Comments Add Comment

आइतबारको बैठकमा अध्यक्ष ओली सहभागी हुनुहुन्छ : नेकपा महासचिव

सहमति जुटेन, आइतबारदेखि स्थायी कमिटी सदस्यले बोल्ने

Photo Credit : फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । गत सातादेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।

आइतबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । महासचिव पौडेलले भने, ‘भोलि बैठक बस्छ र प्रधानमन्त्रीज्यू पनि बैठकमा सहभागी हुनुहुन्छ ।’

मंसिर २१ मा धुम्बाराहीमै बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली दुईपन्ने पत्र पठाएर अनुपस्थित भएका थिए । स्थायी कमिटीको बैठक मंसिर २१ गते केहीबेर बसेर २८ गते बस्ने गरी टुंगिएको थियो ।

त्यसो त २१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएको थियो । तर, अन्तिम समयमा उनी सहभागी भएनन् र ईश्वर पोखरेलमार्फत पठाइएको पत्र बैठकमा वाचन भयो ।

यसअघि प्रधानमन्त्री ओलीले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक बस्न सुरक्षा थ्रेट रहेको बताएका थिए । त्यही कारणले गर्दा मंसिर २१ गते कार्यालयमा सुरक्षाकर्मीहरुको बाक्लो परिचालन गरिएको थियो ।

तर, ओली पक्षका एक नेताका अनुसार पार्टी कार्यालयमा अन्य सुरक्षाको समस्या नभएर स्वास्थ्य सुरक्षाको थ्रेट प्रधानमन्त्रीले ओलीले महसुस गरेका हुन् । पार्टी कार्यालयको बैठकस्थल बालुवाटारको भन्दा साँघुरो रहेकाले कोरोना संक्रमणको जोखिम रहेको ती नेताले अनलाइनखबरलाई बताए ।

मंसिर २१ यता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफलसमेत गरिने नेताहरुले बताएका थिए । यो एक साताको अवधिमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच एक्लाएक्लै भेटवार्ता पनि भयो । तर, त्यो भेटवार्ताले कुनै सहमति जुटाएन । मंसिर २४ गते बालुवाटारमा भएको दुई अध्यक्षवीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले माधव नेपालको विरोध गर्दै प्रचण्डलाई आफूसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

यसवीचमा शंकर पोखरेलले पनि खुमलटार पुगेर कार्यकारी अध्यक्ष प्रचण्डसँग सम्वाद गरेका छन् ।

बैठकको ठोस एजेण्डा छैन, नेताले बोल्ने क्रम सुरु हुने

आइतबार बस्ने स्थायी कमिटीको बैठकमा कुनै ठोस एजेण्डामाथि छलफल गर्ने कार्यसूची नै नबनेको नेताहरु बताउँछन् । मंसिर २१ यता एजेण्डा तय गर्न सचिवालयको बैठक पनि बसेको छैन ।

स्थायी कमिटी बैठकमा केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यहरुलाई ती पत्रहरु पढेर आउन भनिएकाले आइतबारदेखि नेताहरुले बैठकमा बोल्ने क्रम सुरु हुने एक नेताले बताए । उनले अनलाइनबरसँग भने, ‘भोलिदेखि स्थायी कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुन्छ । नेताहरुले बोल्ने क्रम एकै दिनमा नसकिने भएकाले केही दिनसम्म चल्छ ।’

स्थायी कमिटीमा रहेका ओली, प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले आ-आफ्नो पक्षको लविङ गर्ने निश्चित छ । त्यसैगरी आफूलाई गुट निरपेक्ष बताउने हरिबोल गजुरेल लगायतका नेताले प्रचण्ड र ओलीलाई आपसमा मिल्न जोड गर्ने तयारी गरेको नेताहरु बताउँछन् ।

गजुरेलले निर्वाचन नहुञ्जेलसम्म महाधिवशेन नगरी प्रचण्डलाई एकल अध्यक्ष बनाउनुपर्ने र केपी ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बन्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी, अर्का नेता जनार्दन शर्माले राजावादीहरुसँग ओली सरकार नरम भएको भन्दै स्थायी कमिटीको बैठकमा विशेष प्रस्ताव नै पेश गरेका छन् ।

स्थायी कमिटीको बैठक चलिरहेका बेला ओली र प्रचण्डवीचको सम्बन्ध केही नरम देखिएको र दुई नेतावीच सम्वाद पनि सुरु भएको देखिन्छ । यसबाट स्थायी कमिटीका केही नेताहरु अलिकति उत्साही पनि देखिएका छन् । तैपनि जिल्ला जिल्लामा गुटका भेला र गतिविधिहरु हुन छाडेका छैन ।

केन्द्रमा पनि आआफ्नो समूहका जमघटहरु यो साता रोकिएनन् । शनिबार मात्रै मोरङमा ओली पक्षले भेलाको आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment