Comments Add Comment

कान्ति बाल अस्पतालमा एमआइएस-सीका कारण बालकको मृत्यु पुष्टि

६ पुस, काठमाडौं । काठमाडौंको कान्ति बाल अस्पतालमा ४ दिनअघि एक बालकको मृत्यु भयो । कोरोना संक्रमण भई निको भएका ती बालकमा ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआइएस—सी) को समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

४ दिन हृदयघात भएर अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार १३ वर्षीय ती बालकमा श्वासप्रश्वासमा समस्या थियो भने मुटुले रगत प्रवाह गर्न नसक्ने अवस्थामा अस्पताल ल्याइएका थिए ।  ‘सम्भवत नेपालमा एमआइएस—सीका कारण मृत्यु हुने यो पहिलो बालबालिकाको केस हो’ उनले भने ।

कान्ति अस्पतालमा उपचार गर्न आएका अन्य ५ बालबालिकामा पनि एमआइएस—सीको लक्षण देखिएको थियो । कोरोना भाइरससंगै जोडिएर आएको यो रोग किन लाग्छ भन्ने यकीन नभएको डा. पौडेलले जानकारी दिए । उनका अनुसार कान्तिमा उपचारका लागि आएका २ देखि १३ वर्ष उमेरका बालबालिकालाई यस्तो जटिलता देखिएको छ ।

कोरोना भाइरस संक्रमणमुक्त भएर पनि लामो समयसम्म ज्वरो आउने, आँखा र जिब्रो रातो हुने, झाडापखाला लाग्ने, टाउको दुख्ने तथा छालामा खटिरा आउने जस्ता समस्या देखिन थालेमा एमआइएस सी को लक्षण सम्झिनुपर्छ । कान्तिमा उपचारत ५ जना बालबालिकामा पीसीआर रिपोर्ट नेगेटिभ तर एण्टीबडी पोजेटिभ देखिएको डा. पौडेल बताउँछन् । उनीहरुमा कुनै न कुनै समय कोरोना भाइरसको संक्रमण थियो र त्यसले नै जटिलता ल्याएको बुझिन्छ । पौडेल भन्छन्, ‘उनीहरुको परिवारमा कोरोना पोजेटिभ भएको हिस्ट्रीसमेत देखिन्छ ।’

डा. पौडेलले अस्पतालमा आएकामध्ये दुई बच्चामा उच्च ज्वरो, एकमा रक्तअल्पता, हार्ट फेलियर, श्वास प्रश्वासमा समस्या रहेको बताए । उनका अनुसार १ जना बालक अहिले उपचारमा रहेका छन् भने ३ जनालाई उपचारपछि घर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment