Comments Add Comment

संघीयता फाल्न नेकपाले मोर्चाबन्दी गर्दैछ : उपेन्द्र यादव

१७ मंसीर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकारले संघीयता समाप्त पार्न विभिन्न शक्तिसँग मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।

महोत्तरीको रौजामा बुधबार रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले सरकार संघीयता समाप्त गर्ने खेलमा लागेको जिकिर गरेका हुन् । ‘संघीयता समाप्त पार्न संघीय सरकारले विगतमा हारिसकेका शक्तिसँग मोर्चाबन्दी गरिरहेको छ’ उनले भने, “तर यो सपना नदेख्न आग्रह गर्छु ।”

अध्यक्ष यादवले संघीयतालाई असफल पार्न सत्तारुढ दलले सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट हारिसकेका शक्तिसंग मोर्चाबन्दी गरेको बताए ।

‘यो २०१७ साल होइन । २०७७ साल हो’ उनले भने, ‘वर्तमान अवस्थामा जनता सचेत र संगठित छन । संघीयता र गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले आफैं तह लगाउनेछन् ।’

संघीय सरकारमा गणतन्त्रको मर्म विपरीत संघीयता विरोधी, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हावी हुँदै गएको बताउँदै उनले परिवर्तन पक्षधर शक्तिहरुलाई एकजुट हुनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment