सक्नछन् ।

महिलाहरुमा कम्मर दुखाइको समस्या पनि साझा समस्याकै रुपमा देखिन्छ । वैज्ञानिकहरुका अनुसार यदि जाडोमा भिटामिन डीको प्रमुख श्रोत घामलाई सेवन गरेमा यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुले विभिन्न प्रकारका स्वास्थ समस्याबाट ग्रसित हुनुपर्छ । त्यस्तो बेलामा उनीहरुको शरीरमा भिटामिन डीको कमी भयो भने मल्टिपल सिरोसिसको सम्भावना अत्यधिक हुन्छ ।

त्यसो त भिटामिन डी हाम्रो आँखाका लागि पनि फाइदाजनक हुन्छ । हालै गरिएको एउटा अध्ययन अनुसार भिटामिन डीको प्रयोगले नजिकको दृश्य हेर्न गाह्रो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका साथै जुन महिलाले बाल्यकालदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन्, उनीहरुलाई महिनावारीपछि हड्डीसँग सम्बन्धित रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?