Comments Add Comment

हुम्ला र लाप्चा नाकाबाट एक करोडको सामान भित्रियो

२ पुस, सुर्खेत । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा र लाप्चा नाकाबाट एकैदिन झण्डै १ करोड बराबरको दैनिक उपभोग्य वस्तु नेपाल भित्रिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) र हिमपातले १० महिनादेखि बन्द रहेका उक्त नाका आइतबार एक दिनका लागि खुलेर पुनः बन्द गरिएको छ ।

हिल्सा नाका भएर १२ र लाप्चा नाका भएर ४ वटा गरी १६ वटा चिनियाँ ट्रकमा दैनिक उपभोग्य वस्तु ल्याइएको हो ।

दुई नाकाबाट आएका १६ ट्रकले १ हजार ३७५ क्विन्टल पिठो र १७५ क्विन्टल चामल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री नेपाल भित्रिएको छ । उक्त सामान नाम्खा गाउँपालिकाका विभिन्न वडामा वितरण गरिने गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाको अनुरोधमा चीन सरकारले एकदिनका लागि १६ वटा ट्रकमा सामान छोडेको थियो । दुवै नाकाबाट करिब १ करोड बराबरको सामान ढुवानी गरिएको छ ।

‘हामीले चीन सरकारलाई पहिलेदेखिनै नाका खोल्न अनुरोध गरेका थियौं । ढिलै भए पनि चीनले हाम्रो कुरा सुनेको छ,’ अध्यक्ष लामाले भने, ‘यसले हामीलाई राहत मिलेको छ ।’

चीनबाट सामान नआइदिएको भए लिमीमा निकै समस्या हुन सक्ने अध्यक्ष बताउँछन् । कोरोनाको जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै ट्रक रोकिएका थिए ।

हिमपातका बेला लिमी उपत्यकाका बासिन्दा आफ्नै वरपरका बस्तीमा समेत जान पाउँदैनन्ा् । यसकारण त्यहाँका स्थानीयका लागि आवश्यक सामग्री बर्खाको समयमा लिएर भण्डारण गरिसक्नुपर्छ । यसपटक भने कोरोनाका कारण बर्खाको समयमा सामान ढुवानी गर्न सकिएको थिएन् ।

तीनवटा बस्ती रहेको लिमी उपत्यकामा १४५ घरधुरी रहेको अध्यक्ष तामाङले बताए । जसमा ७०० को हाराहारीमा जनसंख्या छ ।
गाउँपालिकाले काठमाडौंस्थित चिनियाँ राजदूतावासलाई आग्रह गरेपछि दूतावासको सिफारिसमा चीन सरकारले तीन दिनका लागि नाका खोलिदिएको थियो ।

तीन दिनका लागि नाका खुले पनि आवश्यक सामान भने एकै दिनमा आएपछि पुनः बन्द भएको अध्यक्ष तामाङले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार चीनबाट ढुवानी गरिएको सामान गाउँपालिकाले नै खरिद गरेको हो । चिनियाँ बजार ताक्लाकोटमा बस्ने नेपाली व्यापारीलाई रकम व्यहोर्न पठाइएको छ । पछि उक्त सामग्री बिक्री भएपछि ती व्यापारीहरूले आफ्नो रकम असुल गर्ने छन् ।

बर्सेनी हिउँदमा सुनसान हुने हिल्सा नाकामा यसपटक सामान्य चहलपहल छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) रहेको कारण त्यहाँ केही चहलपहल देखिएको छ । सशस्त्रले करिब ५ महिनाअघि इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment