
१२ पुस, काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ ।
संखुवासभामा समूहका नेता, कार्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको घटनाबारे विज्ञप्ति जारी गर्दै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको बताएका हुन् ।
संखुवासभाको चैनपुर–४, मैदानीस्थित एक घरमा जिल्ला सेक्रेटरी युवराज राई बसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो । त्यसक्रममा घर पछाडिको जंगलमा रहेका राईसहितका समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेको भनिएको छ ।
तर, समूहले भने घटनामा दोहोरो भिडन्त नभएको बताएको छ । प्रकाण्डले भनेका छन्, ‘यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।’
देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको घटनाले पार्टीलाई गम्भिर बनाएको समेत प्रकाण्डले बताएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत समबन्धित सबैमा जानकारी गराउँदछौं ।’
प्रतिक्रिया 4