Comments Add Comment

कोरोनाभन्दा शीतलहरको डर, ओढ्ने नभएपछि ताप्ने आगोको भर

तराई मधेसमा शीतलहरले लिन थाल्यो ज्यान

३ पुस, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ७, हठमुण्डाका ८५ वर्षीय मुखी सदा दुईवटा पुराना धोतीले जाडो छल्ने प्रयासमा छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम समूहमा पर्ने उनी ओढ्ने लुगाको अभावमा राती निदाउन सक्दैनन् ।

त्यसमाथि पछिल्लो एक हप्तादेखि शीतलहर थपिएको छ । ‘शीतलहर र कमला खोलाबाट आउने सिरोटोले गर्दा रातभरी सुत्न सक्दिन’ सदा भन्छन्, ‘राती चिसो बढ्दै गएपछि आगो बालेर ताप्छौं ।’

कमल खोला किनारको यो मुसहर बस्तीमा करिब सय घर परिवार छन् । यसमध्येका एक हुन रामप्यारी सदाका परिवार । सधैं छाँक टार्न समस्या हुने यिनको परिवारलाई कोरोना भन्दा चिसोको बढी पिरोलेको छ ।

‘बच्चालाई आफ्नो पुरानो साडी च्यातेर कानमा बाँधिदिने गरेकी छु’ रामप्यारी भन्छिन्, ‘सुत्नलाई बाँसको मचान बनाएका छौं । त्यसमा चार जना सुत्छौं, बाँकी चार जना भुइँमै पराल ओछ्याएर सुत्छौं ।’

कोरोना प्रभाव

यही बस्तीकी मरनी सदाको परिवारमा ८ सदस्य छन् । गत वर्ष अर्काको धान काटिदिएर छोराछोरीलाई न्यानो कपडा किनिदिएको स्मरण गर्दै उनी भन्छिन्, ‘यस पटक कोरोनाले गर्दा होला धनीहरू आफै धान काटे । कहाँबाट न्यानो लुगा किन्नु ?’

कोरोना संक्रमण फैलिन नदिन भन्दै लामो समय गरिएको बन्दाबन्दीका कारण दैनिक काम गरेर छाँक टार्नेहरूले रोजगार नै पाएनन् । रोजगार नपाउँदा पेट पाल्न समस्या भएको बेला न्यानो लुगा कहाँबाट किन्ने भन्दै उनीहरु चिन्तित छन् ।

लकडाउनको समयमा समेत स्थानीय तहको राहत पाउन नसकेका उनीहरुले जसोतसो दिन काटिरहेको बताउँछन् । ‘लकडाउनका बेला ५ किलोका दरले वडाअध्यक्षले चामल पठाएका थिए तर लिएनौं’ स्थानीय रोहित सदाले भने, ‘१४ जनाको परिवारलाई ५ किलो चामल लिएर के गर्नु ?’

वडाले समस्या सुन्नै मान्दैन

यही बस्तीकी गेनादेवी सदा गत स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी छन् । तर, उनको परिवारको अवस्था पनि अन्य मुसहरहरूको भन्दा पृथक छैन् ।

वडा सदस्य गेनादेवी सदा ।

गेनादेवीसँग ओढ्ने एउटा ब्ल्यांकेट भने छ । उनी भन्छिन्, ‘एउटा पटिया ओछ्याएर सुत्ने गरेका छौं ।’

आफूहरू समस्यामा रहेको बिषयमा वडाको बैठकमा बोल्न खोजेपनि बोल्नै नदिएको उनको भनाइ छ । ‘आफूजस्ता विपन्न दलितलाई सहयोग गरिदिन जुनसुकै बैठकमा बोल्न खोज्दा यो विषयमा बोल्न होइन भनेर रोक्छन्’ गेनादेवीको गुनासो छ ।

आधा जनसंख्या बहुआयामिक गरिबीमा

यो मुसहरवस्तीले प्रदेश २ आठै जिल्लाको प्रतिनिधित्व गर्छ । यो प्रदेशमा १२ प्रतिशत दलित समुदायका छन् ।

दलित र विपन्न गैरदलितको अवस्था हठमुण्डाको भन्दा फरक छैन । प्रदेश सरकारको तथ्यांक अनुसार यहाँ बहुआयामिक गरिबी दर ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिब भनिन्छ ।

जबकि नेपालको बहुआयामिक गरिबी दर २९ प्रतिशत भन्दा कम छ ।

प्रतिवेदन अनुसार प्रदेशको मानव विकास सूचकांकको अवस्था नेपालकै पुछारमा छ । नेपालमा शून्य दशमलव ४९० मानव विकास सूचकांकको दर रहेकोमा प्रदेशको शून्य दशमलव ४२१ प्रतिशत मात्रै छ ।

खासगरी प्रदेश २ मा प्रत्येक बर्ष शीतलहर आउने गर्दछ । तर, यसबाट बच्न कुनै बर्ष पूर्व तयारी गरिदैन् । यस पटक शीतलहरी सुरु भएको एक साता बितिसक्दा समेत पूर्व तयारी गरिएको छैन् ।

शीतलहरबाट तीनजनाको मृत्यु

शीतलहरी सुरु भइसक्दा समेत स्थानीय र प्रदेश सरकारले यसबाट बच्न पूर्व तयारी नथाल्दा मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो पटक शीतलहरीका कारण सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ । एक जनाको भने शीतलहरीबाट बच्न आगो तापिरहेको अवस्थामा जलेर मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका ५ झिझौल बस्ने छेदी यादवका २५ बर्षीय छोरा रबीन्द्र यादवको मृत्यु भएको छ । गत मंसीर २२ गते राति खाना खाएर सुतेका उनी बिहान ४ बजे उठाउन जाँदा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सोही राति मिर्चेया नगरपालिका ११ गदहबा बस्ने धर्मनाथ यादवका २५ बर्षीय छोरा अरुण यादवको पनि चिसोकै कारण मृत्यु भएको छ । छिमेकी रामबै यादवको घरमा सुतिरहेका उनलाई बिहान काका प्रमोद यादवले उठाउन जाँदा नबोलेपछि तत्काले उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । जहाँ उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

कर्जन्हा नगरपालिका १ बहेरबनीस्थित तारकेश्वर मन्दिर नजिक टहरामा पहिचान खुल्न नसकेका ५० वर्षीय पुरुषको पनि चिसोका कारण मृत्यु भएको छ । उनको मंसिर २७ गते मृत्यु भएको हो ।

जाडो छल्न सर्वसाधारण आगो ताप्ने गर्छन् । तर यो आगो पनि मृत्युकै कारण बनिरहेको छ । सिराहाकै कर्जन्हा नगरपालिका ३ बन्दीपुर बस्ने ७० बर्षीय बृद्धको जाडो भगाउने क्रममा आगो ताप्दा जलेर मृत्यु भएको छ ।

गोठघरमा बालेको आगोको घुर ताप्ने क्रममा मंसीर २८ गते जलेर गम्भीर घाइते भएका बिलटु महतोको मंसिर २९ गते किर्तिपुर अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

तीन हजार कम्बल स्टोरमा छ : प्रदेश सरकार

प्रदेश २ सरकारले शीतलहरबाट बच्ने तयारी सुरू गरिसकेको जनाएको छ । पहिलो चरणमा आठ वटै जिल्लाका विपद् व्यवस्थापन समितिहरूको बैठक बसी शीतलहरको पूर्व तयारी गर्न निर्देशन दिइसकिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव बताउँछन् ।

‘विपद् व्यवस्थापन समितिलाई स्थानीय सरकासँग समन्वय र सहकार्य गर्न निर्देशन दिइसकिएको छ’ उनले भने, “शीतलहरले धेरै समस्या देखिए प्रदेश सरकार सहयोग गर्न स्टेन्डबाइ अवस्थामा छ ।”

प्रदेश सरकारसँग ३ हजार कम्बल स्टोर रहेको भन्दै उनले विपद व्यवस्थापनमा काम गर्ने संघ–संस्थालाई पनि स्टेन्डबाइ रहन भनिएको बताए ।

यस पटक दायरा बितरणमा रोक लगाउन भनिएको बताउँदै उनले आगोको धुवाँले बिभिन्न रोग लाग्ने र मान्छेको जलेर मृत्यु समेत हुने भएकाले न्यानो कपडा मात्रै वितरण गरिने उनले बताए ।

‘यस पटक त भएन् । तर आगामी शीतलहरमा लक्षित वर्गलाई पहिचान गरी न्यानो कपडाका लागि खातामै रकम पठाइदिन्छौं’ उनले भने ।

घुमन्ते, मगन्ते, मानसिक समस्यामा परेकालाई शीतलहरबाट जोगाउने योजना समेत प्रदेश सरकारको रहेको उनले बताए । त्यसका निम्ति ‘रेन बसेरा’ प्रदेशका विभिन्न शरहरमा बनाइने योजना रहेको मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment