+
+
Shares

पार्टी बनिनसक्दै ओली समूहमा असन्तुष्टि

आसेपासेको घेराबन्दी र निषेध गर्ने प्रवृत्ति मुख्य समस्या : विजय सुब्बा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ पुष ९ गते २०:४४

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहभित्र नयाँ पार्टी निर्माण नहुँदै असन्तुष्टि देखा परेको छ ।

एकातिर, ओली समुहले केन्द्रीय सदस्य बनाएका नेताहरुबाट भटाभट पद अस्वीकार भइरहेको छ भने अर्कोतिर, प्रधानमन्त्रीका आसेपासेहरु नयाँ पार्टी निर्माणमा ‘बाधक’ बनेको गुनासाहरु व्यक्त हुन थालेका छन् ।

आफूलाई प्रधानमन्त्री ओलीको समर्थक बताउने नेता बिजय सुब्बा पार्टी फुट्नुमा शीर्ष नेता (प्रधानमन्त्री ओली)का आसेपासेहरुको भूमिका रहेको बताउन हिचकिचाउँदेनन् । ती को–को हुन् भनेर खोल्न भने उनी चाहँदैनन् ।

‘मैले पहिल्यै फुट्छ भनेकै थिएँ नि । अन्ततः मेरो पार्टी फुट्यो’, सुब्बाले फेसबुकमा लेखेका छन्, ‘तर पार्टी फुट्नुको एउटा कारण आसेपासेको अनावश्यक घेराबन्दी र अरुलाई निषेध गर्ने जुन प्रवृत्ति थियो त्यो अझै देखिनु नयाँ पार्टी निर्माण र विस्तारमा बाधक बन्ने भयो ।’

नेता सुब्बाले फेसबुकमा जे लेखेका छन्, त्यो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले भन्दै आएको वा लगाउँदै आएको आरोप हो । प्रधानमन्त्री ओलीले निरन्तर आफुहरुलाई र पार्टी पद्धतिलाई निषेध गरेका कारण नेकपा पार्टी फुटको अवस्थामा पुगेको प्रचण्ड–नेपाल पक्षको भनाई छ ।

ओली समुहमा रहेका नेता सुब्बा प्रचण्ड–नेपाल पक्षको कुरा फेसबुकमा लेखिरहेका छन् र नयाँ पार्टी निर्माणमा तिनै आसेपासे बाधक बन्ने भए भनेर चिन्ता जनाइरहेका छन् ।

प्रधानमन्त्रीको आसेपासेहरुका कारण कतिपय नेता प्रचण्ड–नेपाल पक्षमा गएको, प्रचण्ड–नेपाल पक्षका आसेपासेकाहरुका कारण कतिपय नेता ओली समुहमा आएको सुब्बाको विश्लेषण छ ।

‘आसेपासेको व्यवहारका कारण उताको पनि यता आए, यताको गए’ सुब्बाले अनलाइनखबरसंग भने, ‘यहाँ राम्रो गर्दैनन्, यिनिहरु खराब छन् भनेर पनि नेताहरुले कता, कता जाने निर्णय लिएका छन् ।’

नेता सुब्बासंग अनलाइनखबरले गरेको कुराकानी :

फेसबुकमा आसेपासेहरुका कारण पार्टी फुट्यो र उनीहरु नयाँ पार्टी निर्माणमा पनि बाधक बने भन्नुभएको छ । अझ प्रष्ट पारिदिनुस् न ।

मैले पहिले देखि नै पार्टी फुट्छ भनेको थिएँ त्यहि लेख्या हो । प्रधानमन्त्री वरीपरी हुनेहरुले पहिले जे गर्दथे, त्यो पनि पार्टी फुटाउने कारक बन्यो । घेराबन्दी र अप्ठ्यारो अहिले पनि देखिँदैछ । त्यसले नयाँ पार्टी बनाउनको निम्ति समस्या सिर्जना गर्छ । मैल भनेको यत्ति हो ।

सिधै भन्दा प्रधानमन्त्रीका आसेपासे या शीर्ष नेताहरुको वरीपरी भएकाहरुले पार्टी फुटाए हैन ?

पार्टी फुटाउनमा त भारत र अमेरिका छँदैछन् नि । शीर्ष नेताहरुको घेराबन्दीवाला साथीहरु पनि कारण भए भनेको ।

नयाँ पार्टी निर्माणमा उनीहरु नै बाधक बने भन्ने तपाईंको भनाइ हो ?

आसेपासेहरुको अनावश्यक घेराबन्दी र अरुलाई निषेध गर्ने प्रवृति कायम रह्यो भने नयाँ पार्टी बनाउन समस्या हुन्छ । यसले समस्या हुने भयो भनेको ।

नयाँ पार्टी बनाउन तपाईंहरुको एउटा मात्र गुट कसरी समस्या हुन्छ ?

मैले पहिलाको प्रवृतिको कुरा गरेको । त्यो प्रवृति रह्यो भने समस्या त हुन्छ नै ।

तपाईं वालुवाटार, प्रधानमन्त्री नजिकको मान्छे ….

म वालुवाटार नजिकको मान्छे होइन, वालुवाटार समर्थक मान्छे । प्रधानमन्त्रीको समर्थक ।

समर्थकले भनेको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउन आसेपासेले रोके ?

पार्टी फुट्नुको कारण यो मात्र होइन, भित्रि कारणहरु पनि अरु थुप्रै छन् । अहिले पार्टीमा को कता लाग्ने भन्ने निर्णय गर्दा आसेपासेहरुको व्यवहार नराम्रो भएको कारणले गर्दा कतिपय नेताले अन्तै लाग्ने निर्णय लिएका छन् । यिनिहरु खराब छन् भनेर निर्णय लिएका छन् ।

प्रधानमन्त्रीको आसेपासेका कारण प्रचण्ड–नेपाल पक्षमा नेताहरु गए होइन त ?

आसेपासेको व्यवहारका कारण उताको पनि आए । यताको पनि गए ।

आसेपासेले समस्या पार्यो भनिरहने, कि केही गर्ने ?

मैले के गर्ने ? बोल्ने हो, अरु के गर्न सक्छु र ! अनावश्यक घेराबन्दी गर्ने साथीहरु छन्, त्यो कारणले नयाँ पार्टी निर्माणमा समस्या खडा हुन्छ । त्यसमा ध्यान दिनुपर्छ, जोगिनुपर्छ भन्ने मेरो कुरा हो ।

केन्द्रीय सदस्य पद अस्वीकार गर्ने बढे

ओली समुहले धेरै कार्यकर्तालाई आफुतिर पार्न ११९९ सदस्यीय केन्द्रीय कमिटी बनायो । तर, बिना परामर्श केन्द्रीय कमिटीमा मनोनित गरेको भन्दै एकपछि अर्कोले पद अस्वीकार गरिरहेका छन् ।

कसैले विज्ञप्ति निकालेर, कसैले सामाजिक सञ्जालमा लेखेर, कसैले नेताहरुलाई सिधै फोन गरेर केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

गत संविधानसभामा सदस्य रहेका नेकपाको ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले बुधबार प्रेस विज्ञप्ति जारी गरेर ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरे । उनले आफू प्रचण्ड–माधव समूहमा रहेको बताएका छन् ।

यस्तै, प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनका कारण जनता रोइरहेको भन्दै ओली समुहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

प्रदेश १ का सांसद रहेका झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै फेसबुकमा लेखेका छन्– कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे । हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र… । यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ । तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मञ्जुर छैन, धन्यवाद ।’

यस्तै, उदयपुरको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि आफुलाई नसोधी केन्द्रीय कमिटिमा राखेको भन्दै अस्वीकार गरेको बताएका छन् ।

प्रदेश २ का सांसद रहेका बारा जिल्ला सचिव सुन्दर विकले आफूले केन्द्रीय सदस्य मनोनित गरेको सञ्चार माध्यमबाट थाह पाएको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

प्रदेश २ को नेपाल ट्रेड यूनियन महासघं अध्यक्ष कमलेश झाले पनि ओली समुहको केन्द्रीय सदस्य पद स्वीकार गर्न नसकिने भन्दै विज्ञप्ति निकाले ।

त्यस्तै, नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारी, बृहस्पति अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?