Comments Add Comment

नवौं राष्ट्रिय खेलकुद यस वर्ष नहुने लगभग पक्का

२४ मंसिर, काठमाडौं । यसै वर्ष फागुनमा गण्डकी प्रदेशमा आयोजना गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने लगभग पक्का भएको छ ।

यद्यपि राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म खेलकुद प्रतियोगिता तोकिएको मितिमा नहुने घोषणा गरेको छैन र अर्को मिति पनि तोकेको छैन । तर प्रतियोगिताका लागि  गर्नुपर्ने तयारी केही गरिएको छैन ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परियद (राखेपमा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।

राखेपको आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने  बताए ।

‘१३औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ,कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट विचलित हुने थिएनौं । यद्यपि भब्यताको कुनै कमी नरहने गरी नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने छ’ उनले भने ।

अन्तर्क्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि सञ्चालन गर्ने विषयमा ३६ वटा राष्ट्रिय संघबीच छलफल भएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । ‘ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ,कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा हामी सचेत छौं’ उनले  भने ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा व्यक्त गरे । नेपाल कबड्डी संघकी अध्यक्ष संसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सूर्य भण्डारीलगायत विभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तर्क्रिया कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment