News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकपको समूह चरणबाट बाहिरिएपछि दक्षिण कोरियाली फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ-बोले पदबाट राजीनामा दिएका छन् ।
- राष्ट्रपति ली जे म्युङले राष्ट्रिय टोलीको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक नियुक्ति प्रक्रिया र टिमको व्यवस्थापनबारे समीक्षा गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।
- प्रशिक्षक होङले देशवासीले अपेक्षा गरेअनुरूप नतिजा दिन नसकेको भन्दै सम्पूर्ण जिम्मेवारी स्वीकार गरेर सार्वजनिक रूपमा माफी मागेका छन् ।
१५ असार, काठमाडौं । दक्षिण कोरिया राष्ट्रिय फुटबल टोली विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक होङ म्युङ-बोले पदबाट राजीनामा दिएका छन् ।
टोलीको निराशाजनक प्रदर्शनपछि राष्ट्रपति ली जे म्युङले प्रशिक्षकको क्षमतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै राष्ट्रिय टोलीको समग्र संरचनामाथि पुनरावलोकन गर्न निर्देशन दिएका थिए ।
दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध पहिलो खेल जितेर सुखद सुरुवात गरे पनि त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । विस्तारित प्रतियोगितामा उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरण पुग्ने आशा पनि कङ्गोले उज्बेकिस्तानलाई ३–१ ले हराएपछि समाप्त भएको थियो ।
टोलीको अप्रत्याशित असफलतापछि राष्ट्रपति लीले प्रशिक्षक नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाएका थिए । उनले योग्यताभन्दा निष्ठा र गुटगत स्वार्थलाई प्राथमिकता दिँदा यस्तै परिणाम आउने टिप्पणी गर्दै नेतृत्व चयन नै सफलताको आधार हुने बताए ।
५७ वर्षीय होङले टोलीको आधार शिविरबाट स्वदेश फर्किनुअघि समर्थकसँग क्षमा माग्दै पद छाड्ने घोषणा गरे । उनले देशवासीले अपेक्षा गरेको नतिजा दिन नसकेको स्वीकार गर्दै सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । साथै प्रशिक्षक पद छाडे पनि दक्षिण कोरियाली फुटबलप्रतिको आफ्नो प्रतिबद्धता भने यथावत् रहने उल्लेख गरेका छन् ।
होङको यो दक्षिण कोरियाली राष्ट्रिय टोलीसँगको दोस्रो कार्यकाल थियो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि टोलीको नेतृत्व गरेका थिए, जहाँ दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो।
लगातार ११औं विश्वकप खेलेको दक्षिण कोरिया सन् २००२ मा घरेलु भूमिमा सह–आयोजक रहँदा सेमिफाइनलसम्म पुगेको थियो । यसपटकको असफलतापछि राष्ट्रपति लीले राष्ट्रिय टोलीको संरचना र व्यवस्थापनको समीक्षा गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
-एपीबाट
प्रतिक्रिया 4