Comments Add Comment

ओलीमाथि आरोपको वर्षा : गोर्भाचोभदेखि गोमन सापसम्म !

प्रचण्डले भने- एमाले फुटाउने केपीजी हो, म होइन

१० पुस, काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल शुक्रबार माइतीघर मण्डलामा पलेटी मारेर बसेको तस्वीरले धेरैको ध्यान खिच्यो । पाँच वर्षलाई स्थिर सरकारको जनमत प्राप्त दलका शीर्षनेताहरु सडकमा पलेटी मार्न पुग्नुले अहिलेको राजनीतिक संकटबारे त प्रष्ट पारेको छ नै, सँगै आगामी राजनीतिक घटनाक्रम कसरी बढ्ला भन्ने पनि थोरै संकेत दिएको छ ।

‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्डसहित पलेटी मारेर प्रचण्ड र माधव समूहले दिन खोजेको सन्देश भने दुईवटा छन्- संसद पुनस्र्थापनाका लागि दबाव सिर्जना गर्ने । र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता आफूले लिने ।

मुल ४४५ मध्ये २९५ केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर पत्रसहित निर्वाचन आयोगमा पुगेर प्रचण्ड र माधव नेपालले निर्वाचन आयुक्तहरुसँग आफूहरु नै नेकपा भएको दाबी गरे । प्रचण्डले विगतका नजीर र निर्णयहरु सुनाउँदै भने, ‘स-शरीर आउनुपर्ने हो भने पनि स-शरीर आउँछौं । पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीको दुईतिहाइ हामीसँग छ ।’

प्रचण्डको तर्कलाई बलियो बनाउँदै माधव नेपालले त संविधान लेख्नेहरु नै आएकाले चाँडो वैधानिकता टुंग्याउनुपर्ने अभिव्यक्ति दिए । ‘नेकपा र निर्वाचन चिन्ह सूर्यमा कसैले आँखा नलगाओस् । दुईवटा त संविधान लेेखेको मान्छे यहाँ छौं । मलाई विश्वास छ, प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिन्छ।’, नेपालले दबावकै शैलीमा भने ।

माइतीघर मण्डलाबाट प्रचण्ड र माधव समूह नारा जुलुसका साथ हिँडेरै आयोगको कार्यालय पुगेको थियो ।

यो समूहले एउटै प्रकृतिको गतिविधिबाट दुई उद्देश्य पूरा गर्ने नीति लिएको छ । त्यो भनेको भेला, प्रदर्शन र बैठक गर्दा संसद पुनस्र्थापनालाई दबाव पुग्नेछ भने केपी शर्मा ओलीसँग सम्बन्धविच्छेद गर्दै अलग्गै पार्टी निर्माणमा पनि सहयोग हुने छ ।

आयोगबाट फर्किएर बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यो उद्देश्य प्रट्याउँदै पुस ८ मा सकिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु सार्वजनिक गरे ।

चरणवद्ध कार्यक्रम तालिका सार्वजनिक गरेको यो समूहले विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत सावित गर्ने र आफ्नो समूहलाई सशक्त बनाउने नीति अपनाएको देखिन्छ । बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुको अभिव्यक्तिले पनि त्यही प्रष्ट पार्छ ।

नेकपा कसरी विभाजित हुन पुग्यो ? संसद विघटन गर्ने निर्णयमा ओली कसरी पुगे ? जस्ता लामो घटनाक्रमबारे आधा घण्टा बढी समय खर्चिएका प्रचण्डले ओलीलाई संघीयताविरोधी, एउटा भन्ने र अर्को गर्नेजस्ता आरोपहरु लगाए ।

गोर्भाचोभदेखि गोमन सापसम्म !

प्रचण्डले भन्दा अझ अगाडि बढेर माधव नेपाल र झलनाथ खनालले ओलीलाई कठोर आरोपहरु लगाए । पत्रकारहरुको प्रश्नमा छोटो जवाफ दिएका नेपालले ओलीमाथि आरोपका वर्षा नै गरे । कतिसम्म भने नेपालले ओलीलाई नेपालमा कम्युनिष्ट आन्दोलन नै सिध्याउने पात्रका रुपमा चित्रित गर्दै उनले गोर्भाचोभसँग तुलना गरे ।

हाम्रो देशमा पनि गोर्भाचोभको जन्म भएको त छैन ? गोर्भाचोभले सोभियत युनियन र कम्युुनिष्ट पार्टीलाई सिध्याइ नै दिए । हेर्दै जानुहोला, केपी शर्मा ओलीजीले कम्युनिष्ट आन्दोलन सिध्याइदिने हो’, अध्यक्ष नेपालले भने ।

ओलीमा अहम कायमै रहेकाले पतनको बाटोमा जाने नेपालले निष्कर्ष नै सुनाए । ‘केपी ओली कम्युनिष्ट विचारबाट, आचरणबाट, कम्युनिष्ट शैली, कम्युनिष्ट तौरतरिकाबाट, विचलनका बाटोमा, पतनको बाटोमा छन्’, नेपालको भनाइ थियो ।

ओलीले संघीयता विरोधी, गणतन्त्र विरोधी र जालझेलमा विश्वास गर्नेमा तीनैजना नेताहरुको साझा निष्कर्ष थियो । ‘गणतन्त्र विरोधी मान्छे हो, साक्षी यही छौं, पूर्वएमालेका । गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक मत राख्ने मान्छे (ओली) हो’ माधवले भने, ‘त्यसो हुँदा गणतन्त्रप्रति कुनै माया ममता छैन । संघीयताको पनि विरोधी हो, उहाँ । लोकतान्त्रिक मूल्य र मान्यतालाई धज्जी उडाइदिनुभएको छ ।’

ओलीलाई नेपालले तानाशाही नै सावित गरे । तानाशाही प्रवृत्ति भएको मान्छेलाई बैठकले एलर्जी हुन्छ । विचार र बहस मन पराउँदैन । आफूले छोड्नुपरे, कुर्सी नै भाँचिदिन्छु भन्छन्, नेपालको भनाइ थियो ।

ओलीमा बा प्रवृत्ति देखिएकाले त्यस विरुद्ध लड्नुपर्ने नेपालको भनाइ थियो, ‘उहाँलाई मनपर्ने एउटै कुरा हो, केपी बा ! केपी बा प्रवृत्तिका विरुद्धमा जुधिएन भने यो संस्कारका विरुद्धमा जुधिएन भने दास भएर बस्नुपर्ने हुन्छ । र, कम्युनिष्ट पार्टीलाई दासता स्वीकार्य छैन ।’

अहिलेको लडाइँ दासता र स्वाधीनताबीच, लोकतन्त्र र अधिनायकवाद बीच, कम्युनिष्ट विचार र सामन्ती सोचबीच भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।

अर्का पूर्वप्रधानमन्त्री खनालले त केपी ओलीलाई गोमन सापकै संज्ञा दिए । ‘एमालेको आठौं महाधिवेशनले मलाई अध्यक्ष बनायो, उहाँ पराजित हुनुभयो । त्यसैको बदला पार्टी एकतापछि लिन थाल्नुभयो’ खनालले उदाहरण नै दिए, ‘उहाँ त गोमन साप नै हुनुहुँदोरहेछ ।’

ओलीमाथि खनालको आरोप पनि भाषा र प्रस्तुति फरक भएपनि अध्यक्ष नेपालसँगै धेरै मिल्दो थियो । नेकपा विभाजन संविधानले नै नदिएकाले ओलीले पार्टी छाडेर जाने खनालको टिप्पणी थियो ।

एमाले फुटाउने केपी हो, म हैन : प्रचण्ड

प्रचण्डको आरोप पनि कडा नै थियो । ओलीलाई सधैं जालझेलमा मात्रै विश्वास गर्ने आरोप लगाएका थिए । पत्रकारहरुको प्रश्नमा प्रचण्डले ओलीकै कारण एमाले विभाजन भएको आरोप लगाए । ‘नवौं महाधिवेशनपछि माधवजी र ओलीजीको पक्ष रहेछ । एकता भएपछि मेरो जोड यो दुई पक्षबीच कसरी संयोजन गर्ने भन्ने होला भन्ने रहृयो’ प्रचण्डले भने, ‘केपीजीको चाहना माधव पक्षका जिल्लामा पनि नआओस्, केन्द्रमा पनि कम होओस् । प्रदेशमा नरहोस् । जनसंगठनको नेतृत्वमा नआओस् भन्ने चाहने रहृयो ।’

तर, आफूले भने माधव नेपाल पक्षलाई पनि उत्तिकै स्पेस दिन खोजेको उनले बताए । केपी ओलीलाई त्यही मन नपरेको प्रचण्डले बताए । ‘त्यसकारण एमाले फुटाउने केपीजी हो, म होइन’, उनले भने ।

ओलीलाई प्रचण्डले बुर्जुवाको आरोप लगाए । ‘बुर्जुवा प्रवृत्तिमा मिठो कुरा गर्दै, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । देेख्न पनि सक्दिनँ भन्नुहुन्छ । तर, भ्रष्टाचारीलाई मज्जाले संरक्षण गर्नु हुन्छ, भित्रबाट’, प्रचण्डको भनाइ थियो ।

प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगबारे भने आशायुक्त अभिव्यक्ति दिएका थिए । सर्वोच्चले विगतमा पनि न्यायोचित फैसला गर्नेगरेकाले यसपटक पनि असंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको निर्णय सच्चिने आशा गरेका थिए ।

नेकपाको वैधानिकता आउनेमा पनि प्रचण्डले आयोगप्रति सन्तोष नै व्यक्त गरे । तर, अहिले जसरी गैरसंवैधानिक कदम चालिएको छ, यसको असर आयोगमा पर्ला कि भन्ने भय रहेको सन्देह पनि प्रचण्डको थियो ।

यो पनि पढ्नुहोस माइतीघरमा नेकपाका सांसदको प्रदर्शन : हामी यहाँ छौं ! यो पनि पढ्नुहोस निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूहका नेताहरु यो पनि पढ्नुहोस संसद विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल सडकमा (फोटो फिचर) यो पनि पढ्नुहोस सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल यो पनि पढ्नुहोस पार्टी वैधानिकता विवाद चाँडो टुंग्याइयोस् : प्रचण्ड यो पनि पढ्नुहोस नेकपाको वैधानिक विवाद निरुपण शुरु भयो : प्रमुख निर्वाचन आयुक्त यो पनि पढ्नुहोस अदालतप्रति भरोसा छ, संसद विघटनलाई असंवैधानिक भन्छ : प्रचण्ड यो पनि पढ्नुहोस बादलबारे प्रचण्डको टिप्पणी : झुक्किएर उता पुग्नुभएको होला, यता आउनुहुन्छ यो पनि पढ्नुहोस केपी ओली गणतन्त्र र संघीयता विरोधी हुन् : माधव नेपाल यो पनि पढ्नुहोस केपी ओली गोमन साप जस्तै हुनुहुँदो रहेछ : झलनाथ खनाल यो पनि पढ्नुहोस माधव नेपालको प्रश्न : नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको होइन ? यो पनि पढ्नुहोस अब छिट्टै वालुवाटारमा हाम्रो प्रधानमन्त्री हुनेछ : योगेश भट्टराई यो पनि पढ्नुहोस पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment