+
फिफा विश्वकप २०२६ :

१२ वर्षपछि अन्तिम १६ खेल्ने जर्मनीको लक्ष्य, कस्तो रहला पाराग्वेको चुनौती ?

२०८३ असार  १५ गते १४:३५ २०८३ असार १५ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज चार पटकको विजेता जर्मनी र दक्षिण अमेरिकी टोली पाराग्वे आमनेसामने हुँदैछन् ।
  • समूह विजेता जर्मनी आफ्नो साख पुनः स्थापित गर्ने लक्ष्यमा छ भने पाराग्वे अनुशासित रक्षात्मक संरचनाको बलमा उलटफेर गर्ने दाउमा छ ।
  • सन् २००२ को विश्वकपमा जर्मनीले पाराग्वेलाई १-० ले पराजित गरेको इतिहास छ, जसलाई पाराग्वेले यस पटक पल्टाउने प्रयास गर्नेछ ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्टनस्थित बोस्टन रङ्गशालामा आज चार पटकको विश्व विजेता जर्मनी र दक्षिण अमेरिकी टोली पाराग्वे आमनेसामने हुँदैछन् ।

समूह चरणको विजेता बन्दै नकआउट चरणमा पुगेको जर्मनी यस खेलमा बलियो दाबेदारको रूपमा मैदान उत्रनेछ । यद्यपी समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग २-१ को अप्रत्याशित हार बेहोरेपछि टोली केही सतर्क बनेको छ ।

अर्कोतर्फ, समूह चरणबाट उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा पुगेको पाराग्वे विश्व फुटबलकै अर्को ठूलो ‘अपसेट’ गर्ने लक्ष्यमा हुनेछ ।

पाराग्वेले समूह चरणमा टर्कीविरुद्ध दोस्रो हाफभरि १० खेलाडीमा सीमित भएर पनि १-० को साहसिक जित निकाल्दै आफ्नो रक्षात्मक मजबुती प्रमाणित गरिसकेको छ ।

‘गर या मर’ को यस मञ्चमा जर्मनी आफ्नो आक्रामक साख पुनः स्थापित गर्न चाहन्छ भने प्याराग्वे आफ्नो अनुशासित रक्षात्मक संरचनाको बलमा युरोपेली महारथीलाई स्तब्ध पार्ने योजनामा हुनेछ ।

सन् २०१४ मा उपाधि जितेको जर्मनी त्यसपछिका दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । त्यसकारण जर्मनी १२ वर्षपछि अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यमा हुनेछ भने पाराग्वे रोक्ने रणनीतिमा हुनेछ ।

हालसम्मको यात्रा

जर्मनी: जर्मनीले समूह चरणमा दुई जित र एक हारसहित समूह विजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो । पहिलो दुई खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम ३२ को यात्रा सहज बनाएको जर्मनीले अन्तिम खेलमा भने इक्वेडरसँग २-१ को हार बेहोरेको थियो । उक्त हारले टोलीलाई केही चेतावनी दिए पनि समूहको शीर्ष स्थान सुरक्षित रह्यो। प्रशिक्षक जुलियन नागेल्सम्यानको टोली अझै पनि उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको छ ।

पाराग्वे : पाराग्वेले कठिन समूहबाट उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको हो । टोलीले समूह चरणभरि संगठित रक्षात्मक खेल प्रस्तुत गर्‍यो । विशेषगरी टर्कीविरुद्ध दोस्रो हाफभरि १० खेलाडीमा सीमित रहँदै १-० को महत्वपूर्ण जित निकाल्नु टोलीको सबैभन्दा स्मरणीय प्रदर्शन रह्यो । सीमित अवसरको सदुपयोग गर्दै अंक बटुलेको पाराग्वे अब अर्को ठूलो चुनौतीका लागि तयार छ ।

हेड-टु-हेड

जर्मनी र पाराग्वेबीच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म तीन पटक आधिकारिक भेट भएको छ । जसमा जर्मनीले एक खेल जितेको छ भने पाराग्वेले पनि एक खेल आफ्नो पक्षमा पारेको छ । अर्को खेल ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो ।

विश्वकपको मुख्य प्रतियोगितामा यी दुई टोली यसअघि एकपटक मात्र आमनेसामने भएका छन् । सन् २००२ को कोरिया/जापान विश्वकपको राउन्ड अफ १६ मा जर्मनीले पाराग्वेलाई १-० ले पराजित गरेको थियो । त्यस खेलमा ओलिभर न्यूभिलले ८८औं मिनेटमा निर्णायक गोल गर्दै जर्मनीलाई क्वार्टरफाइनल पुर्‍याएका थिए ।

टिम न्युज

जर्मनी: रक्षापङ्क्तिका प्रमुख सेन्टर-ब्याक निको श्लोटरबेक कुर्कुच्चाको चोटका कारण विश्वकपबाटै बाहिरिएका छन्, जुन जर्मनीका लागि ठूलो धक्का हो । प्रशिक्षक जुलियन नागेल्सम्यानले ४-२-३-१ को आक्रामक संरचनामा  जोसुवा किमिच, एन्टोनियो रुडिगर, जोनाथन ताह र डेभिड राउमलाई डिफेन्समा उतार्ने सम्भावना छ । मिडफिल्डमा फेलिक्स न्मेचा र अलेक्ज्याण्डर पाभ्लोभिच रहनेछन् भने आक्रमणमा लिरोय साने, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज र काई हाभेर्ट्जले जिम्मेवारी सम्हाल्नेछन् ।

पाराग्वे : मिडफिल्डका मुख्य खेलाडी डिएगो गोमेज दुई पहेंलो कार्डका कारण निलम्बनमा छन् । यद्यपी स्टार फरवार्ड मिगुएल अल्मिरोन एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका छन् । प्रशिक्षक गुस्ताभो अल्फारोले ४-४-२ को कम्प्याक्ट संरचनामा जुयान होसे कासेरेस, भिक्टर भेलाज्क्वेज, गुस्ताभो गोमेज र जुनियर अलोन्सोलाई रक्षापङ्क्तिमा राख्ने सम्भावना छ । मिडफिल्डमा अल्मिरोन, एन्ड्रेस कुबास, माटियास गालार्जा र माउरिसियो रहनेछन् भने अग्रपङ्क्तिमा जुलियो एन्सिसो र गाब्रियल अभालोसले जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ ।

रणनीतिक भिडन्त

जर्मनी बल आफ्नो नियन्त्रणमा राख्दै निरन्तर आक्रमण बुन्ने शैलीको टोली हो भने पाराग्वे अनुशासित रक्षात्मक संरचनासँगै तीव्र काउन्टर-अट्याकमा भर पर्छ । त्यसैले खेलको नतिजा धेरै हदसम्म जर्मनीले पाराग्वेको सघन रक्षालाई कति प्रभावकारी रूपमा भेदन गर्न सक्छ भन्नेमा निर्भर रहनेछ । उता अल्मिरोन र एन्सिसोको गतिलाई उपयोग गर्न सके प्याराग्वेले पनि जर्मनीको रक्षापङ्क्तिलाई समस्यामा पार्न सक्छ ।

मुख्य खेलाडी

जर्मनीका लागि जमाल मुसियाला, फ्लोरियन विर्ट्ज र काई हाभर्ट्जमाथि सबैको ध्यान रहनेछ । उता प्याराग्वेका मिगुएल अल्मिरोन, जुलियो एन्सिसो र कप्तान गुस्ताभो गोमेज टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी मानिन्छन् ।

खेल : जर्मनी भर्सेस् पाराग्वे
मिति र समय : १६ असार, बिहान २:१५ बजे
स्थान : बोस्टन स्टेडियम, अमेरिका
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय