Comments Add Comment

कोरोना बिमा भुक्तानी : अर्थमन्त्रीको दोस्रो निर्देशन पनि ‘फेल’

अर्थमन्त्री विष्णुप्रसाद पौडेल

२४ मंसिर, काठमाडौं । सामान्यतया महामारी र युद्धको बिमा नगर्ने विश्वव्यापी अभ्यास छ । यसमा क्षतिको आकलन गर्न नसकिने भएकाले कम्पनीहरु जोखिम बहन गर्न तयार हुँदैनन् । तर, नेपालमा कोरोना महामारी नफैलिने अनुमान गरेर बिमा सुरु गरेर कम्पनीहरुले एकप्रकारले ‘जुवा’ खेलेका थिए ।

संक्रमण लागेको पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी दुईवटा पोलिसी बिक्री गर्न थालेपछि त्यसमा ब्यापक जनआकर्षण देखियो । अहिले देशमा कोरोनाले महामारीको रुप लिएको छ । बिमा गराएका हजारौं व्यक्तिहरु संक्रमित बनेका छन् । अहिले उनीहरुको बिमा रकम भुक्तानी गर्न कम्पनीहरुलाई सकस परेको छ ।

दशैंअघि कोरोना संक्रमित भएका झापाका देवीप्रसाद ओलीले संक्रमण मुक्त भएपछि दशैंलगत्तै बिमा दावी गरे । प्रिमियर इन्स्योरेन्समा बिमा दाबी गराएका उनले हालसम्म पनि भुक्तानी पाएका छैनन् । कोरोना बिमा वापत पाउनुपर्ने रकमका लागि देवीप्रसादकी छोरी समय–समयमा कम्पनी धाइरहन्छिन् । उनलाई सम्पर्क गर्नू भनेर उपलब्ध गराइएको नम्बरमा नियमित फलो गरिरहेकी छिन् ।

गत १९ गते पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले अर्को निर्देशन दियो । त्यो निर्देशन दिएको पनि चार दिन बितिसकेको छ । तर यो अवधिमा दैनिक ३ सयको औसतमा मात्रै भुक्तानी भएको छ

पछिल्लो पटक उनले फोन गर्दा अझै समय लाग्ने कम्पनीले बताएको छ । ‘मैले हिजोमात्रै पनि बिमा कम्पनीमा फोन गरेको थिएँ, अझै २० दिन जति लाग्छ भनिएको छ,’ देवीप्रसादकी छोरी निशा भन्छिन् ।

दशैं अगाडि नै कोरोना दावी गरेका सञ्चारकर्मी सुजन ढुंगानाले पनि हालसम्म भुक्तानी पाउन सकेका छैनन् । उनको युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको छ । कहिले पाइन्छ बिमा रकम ? यही प्रश्न सुजनले कम्पनीमा पटक–पटक राखिसके । कम्पनीको रेडिमेड जवाफ आउँछ ‘प्रक्रियामै छ’ । तर प्रक्रिया कहिले पूरा हुने केही ठेगान छैन ।

देवीप्रसाद र सुजन प्रतिनिधि पात्र हुन् । यसरी बिमा रकम नपाउनेको संख्या २६ हजारभन्दा धेरै छ ।  नेपाल बिमक संघले दिएको जानकारी अनुसार हालसम्म ३३ हजार ५६२ वटा कोरोना बिमा दावी परेको छ । यसमा ६ हजार ९५३ जनाले मात्रै भुक्तानी पाएका छन् ।

दावी परे पनि सबैले आवश्यक कागजातहरु पूरा नबुझाएको बिमक संघ बताउँछ । संघका अनुसार हालसम्म १२ हजार ३ सय ५१ जनाले मात्रै आवश्यक कागजातहरु पेश गरेका छन् । जसमा करिब २ हजार थप भुक्तानीको प्रक्रियामा छ । यो आजभोलि नै भुक्तानी हुने संघले बताएको छ । यो तथ्यांकले पनि अझै धेरैले भुक्तानी पाउँन बाँकी रहेको पुष्टि हुन्छ ।

अर्थमन्त्रीको निर्देशन फेल

विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएलगत्तै ७ दिनभित्रै बिमा रकम भुक्तानी दिन निर्देशन दिए । त्यो निर्देशन बिमा कम्पनीहरुले कार्यान्वयन गर्न सकेनन् ।

गत १९ गते पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले अर्को निर्देशन दियो । त्यो निर्देशन दिएको पनि चार दिन बितिसकेको छ । तर यो अवधिमा दैनिक ३ सयको औसतमा मात्रै भुक्तानी भएको छ ।

हजारौं बिमितहरु अझै पनि आशमै छन् । निजी ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आधिकारिकता पुष्टि गरेर मात्रै भुक्तानी गर्ने भनेर रोकिएको छ । अहिले भुक्तानी नपाउनेको ठूलो संख्या निजी ल्याबकै परीक्षणवालाहरुको रहेको संघले बताएको छ ।

निजी ल्याबमा गरिएको केही परीक्षणको रिपोर्ट पुष्टि गराउन २ हजारभन्दा बढी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको र त्यो आउनेबित्तिकै भुक्तानी हुने उनले बताए ।

बिमा समिति भन्छ : गति लियो

बिमा समितिले भने चाँडोभन्दा चाँडो भुक्तानी दिन शुरु भइसकेको बताएको छ । केही दिनयता भने पहिलेको भन्दा धेरै चाँडो भुक्तानी भइरहेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘सकेसम्म चाँडो भुक्तानी गर्न हामीले बिमा कम्पनीहरुलाई भनेका छौं, पहिले विविध कारणले ढिलाइ भए पनि अब भने ढिलाइ हुँदैन,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘अब कम्पनीहरुले ढिला गर्दैनन्, रोक्ने भन्ने त झन् कुरै हुँदैन ।’

बिमा दावी भुक्तानीमा ढिलाइ हुँदा बिमा रकम पाइँदैन कि भन्ने धेरैमा आशंका छ । तर यस्तो शंका गर्नु नपर्ने निर्देशक पौडेलको भनाइ छ । प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भए पनि कोरोना संक्रमित भएका सबै बिमितले रकम पाउने उनले बताए ।

धेरै दावीहरुको भने पूर्ण कागजातहरु आइनसकेका कारण भने समस्या भएको उनले बताए । ‘कागजात पूरा भएकाहरुको जतिसक्दो प्रक्रिया पूरा गरेर भुक्तानी कम्पनीहरुले दिन्छन्, यसमा डराउनु पर्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment