Comments Add Comment

पक्की घरमा बस्ने मीनाको सपना !

३ पुस, कैलाली । कञ्चनपुर बेदकोटन नगरपालिका-५ धरमपुरकी मीना चौधरीलाई दुई छाक टार्न पनि सकस छ । तैपनि, उनको मुहारमा अहिले मुस्कान भरिँदैछ ।

मीनाका श्रीमान कञ्चनपुरकै महेन्द्रनगरमा मजदुरी गर्छन् । मजदुरी गरेर आएको रकमबाट घर खर्च र सन्तान पढाउन पनि समस्या छ । पुरानो र जीर्ण घरमा २ पुस्ता बिताएका मीनालाई पक्की घरमा बस्ने ठूलो रहर थियो । उनको रहर बर्षाैंपछि पूरा हुँदैछ ।

सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारहरूलाई लक्षित गरेर घर निर्माण सुरु गरेको छ । यो क्रममा मीनाको पनि पक्की घर बन्दै छ ।

मुख्यमन्त्री नमुना आवास कार्यक्रमअन्तर्गत बेदकोट नगरपालिका-५ धरमपुरमा मुख्यमन्त्री एकीकृत बस्ती निर्माण भइरहेको छ । यहाँ २५ पक्की घर निर्माण भइरहेको हो । १ करोड १ लाख लागतमा असार मसान्त भित्रै घर निर्माण गर्ने जिम्मा नागार्जुन कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

अहिले धमाधम घर बन्दा मीना दंग छिन् । ‘हामीले पक्की घरमा बस्ने सपना मात्रै देखेका थियौं,’उनी भन्छिन्, ‘सपना पनि पूरा हुँदो रहेछ भन्ने लागिरहेको छ ।’

पक्की घर भएपछि निकै सहज हुने उनी बताउँछिन् ।

‘पहिले राम्रो घर नहुँदा धेरै समस्या थियो । हावाहुरीले उडाउँला जस्तो गथ्यो । सर्पको डर पनि उस्तै थियो,’ उनले भनिन्, ‘अब त त्यस्ता दिन गए जस्तो लाग्न थालेको छ ।’

मजदुरी गरी कमाएको रकमले कहिल्यै पक्की घर बन्न नसक्ने उनी बताउँछिन् । उनले अब शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि सरकारले ध्यान दिनु पर्ने बताइन् ।

‘घर मात्रै भएर हुँदैन, अब छोराछोरीका लागि शिक्षा स्वास्थ्य र हाम्रा लागि रोजगारीको लागि पनि सरकारले व्यवस्था गरिदिनुपर्छ’ उनले भनिन् ।

स्थानीय बाालामति डगौरा पनि अहिले दङ्ग छिन् । पुरानो र कमजोर घरमा बसिरहेकी डगौरा नयाँ घरमा बस्न पाउने दिन कुरेर बसेको बताउँछिन् ।

‘अब केही महिनाभित्रै घर तयार हुन्छ भनेका छन्’ उनले भनिन् ‘नयाँ घरमा बस्ने रहन पूरा हुने भयो ।’

उनले पनि विगतमा गतिलो घर नहुँदा निकै समस्या झेल्नु पर्‍यो । ‘घर नबन्दा धेरै समस्या थियो । हावाहुरी र र पानी पर्दा ज्यान जोगाउनै समस्या हुन्थ्यो’ उनले भनिन् ‘अब हाम्रा पनि राम्रा दिन आउन लागेजस्तो लागेको छ । ’

स्थानीय लक्ष्मी दमाईको हर्ष पनि मीना र बालामति भन्दा कम छैन । उनको समस्या पनि ती दुईको जस्तै छ । उसो त यहाँ रहेका सबै स्थानीयको समस्या उस्तै उस्तै छ ।

‘धेरै खुसी छौँ,’ उनले भनिन्, ‘ धेरै समस्या थियो । अब हट्दै जानेछ ।’

लामो समयदेखि बस्दै आएका धरमपुरका विपन्न, घरबारविहीन नागरिकले पक्की घरमा पाउने भएपछि हर्षित भएका हुन् ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरिबको लागि भन्दै २ कोठा सम्म र १ शौचायलसहितको घर तयार गर्न लागेको हो ।

नमुना आवास बस्तीमा अहिले अन्य निकायहरूले पनि गरिबका घर बनाइरहेका छन् । ५ वटा भवन तराई मधेस समृद्धि कार्यक्रम र बेदकोट नागरपालिकाले बनाउँदैछ । यस अघि ८ वटा भवन संघीय सांसद नरबहादुर धामीको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको छ । त्यहाँ ८ वटा शौचालय बेदकोट नगरपालिकाकाले बनाउँदैछ । मुख्यमन्त्री एकीकृत बस्तीले २५ वटा घर निर्माण गरिरहेको छ भने एक गैरसरकारी संस्थाले पनि ५ वटा घर निर्माण गरिदिने भएको छ ।

‘विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट यहाँ ४३ पक्की घर बन्दैछन्’ बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भने ‘यहाँ वटा ८१ भवन बनाउने हाम्रो योजना छ । ’

समयमै सम्पन्न गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विपन्न, घरबार विहीन नागरिकका लागि प्रदेश सरकारले तयार गर्न लागेको घरहरू समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले तोकिएको समयमै भवन सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गर्न आग्रह गरे । मुख्यमन्त्री भट्टले प्रदेशका सबै जिल्लाहरूमा मापदण्ड अनुसार गरिबको लागि सरकारले भवन निर्माण गरिदिने बताए ।

‘प्रदेशका ९ वटै जिल्लामा यस्ता बस्ती निर्माण गरिने छ’ उनले भने ‘घर विहीन भएका सीमान्तकृत वर्ग र कमजोर आर्थिक अवस्था भएका नागरिकलाई हामीले पक्की घर बनाउने छौँ ।’

मुख्यमन्त्री भट्टले नयाँ ढङ्गले बस्ती विकास गरिने बताए । ‘अव्यवस्थित बस्तीकै कारण पछिल्लो समय पहाडी जिल्लामहरुमा पहिरो बढ्न थालेको छ’ उनले हामी ‘हामी व्यवस्थित आवास निर्माणमा छौँ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कञ्चनपुरसँगै डोटीमा पनि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढिरहेको बताइन् । उनले भनिन्, ‘अहिले कञ्चनपुर र डोटीमा चहिलरहेको छ । अब कैलालीको भजनीमा रहेका राजी समुदायका घरहरू पनि बनाउने योजनामा छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment