
२९ मंसिर, सप्तरी । पूर्वसांसद सरिता गिरीले आफूलाई चीनको इसारामा सांसद पदबाट हटाएको आरोप लगाएकी छन् । उनले आफूलाई हटाउने विषयमा सत्तारुढ नेकपा र आफ्नो पार्टी जनता समाजवादी पार्टी मिलेको आरोप लगाइन् ।
‘आफूलाई दल त्याग ऐन अनुसार निकालेको भनिएपनि दल त्याग नगरेको सबैलाई थाहा छ’ सप्तरी सदरमुकाम राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।’
आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले बताइन् ।
‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन्’ गिरीले भनिन्, ‘तर नेताहरुले यहाँ नआउनुस् । भिडियोमै खुशियाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।’
चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।
उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई तिब्बत बनाउन खोजेको समेत उनले आरोप लगाइन् । ‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, ‘उनीहरुको यो तिब्बत बनाउने योजना हो । त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेवारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।’
मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको उनले बताइन् ।
भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको नेतृ गिरीले बताइन् । ‘नेपाल र भारतबीच रोटीबेटीको, संस्कृतिको सम्बन्ध छ’ उनले भने, ‘यो सम्बन्धलाई कसैले तोड्न सक्दैन् ।’
अदालतले पनि न्याय दिएन
आफूलाई सांसद र पार्टीको साधारण सदस्यता समेतबाट हटाइएपछि न्यायालयमा जाँदा पनि न्याय नपाएको नेतृ गिरीले गुनासो गरिन् । गिरीको पक्षमा फैसला सुनाइए महाअभियोग लगाउने भनेर बाबुराम भट्टराईले न्यायाधीशलाई धम्की दिएको उनले आरोप लगाइन् ।
‘यो देशमा सबै संयन्त्र नेताको बन्धक बनेका छन्’ गिरीले भनिन्, ‘नेताले न्यायाधीश, प्रहरीसहित राज्य संयन्त्रका कर्मचारीलाई दिनमा रात भनेपछि उनीहरुले पनि रात नै भन्छन् । त्यसैले यहाँ न्याय पाउन कठिन छ ।’
रेणुलाई खोई स्पष्टिकरण सोधेको ?
गिरीले जनता समाजवादी पार्टीकी अर्की नेतृ रेणु यादवको आलोचना गरिन् । ‘मैले केही नगर्दा पनि सांसद र पार्टीबाट निकालियो’ उनले भनिन्, ‘तर रेणु यादवले त पार्टी विभाजन गर्न लागेकी थिइन् । उनीसँग किन स्पष्टिकरणसम्म सोधिएन ?’
उपेन्द्र मधेश विद्रोहका नायक भएपनि अहिले राज्यसत्तासामु आत्मसमर्पण गरेको गिरीले बताइन् । ‘जुन राज्य सत्ताको विरोधमा लाखौं लाख मधेशीलाई उतारेर सयौंलाई शहीद बनाइयो, अहिले तीनै उपेन्द्र यादव बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठसँग मिलेर आत्मसर्पण गरिसकेका छन्’ उनले भनिन् ।
प्रतिक्रिया 4