Comments Add Comment

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, लाइपजिग र पीएसजी अन्तिम १६ मा

२४ मंसिर, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह एच अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएपछि युनाइटेड नकआउट चरणमा पुग्न असफल भएको हो ।

घरेलु मैदानमा जितपछि लाइपजिग भने समूह एचको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । पीएसजीले अन्तिम खेलमा टर्किस क्लब इस्तानबुल बासाकसेयरसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमै अन्जेलिनोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा अमाडोउ हइदराले गोल गर्दै लाइपजिगको अग्रता दोब्बर पारे  । ३०औं मिनेटमा लाइपजिगका विली ओर्बानले गोल गरेपनि त्यसलाई भिएआर रेफ्रीले मान्यता दिएन ।

पहिलो हाफमा लाइपजिगले दुई गोलको अग्रता बनायो । ६९औं मिनेटमा जसटिन क्लुभर्टले गर्दै लाइपजिगलाई ३-० को अग्रता दिलाए । तीन गोलले पछि परेको युनाइटेडले अन्तिम दश मिनेटमा २ गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

८०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा युनाइटेडका लागि गोल गरे । यस्तै ८२औं मिनेटमा पउल पोग्वाले गोल गर्दै गोल अन्तर कम गरेका थिए । त्यसले युनाइटेडले झिनो आश दिलाएको थियो तर त्यसपछि थप गोल हुन नसक्दा लाइपजिगले खेल जित्यो ।

जितपछि लाइपजिग ६ खेलबाट १२ अंक जोड्दै समूह विजेता बन्यो । इस्तानबुल बासाकसेयरसँग बराबरी खेलेको पीएसजी समूह्य उपविजेता बन्यो ।

पिएसजी र युनाइटेडको समान ९ अंक भएपनि पीएसजी हेड टु हेडमा भाग्यमानी बन्यो  । युनाइटेडले पिएसजीको मैदानमा २-१ को जित हात पारेको थियो भने पीएसजीले युनाइटेडलाई ओल्ड ट्राफोर्डमा ३-१ ले पराजित गरेको थियो ।

चेल्सीले बराबरी खेल्यो

समूह इ तर्फ यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको चेल्सीले एफसी क्रास्नोडरसँग १-१ को बराबरी खेलेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा चेल्सीले बराबरी गोल फर्काएको हो । २४औं मिनेटमा रेमी काबेलाले क्रास्नोरलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमार्फत चेल्सीका लागि बराबरी गोल फर्काए ।

अर्को खेलमा स्पानिस क्लब सेभियाले फ्रेन्च क्लब रेन्सलाई ३-१ ले पराजित गरेको छ । सेभियाका लागि युसो एन नेस्रयीले दुई तथा युल्स उन्डेले एक गोल गरे । रेन्सका लागि जर्जिनिओ रुटले एक गोल फर्काए । चेल्सी १४ अंक जोड्दै समूह विजेता र सेभिया १३ अंकसहित समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन् ।

लाजियो अन्तिम १६ मा

समूह एफ अन्तर्गत गएराति भएको खेलमा क्लब ब्रुगसँग २-२ को बराबरी खेल्दै इटालियन क्लब लाजियो अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा दुई पटक अग्रता लिएर पनि लाजियो १० खेलाडीमा झरेको ब्रुगसँग बराबरीमा रोकिएको हो ।

जाक्विन् कोरेअले १२औं मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा रुड भर्मरले ब्रगका लागि बराबरी गोल पर्काए । २७औं मिनेटमा सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्दै फेरि लाजियोलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा एडुएर्ड सोबोल रातो कार्ड पाउ मैदान बाहिरिँदा ब्रुग १० खेलाडीमा समेटियो । तर ७६औं मिनेटमा हान्स भानकेनले गोल गर्दै खेल बरारी गरे ।

जितपछि लाजियो १० अंक जोड्दै समूह एफमा दोस्रो बन्दा ८ अंक सहित ब्रुग तेस्रो भयो ।

यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको जर्मन क्लब बोरुसिया डर्टमण्डले अन्तिम खेलमा जेनिथ सेन्ट पिटर्सवर्गलाई २-१ ले हरायो । डर्टमण्ड १३ अंक जोड्दै समूह विजेता बनेको हो ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै डर्टमण्डले जित हात पारेको हो । १६औं मिनेटमा सेबास्टिन ड्रिउस्सीले गोल गर्दै जेनिथलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा लुकास पिज्जाकले डर्टमण्डका लागि बराबरी गोल फर्काए भने ७८औं मिनेटमा एक्सल विट्सलले विजयी गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment