Comments Add Comment

घुमफिर : हिँउ खेल्न चन्द्रागिरिको भालेश्वर

काठमाडौं । जाडोको मौसम शनिबारको दिन काठमाडौैं उपत्यकाका सबै डाँडाकाँडा पथप्रदर्शकहरुले भरिने गरेका छन् । हप्ताभरिको थकान भुलाउन जाने हरेक डाँडाकाँडाको धार्मिक एवं पर्यटकीय महत्व रहेको छ ।

जतिबेला काठमाडौं उपत्यका तालको रुपमा थियो । त्यतिबेला चन्द्रागिरिको काखमा पुराना बस्तीहरु बसेको हुन सक्ने अनुमान गरिन्छ । यसको वैज्ञानिक प्रमाण त पाइँदैन । तर इतिहासलाई नियालेर हेर्ने हो भने काठमाडौं उपत्यका प्रवेश गर्नुपूर्व राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहले यही डाँडामा आएर उपत्यकालाई गोरखा राज्यमा गाभ्ने पहिलो योजना बनाएका थिए ।

शास्त्रीय हिसाबमा चन्द्रागिरि क्षेत्रको महत्व

चन्दागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर नयाँ भएपनि यस क्षेत्रको शास्त्रीय महत्व भने परापूर्वकालदेखिको छ । सतिदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिको निधार पतन भएको ठाउँको रूपमा चन्द्रागिरिको उल्लेख गर्ने गरिन्छ ।

ऐतिहासिक महत्वका दृष्टिले पनि चन्दागिरि महत्वपूर्ण स्थान हो । तत्कालीन समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरको दर्शन गरेर नै उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास पाइन्छ ।

काठमाडौंको कलंकीबाट पश्चिमतर्फ १२÷१३ किलोमिटरको दुरीमा रहेको भालेश्वर र चन्द्रगिरि डाँडोसम्म पुग्नको लागि पैदलयात्रा समेत झनै रोमाञ्चक हुने गर्छ । यद्यपि त्यहाँसम्म पुग्नको लागि केबलकार र पैदलमार्ग दुवैको विकल्प रहेको छ ।

भालेश्वरको धार्मिक महत्व

दक्षप्रजापतिको यज्ञमा होमिएकी सतिदेवीको निधार पतन भएको विषयसँगै भालेश्वरसँग जोडिएको धार्मिक किंवदन्ती अर्काे पनि छ । सुमुखनामक गन्धर्वसँग भालेश्वर महादेवको प्रसँग जोडिएको पाइन्छ । भोगविलास सिध्याएर फर्कन लागेकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे । रिसाएकी रम्भाको श्रापले सुमुख मत्र्य लोकमा आउन बाध्य भए । मत्र्यलोकमा  भौतिरिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वर महादेवको दर्शन गर्ने उपदेश दिए र उपदेशबमोजिम गर्दै जाँदा भालेश्वर महादेव प्रकट भएर वर माग भनेपछि ‘हजुरको गण भई बस्न पाउँ’ भनी सुमुखले वर मागे । रम्भाले पहिले अपमान गरेकीले केही काल रम्भासँग भोगविलास गरेपछि आफ्नो गण भएर बस्न भालेश्वर महादेवले सुमुखलाई वरदान दिए भन्ने कुरा पनि हिमवत् खण्डमा उल्लेख छ ।

ब्राह्मण कुलमा जन्मिएका विरूपाक्षबाट पूर्वजन्मको फल स्वरूप विभिन्न पापकर्म एवं मात्रृगमन समेत भयो । कुष्ठरोगले ग्रस्त विरूपाक्ष यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा सुनकोसी किनारामा नेमुनिलाई भेटी उनैको उपदेशअनुसार प्रायश्चितका लागि चौसट्ठी शिवलिङ्ग दर्शन गर्न हिँडे ।

सुजन तिमल्सिना

यसरी हिँडेका विरूपाक्षले लिङ्गको दर्शन गर्दै जाँदा तीर्थमा नुहाएर भालेश्वर महादेवको दर्शन गर्दै पूजा अर्चना गरेको कुरा हिमवत् खण्डमा उल्लेख गरिएको छ । यसरी वर्णन गरिएको भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूर्ण भई अन्त्यमा शिव सायुज्य शिवलोकमा वास हुन्छ भन्ने जनश्रुति पाइन्छ ।

न्द्रागिरिको ऐतिहासिक महत्व

चन्द्रागिरि प्राचीन कालदेखि नै एक महत्वपूर्ण ऐतिहासिक स्थानको रुपमा रहेको छ । जहाँ पछिल्लो समय पृथ्वीनारायण शाहकालीन समयको इतिहासले पनि यसलाई झनै महत्वपूर्ण बनाएको छ । यही ठाउँमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधनामा साधनारत रहेर नेपाल उपत्यका एकीकरणका लागि शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास सो क्षेत्रमा पाइन्छ । भनिन्छ, नेपाल उपत्यकाका मल्ल राजाहरूले चिन्छन् कि‍ भनेर उनी घुम ओडेर चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागे भन्ने कुरा पृथ्वीनारायण शाहको उपदेशमा पाइन्छ ।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट गोर्खातर्फ फर्कँदा चन्द्रागिरि हुँदै फर्किएका थिए । उनको साथमा रहेका दुई ज्योतिषहरू भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेला नै आफ्नो राजाको इच्छा पूर्ण हुने भविष्यवाणी गरेका थिए । त्यसैले नेपाल एकीकरणको प्रारम्भविन्दु चन्द्रागिरिबाट नै सुरू भएको र त्यो इच्छा ‘भालेश्वर महादेव’ ले नै पूरा गरिदिएको जनविश्वास छ ।

प्राकृतिक हिसाबले रमणीय

यो ठाउँ प्राकृतिक हिसाबले समेत अत्यन्त रमणीय किसिमको छ । भालेश्वर मन्दिरबाट हामीबाटै हामी अन्नपूर्ण, लाङटाङ, गणेश, गौरीशंकर, सगरमाथा लगायत अनेकौं हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट नै काठमाडौं उपत्यकाको बस्तीको सुन्दर दृश्य कैद गर्न सकिन्छ ।

पूजाविधि र मेलापर्व

भालेश्वर महादेव मन्दिरमा तीन प्रहरको पूजाआजा हुने गर्छ । प्रातः ६ बजे मध्याह्न १२ बजे र साँझ सूर्यास्तको समयमा पञ्चोपचार विधिले पूजा हुने गर्छ ।

यस महादेव मन्दिर परिसरमा शिवरात्रि, फागुपूर्णिमा, नववर्ष, साउनको सोमबारलगायत विभिन्न चाडपर्वहरूमा विशेष मेला लाग्ने गर्छ । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा पहिलेसम्म दैनिक २,५०० देखि ३,००० सम्म दर्शनार्थीले मन्दिर दर्शन गर्ने गरेको मन्दिरका मुख्य पुजारी विदुर न्यौपाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment