+
+
Shares

एयरलाइन्सको जागिर छाडेर मौरी पालन

सुवास पण्डित सुवास पण्डित
२०७७ मंसिर २६ गते २०:२१

२५, मंसिर, चितवन । यति एयरलाइन्सको स्टेशन म्यानेर भएर करिब १५ वर्ष देशका विभिन्न विमानस्थलमा काम चितवन, भरतपुरका युवराज श्रेष्ठलाई २०६९ सालमा एकाएक जागिर ‘नाक’ लाग्यो । घरपायक भरतपुर विमानस्थलमै सरुवा भएर काम गर्दागर्दै उनले फ्याट्ट जागिर छाडिदिए ।

उनका बुवा कृष्णबहादुर श्रेष्ठ २०५० सालमा चितवनमा मेलिफेरा जातको मौरी भित्र्याउने तीनमध्येका एक किसान हुन् । एक घार मेलिफेरा मौरीले वर्षमा ४० किलोसम्म मह बनाउँछ । मेलिफेरा स्थानीय जातको मौरीभन्दा सुधो, घार नछाड्ने र बढी मह बनाउने हुन्छ ।

चितवनमा मेलिफेरा जातकै मौरी पालन फैलिएको छ । २०६२ सालपछि मौरी पालन ब्यापक बनेको यो जिल्लामा तीनसयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । तिमध्ये १५ जनासंग तीनसय घारभन्दा बढी मौरी छन् । कृष्णबहादुर श्रेष्ठ तिनैमध्येका एक नमुना मौरी फार्म संचालक हुन् ।

‘बुवाको मौरी पालन व्यवसाय विस्तार गर्ने कुरा मनमा गढेर बसेको थियो’, श्रेष्ठ भन्छन्, ‘त्यो कुराले पोलेपछि दायाँबायाँ कसैको कुरा नसुनी जागिरको टन्टा त्यागेर बुवासँगै काम गर्न थालेँ ।’

अहिले श्रेष्ठ बाबुछोराले महसहित मौरी पालनका सबैखाले सामाग्रीको बारोबार बढाएका छन् । भरतपुरको यज्ञपुरीमा संचालित मौरीको घार लगायत सामाग्री उत्पादन गर्ने कारखाना, विमानस्थल अगाडिको शिवशक्ति मौरी उद्योग प्रालि र थाकलटारको फार्म हाउस उनीहरुकै हो ।

सातबर्षदेखि मौरी पालन व्यवसायमा रमाएका युवराज श्रेष्ठ मूल पेसाका रुपमा कम्तीमा ५० घार मौरी पालेर राम्रो चरन व्यवस्थापन गर्न सक्दा मासिक रु.८०-९० हजार बचत ठुलो कुरा नहुने बताउँछन् । ‘जागिर खाँदा बच्ने त्यही २०-२५ हजार रुपैंया न हो’, उनी भन्छन् ।

श्रेष्ठहरु अहिले वर्षमा सरदर १२ सय घार त मौरी बेचिरहेका छन्, प्रतिघार रु.१० हजारका दरले । त्यस्तै, ३०० घारबाट १५ टन मह उत्पादन गरिरहेका छन् । मह प्रतिकिलो ६०० मा सहजै बिक्री हुन्छ । उनीहरुको वार्षिक कारोबार दुईकरोड रुपैयाँभन्दा माथि पुगेको । त्यसबाट ६० लाखदेखि ७० लाख नाफा हुने युवराज श्रेष्ठ बताउँछन् ।

‘जागिर नै खाएकै भए त यति आम्दानी सम्भव नै थिएन’, उनी भन्छन्, ‘त्यसैले मलाई जागिर छाडेकोमा कत्ति पनि पछुतो भएन ।’

चरनको चुनौती

नेपालमा चरनलाई मौरी पालन व्यवसायको मुख्य चुनौती मानिन्छ । हरेक सिजनमा मौरीलाई फरक ठाँउमा चराउन लैजानुपर्छ । बर्खाको असार-साउनमा भने चिनीको चास्नी राखेर पालिन्छ । भदौं, असोज र कात्तिकमा तोरी र चिउरी फूल्ने भएकोले पश्चिम नेपालका दाङ लगायत क्षेत्रमा लगेर चराइन्छ ।

तर, मानिसहरुले मौरी चराउन नदिने गरेको श्रेष्ठ बताउँछन् । जबकि, मौरीले बाली नास गर्दैन बरु परागसेचन गराएर उत्पादन बढाउन ठूलो भूमिका खेल्छ । ‘हामी त पुर्ख्यौली चिनजानका आधारमा चराउन लगिरहेका छौ, तर अरुले हरेक सिजनमा तनाव बेहोरेका छन्’, उनी भन्छन्, ‘थोरै-थोरै मौरी पालेका कतिपयले इलाका नै कब्जा गरेर अरुलाई दुःख दिने पनि गरेका छन् ।’

उनका अनुसार, मौरी चराएवापत सामुदायिक वनहरुले प्रतिघार दुईसयसम्म लिन्छन् । मंसिर-पुसमा चितवनको तोरी हुने तल्लो क्षेत्रमा राखेर दुईपटक मह काँढ्ने गरिन्छ । पुस अन्तिम साताबाट चिउरीलगायतका वृक्ष फुल्ने सिद्धि, शक्तिखोर, काहुँलेलगायत जिल्लाका पहाडी क्षेत्रमा चराउन निकालिन्छ ।

फागुनको अन्तिम साता सर्लाही गगायत तराई क्षेत्र लगिन्छ । पछिल्लो समय जताततै ग्रामीण सडक बनेकाले मौरी लैजान सजिलो भएको श्रेष्ठ बताउँछन् । ‘चरनको दुःख बाहेक मौरी पालनमा अरु ठूलो समस्या छैन, टाइसुट लगाएरै काम गर्न सकिन्छ’, श्रेष्ठ भन्छन् ।

सपना : एक हजार घार मौरी

युवराज श्रेष्ठको मौरीको घार संख्या बढाएर एक हजार पुर्‍याउने र मह प्रशोधन प्लान्ट राख्ने लक्षमा जमीनको अभाव तगारो बनेको छ । नमूना कृषि फार्मका रुपमा सूचीकृत शिवशक्ति मौरी उद्योग प्रालिसंग अन्य स्रोत पर्याप्त छ, तर फराकिलो जमिनको अभावले छाडेको छैन ।

आधुनिक प्लान्टमा प्रशोधन गरेर विदेश पठाउन सके नेपालमा उत्पादित महले राम्रो बजार पाउने श्रेष्ठ बताउँछन् । ‘प्याकेजिङ पनि त्यही अनुसार गरे पठाउने हो भने हाम्रो महको गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रतिस्पर्धा गर्न सक्छ’, उनी भन्छन्, ‘तर, विडम्बना के छ भने नेपालीहरु नै आयातित मह खाइरहेका छन् ।’

उनका अनुसार, नेपालको माग धान्नेगरी अझै मह उत्पादन हुन सकेको छैन । नेपालमा वार्षिक ४० लाख किलो महको माग छ, उत्पादन भने १६ लाख किलो मात्र हुन्छ ।

अहिले चितवन बाहेक नवलपरासी, कास्की, पाल्पा, पर्वत, कैलाली, जुम्ला, सर्लाही, मकवानपुर, झापा, सुनसरी, मोरङ, सुर्खेत, काभ्रे, दाङ, प्युठानलगायत जिल्लामा व्यवसायिक मौरी पालन भइरहेको छ । नेपालभर ५१ सय मौरीपालक किसान रहेको सरकारी तथ्यांक छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?