Comments Add Comment

पीएसजीका लागि एमबाप्पेको एक सयौँ गोल

२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए ।

मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं मिनेटमा कोलिन डाग्बाले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । डाग्बाको यो करियरको पहिलो गोल हो ।

४१औं मिनेटमा २२ वर्षीय इंग्लिस फरवार्ड स्टेफी मभिदीदीले मोन्टेपिलरको लागि बराबरी गोल फर्काए । तर ७७औं मिनेटमा युभेन्ट्सका पूर्व परवार्ड मोइस किनले गोल गर्दै पीएसजीलाई फेरि अग्रता दिलाए ।

२१ वर्षीय एमबाप्पेले इन्जुरी टाइमको पहिलो मिनेटमा ट्यापिङ गोल गर्दै पीएसजीको जित पक्का गरे । एमबाप्पे ७८औं मिनेटमा मोइसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

पीएसजीको इतिहासमा १ सय गोल गर्ने उनी पाँचौं खेलाडी बनेका छन् । यसअघि एडिनसन कभानी, ज्लाटन इब्राहिमोभिच, पाउलेटा र डोमिनिक रोचेटेउले सय गोल पूरा गरिसकेका छन् । कभानीले २००, इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र रोचेटेउले १०० गोल गरेका छन् ।

‘म केहि खेलयता गोल गर्न कुरिरहेको थिएँ । यो एक प्रकारको राहत महसुस भएको छ,’, एमबाप्पेले केनल प्लससँग भने, ‘जब मैले यहाँ सम्झौता गरेको थिएँ, मैले ३ गोल गर्नेबारे पनि सोचेको थिइन होला । एक सय भनेको धेरै हो ।’

एमबाप्पेले पछिल्लो तीन खेलमा गोल गर्न सकेका थिएनन् । नोभेम्बरमा आफ्नै पूर्व क्बल मोनाको विरुद्ध एमबाप्पेले दुई गोल गर्दै पीएसजीका लागि सबै खाले प्रतियोगितामा गरेर गोल संख्या ९९ पुर्‍याएका थिए ।

फ्रान्सका अन्तर्राट्रिय खेलाडी एमबाप्पेले पीएसजी आउनुअघि मोनाकोका लागि २७ गोल गरेका थिए । उनी १६५ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्ध भएका थिए ।

ब्राजिलियन फरवार्ड नेमारलाई आरम दिइएको खेलमा एमबाप्पे पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

प्रशिक्षक थोमस टुचालले च्याम्पियन्स लिग अन्तर्गत टर्किस क्लब इस्तानबुल बासाकसेयर विरुद्धको खेललाई मध्यनजर गर्द मुख्य खेलाडीलाई आरम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment