Comments Add Comment

वाटमोरको आगमन : नेपाली क्रिकेटका लागि अवसर

२ पुस काठमाडौं । श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोरलाई नेपाली क्रिकेटको राष्ट्रिय टिमले मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो । यो अवधिमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाए । मार्चमा थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न कप खेल्दा जगत टमाटा नै प्रशिक्षक रहेन ।

कोरोना महामारीका कारण रोकिएको क्रिकेट गतिविधि मंसिर १० गतेबाट सुरू भयो । क्यानले राष्ट्रिय टिमको क्लोज क्याम्प सुरू गर्दा पनि टमाटाले नै खेलाडीहरूलाई प्रशिक्षण दिए ।

तर विश्वकप लिग २ सिरिज अगाडि वाटमोरले जिम्मेवारी सम्हाल्ने भएका छन्, जोसँग चार टेष्ट राष्ट्रको प्रशिक्षक भइसकेको अनुभव छ । सन् १९९६ मा श्रीलंकाला विश्वकप जिताउँदा वाटमोर नै प्रशिक्षक थिए । उनले आईपीएलमा कोलकता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।

पछिल्लो पटक उनी सिंगापुरका प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सिंगापुर टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा समेत पुगेको थियो ।

उनै अनुभवी वाटमोर प्रशिक्षक नियुक्त हुँदा नेपाली क्रिकेट जगत उत्साहित बनेको छ । क्यानले वाटमोरलाई एक वर्षका लागि अनुबन्ध गरेको हो र सम्झौता नवीकरण गर्ने विकल्प समेत रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । यस्तै आर्थिक विषयमा भने अहिले अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए ।

२०२१ जनवरीदेखि वाटमोरको सम्झौता लागू हुन्छ । तर क्रिसमस न्यू इयर जस्ता पर्व रहेकाले वाटमोर जनवरी पहिलो साताको अन्तिमसम्म नेपाल आइसक्ने सचिव प्याकुरेलले जानकारी दिए । प्याकुरेलले वाटमोरको नियुक्त समग्र नेपाली क्रिकेटको लागि नै उत्साहको विषय भएको बताए ।

श्रीलंकामा जन्मेर हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका वाटमोरले सन् २०१७ मा ब्याट एण्ड बल फाउण्डेसनमा निमन्त्रणामा केही समय नेपालमा आएर काम समेत गरेका थिए ।

त्यसबेला उनले नेपालका युवा खेलाडीले सबैलाई चकित पार्न सक्ने बताएका थिए ।

सन् २०२१ मा नेपालले आईसीसी विश्वकप क्रिकेट लिगको सिरिज देखि टी-२० क्रिकेटहरु समेत खेल्नेछ । यस्तै नेपाली क्रिकेट अहिले ट्रान्जिसन फेजमा रहेको र युवा खेलाडीहरु पनि धेरै रहेकोले उनको आगमन नेपालको समग्र क्रिकेट विकास र युवा खेलाडीको लागि सिक्ने ठूलो अवसर रहेको खेलाडीहरु बताउँछन् ।

वाटमोर अनुभवी प्रशिक्षक रहेको र उहाँको आगमन नेपाली क्रिकेटको लागि खुशीको खबर रहेको राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व खेलाडी शक्ति गौचनले बताए ।

ज्ञानेन्द्र मल्ल, कप्तान (राष्ट्रिय क्रिकेट टिम)

एकदमै खुशी लागिरहेको छ । उहाँ जस्तो कोच आउनुहुने भएको छ । उहाँको अन्डरमा खेल्न पाउनु राम्रो हो । उहाँको जुन अनुभव छ धेरै देशमा सफल कोचको हिसाबले पनि गइसक्नुभाछ ।

नेपाली क्रिकेट अब ओडीआईभन्दा माथि जाने सोचिरहेको बेला उहाँ जस्तो कोचको गाइडलाइन्सले पनि धेरै हेल्प गर्छ ।

अब उहाँ सुरुमा त आइसकेपछि उहाँको निर्देशन महत्वपूर्ण हुन्छ । उहाँई ब्याकअफ गर्न क्यानको पनि भूमिका हुन्छ जस्तो लाग्छ । कोच आएसकेपछि उहाँको सोच उहाँको डिमान्ड कसरी अघि भन्ने विषयमा क्यान र खेलाडीले पनि ब्याकअप गर्नुपर्छ जस्तो लाग्छ ।

एक वर्षै भएपनि उहाँ जस्तो कोच आउँदा एक वर्ष मात्र होइन अझ थप हुन्छ भन्ने विश्वास छ ।

२०२१ मा हामी सिरिजहरु खेल्दैछौँ । अब उहाँको अन्डरमा हामी सिरिज बाई सिरिज जाने हो । तपाईंले भनेजस्तै नेपाली क्रिकेट ट्रान्जिसन फेजमा पनि छ । युवा खेलाडीहरु धेरै भन्दा धेरै एक्सपोजर गराउने सेल्फ विलिभ गराउने र यो लेभलमा प्रदर्शन गराउनलाई उहाँ नै उपयुक्त पात्र हुन्छ जस्तो लाग्छ ।

शक्ति गौचन (राष्ट्रिय टिमका पूर्व स्पीनर)

वाटमोर विश्व चर्चित कोच हुन् । उहाँले सन् १९९६ मा श्रीलकालाई विश्वकप उपाधि जिताएर क्रान्ती नै ल्याउनुभएको थियो । जुन तरिका, सिस्टम वा ट्याक्टिक्स १९९६ पछि अहिलेसम्म धेरै ठाउँमा भारतमा पनि कोचिङ गरिरहनुभएको छ । मैले केही भन्नै पर्दैन उहाँ आफै नै वर्ल्ड क्लास कोच हुनुहुन्छ । उहाँ नेपालको प्रशिक्षक हुँदा धेरै खुशी छु ।

नेपाल क्रिकेटले यसअघि रोए सर पुबुदु सर कोचको रुपमा पाएको थियो । वाटमोर सरले टेष्ट प्लेइङ नेसन्सलाई कोचिङ गराएर टप लेभलमा पुर्‍याउनु भयो तयो ठूलो कुरा हो ।

वाटमोरलाई नेपालले कोचको रुपमा पाउनु भनेको मैले यसलाई ठूलो अवसरको रुपमा हेरेको छ । हामीले १० दिनसंगै उहाँसंग प्रशिक्षण लिएका थियौँ । उहाँ एकदमै इजी मानिस हुनुहुन्छ । इजी गोइङ हुनुहुन्छ । खेलाडीलाई मोटिभेट गर्नुहुन्छ ।

टप लेभलमा प्राय यही गर्नुपर्छ यही गरेर हुन्छ भन्ने त्यस्तो केही पनि हुँदैन । उहाँले खेलाडीको सहजता हेरेर जे दिन सकिन्छ त्यही गर्नुहुन्छ । प्रदर्शन भनेको आफ्नो ठाउँमा छ । उहाँले जे दिनुहुन्छ रोल त्यो अनुसार प्रदर्शन गर्नुपर्‍यो । जे होस यो एउटा ठूलो अवसर हो नेपाली क्रिकेटकै लागि ।

डेभ वाटमोर नेपालले कोचको रुपमा रुपमा पाउँदा क्रिकेट खेलाडीको रुपमा म पनि खुशी छु ।

२०१२ देखि पुबुदु सरको नेतृत्वमा काम गरेका थियौँ । उहाँले विस्तारै ग्रुम गरेर लैजानुभएको थियो । क्रिकेटको विकासको लागि समय त लाग्छ नै ।

वाटमोरसंग १ वर्षको सम्झौता रहेछ । एक वर्षमा धेरै भन्न सकिँदैन । हुनत अब सुरुवात हो । क्यानले पनि केही थप्ने योजना बनाएको होला । एक वर्षमा के गर्न सकिन्छ उहाँले भन्नुहोला । उहाँमा भर पर्छ। पारस, ज्ञानु, शरदलगायत ५० प्रतिशत खेलाडीसंग उहाँले काम गरिसक्नु भाछ ।

उहाँले अब ठूला ठूला टिमसंग काम गरिसक्नुभाछ । मैले यसो गर्ने उसो गर्ने भन्न मिल्दैन । के गर्ने भन्ने उहाँले नै डिसिजन लिने हो । त्यही हो कि अब युवा खेलाडीहरु छन्, युवाहरुलाई एकदमै ठूलो अवसर हो उहाँसंग केही कुरा सिक्नको लागि ।

उहाँ यसअघि आउँदा हामीले जति सिक्ने सिकिसकेका थियौँ । त्यसैले अहिले भने युवालाई अवसर हो । यसअघि रोय सर, पुबुदु सर आउनुभयो । बीचमा वाटमोरसंग पनि काम गर्न पाएँ । जसले उहाँसंग काम गर्न पाछैन अहिले अवसर पाउनुभएको छ । उहाँले युवाहरुको लागि योजनाहरु गेम प्लानहरु सिकाउनु सक्नुहुन्छ ।

हाम्रो लागि अवसर हो । उहाँको उपलब्धी ले नै सबै भन्छ । उहाँले आफूलाई वर्ल्ड क्लास कोच बनाइसक्नुभएको छ ।

अब काम हेर्न बाँकी छ । हाम्रो टिम अहिले ट्रान्जिसन फेजमा छौँ भन्दा हुन्छ । सिनियर खेलाडीहरु धेरै जना सन्यास लिएका छन् भने कतिपय चोटका कारण टिममा छैनन् ।

टिम राम्रो बनाउन एक दुई वर्ष लाग्न सक्छ ट्रान्जिसन पिरियड छ । यसमा चाहिँ वाटमोर सरको भूमिका धेरै हुन सक्छ । उहाँले नयाँ खेलाडीलाई कसरी अगाडि लिएर जानुहुन्छ । जति सिनियर खेलाडी बाँकी छन् पारस, शरद, ज्ञानु, बसन्तलाई कसरी लिएर जानुहुन्छ त्यसमा आगामी खेलको नतिजा भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment