+
+
Shares

लम्बोदर न्यौपाने पक्राउ प्रकरण : तीन आरोपीप्रति प्रहरी नरम !

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १२:०१

२३ मंसिर, काठमाडौं । १० मंसिरमा पक्राउ परेका भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष लम्बोदरकुमार न्यौपानेमाथि ३१ करोड ३२ लाख रुपैयाँ अपचलनको आरोप छ । यसमध्ये ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ विगो खुलेको र २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु हो ।

यो ठगी प्रकरणमा कलेजका अन्य संस्थापक रामरत्न उपाध्याय, सूर्यबहादुर केसी, उपेन्द्र गौतम र लबराज भट्टराईविरुद्व पनि उजुरी परेको छ । केसी, न्यौपाने, गौतम र भट्टराईले गाडी किन्न कलेजको खाताबाट जनही एक करोड ५० लाख रुपैयाँ निकालेको देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) स्रोत बताउँछ । उपाध्यायको नाममा भने यो शीर्षकमा रकम निकालेको देखिदैन ।

तीन जना फरार, एकको निधन

ठगी आरोप लागेकामध्ये सूर्यबहादुर केसीको गत कात्तिकमा निधन भइसकेको छ । फरार रहेको रामरत्न उपाध्याय, उपेन्द्र गौतम र लबराज भट्टराईको खोजी भइरहेको सीआईबीका एक अधिकृतले बताए ।

गत असोजमा दर्ता गरेको उजुरीमा न्यौपाने, उपाध्याय, गौतम, केसी र भट्टराईले सचिवालय खर्चको नाममा ५७ लाख ५० हजार रुपैयाँ संयुक्त ठगी गरेको उल्लेख छ ।

पाँच जनाको नाममा २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु छ । त्यसमध्ये न्यौपानेको नाममा १३ करोड ३२ लाख, उपाध्यायको नाममा ७९ लाख, भट्टराईको नाममा दुई करोड ४३ लाख, उपेन्द्र गौतमको नाममा एक करोड ७८ लाख र स्वर्गीय केसीको नाममा दुई करोड ७८ लाख वेरुजु रहेको जी. पौडेल एण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्टस्को अडिट रिर्पोटमा उल्लेख छ ।

लम्बोदरमाथि १० अरोप

२०५१ सालमा सामाजिक संस्थाको रुपमा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने १८ असार २०५६ देखि ७ मंसिर २०५७ र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म अध्यक्ष रहेका थिए । उनी दुई कार्यकाल अध्यक्ष हुँदा २३ करोड भन्दा बढी बेरुजु देखिएको अडिट रिर्पोटमा उल्लेख छ । व्यक्तिगत बेरुजु पनि न्यौपानेको नाममा सबभन्दा बढी छ ।

विगो खुलेको अपचलनमा पनि न्यौपाने अगाडि छन् । उनले कलेजको ४९ लाख ५६ हजार रुपैयाँले किनिएको हुन्डाई कम्पनीको गाडी आफ्नो नाममा दर्ता गरेको, ११ बैशाख २०७४ मा ग्लोबल आईएमई बैंकमा रहेको कलेजको खाताबाट १३ लाख झिकेर दुरुपयोग गरेको, पोखरा विश्वविद्यालयलाई पेश्की भन्ने जनाइ २४ माघ २०७३ मा १० लाख ठगी गरेको जानकारी सीआईबी स्रोतले दिएको छ ।

यस्तै, सचिवालय खर्चको नाममा तीन पटकमा ५७ लाख ५० हजार, कलेजसँग सरोकार नभएका व्यक्तिलाई ४ लाख, कलेजसँग सम्बन्धै नभएको मध्य पश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख ५०, अन्य पेश्की शीर्षकमा १८ पुस २०७३ मा २३ लाख, मिसलीनियस एक्सपेन्सेस भनेर दुई लाख ७५ हजार र शिवराम खड्का र जुजुभाई महर्जनलाई ५४ लाख अन्य पेश्की दिएर कलेजलाई ठगी गरेको विषयमा सीआईबीले अनुसन्धान जारी राखेको छ ।

घुस प्रकरणमा धरौटीमा रिहा

आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी निस्तेज पार्न न्यौपानेले आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएका थिए । यो प्रकरण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिए ।

एक करोड ६० लाख घुस लेनदेनको सहमति भएपनि पाठकले काम गर्न नसकेपछि त्यसमध्ये अगि्रम ७८ लाख लिएको भिडियो न्यौपाने पक्षले नै सार्वजनिक गरेको थियो ।

घुस लेनदेनको यो मुद्दामा धरौटीमा रिहा भएपछि कलेज ठगीको उजुरीमा न्यौपाने पक्राउ परेका हुन् । अन्य तीन आरोपीको हकमा भने सीआईबी नरम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?