Comments Add Comment

म्याराथन धावक गोपीचन्द्र पार्की धनगढीमा सम्मानित

१८ मंसिर, धनगढी । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा जापानमा अर्को वर्ष हुने टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द्र पार्की सम्मानित भएका छन् ।

पार्कीलाई बिहीबार धनगढीस्थित कभर्डहलमा कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले २५ हजार नगदसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा उपस्थित राष्ट्रिय खेलुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ हजार रुपैयाँ सहयोग गरेका छन् । कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

पार्कीले सम्मानले आफूलाई अझै मेहनत गर्न उर्जा मिलेको बताए । ‘अझै सफलता हासिल गर्न मेहनत गरिरहेको छु । मैले सबैको साथ पाएको छु । यहीँ साथ मेरा लागि उर्जा बनेको छ । अझै साथ पाउने अपेक्षा गरेको छु’ पार्कीले भने ।

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा पार्कीलाई  प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । ‘तपाईं रात दिन खटेर मेहनत गर्नुहोस् । हामीले के कस्तो सहयोग गर्न सक्छौ हामी गर्छौ,’ मन्त्री सुवेदीले भने ।

यही मंसिर ६ गते नेपालगन्जमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जित्दै धावक पार्की टोकियो ओलम्पिकको यात्रा सुनिश्चित गर्न सफल भएका थिए । गत मंसिरमा नेपालमै भएको १३ औं गमा एथ्लेटिक्सको ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्कीले त्यसपछि आफ्नो ध्यान म्याराथनतर्फ केन्द्रित हुने बताएका थिए ।

त्यसको झण्डै एक वर्षपछि उनले नेपालगञ्ज म्याराथनमा प्रतिस्पर्धा गर्दै उपाधि मात्र जितेनन् ओलम्पिककै लागि छनोट हुन सफल भए । पार्कीले अब आफ्नो लक्ष्य बैकुण्ठ मानन्धरले राखेको म्याराथनको कीर्तिमान तोड्ने भएको बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment