Comments Add Comment

पाथिभरा क्षेत्रको आगो निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

१३ पुस, काठमाडौं । ताप्लेजुङको चर्चित मन्दिर क्षेत्र पाथिभरामा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव भएको छैन ।

आइतबार भने यहाँ हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका अनुसार ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।

जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले जानकारी दिए । हेलिकोप्टर काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण गरेको थियो । त्यहाँ नगरपालिकाको दमकलले पानी लिएर गएको थियो ।

तर, हेलिकोप्टरको पानी बोक्ने उपकरणमा पानी राख्न नमिलेपछि पोखरीबाट पानी उबाउने निर्णय लिइएको उपमेयर भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय जोरपोखरी भन्ने स्थानबाट हेलिकोप्टरले पानी भरेको थियो । त्यसपछि आगोलागी भएको ठाउँमा माथिबाट पानी झारिएको थियो । यद्यपी हेलिकोप्टरको प्रयोगले कति आगो नियन्त्रण भयो भन्ने यकिन भने नभएको उनले जानकारी दिए ।

सिम्रिक एयरका अनुसार क्याप्टेन सुरेन्द्र पौडेलले एरियल फायरफाइटिङ मिसनको नेतृत्व गरेका थिए । सिम्रिकले आधा दर्जन पटक आगोलागी भएको क्षेत्रमा पानी खन्याएको छ ।

कमपनीका अनुसार हेलिकोप्टर सुकेटार विमानस्थलमै राखिएको छ । आवश्यकता अनुसार मंगलबार समेत यो मिसन जारी रहने भएको छ ।

खासगरी पाथिभरा क्षेत्रको मूख्य मन्दिर र यस आसपासका संरचना जोगाउन हेलिकोप्टरको प्रयोग गरिएको उपमेयर भट्टराईले जानकारी दिए ।

मूख्य मन्दिर सुरक्षित

पाथिभरा क्षेत्रमा ९ पुसदेखि आगो शुरु भएको हो । उक्त दिन स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको आगो १० गतेबाट पुनः शुरु भएको थियो । आगो ११ पुसमा थप बिस्तार भएको र आज मूख्य मन्दिर र त्यसका संरचनातर्फ नै अगाडि बढेपछि चिन्ता बढेको उपमेयर  भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगोलागी नियन्त्रणमा आइसकेको छैन । यद्दपी पाथिभरा माताको मूख्य थान र यस आसपासको क्षेत्र भने सुरक्षित छन् ।

पाथिभरा थानको तल गुफामा रहेको पुरानो थान र त्यहाँ भएका संरचना भने जलेका छन् । पुनारो जंगल र सुख्खायाम भएका कारण आगोलागी नियन्त्रणमा समस्या आएको उनले जानकारी दिए ।

तस्वीर : सिम्रिक एयर 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment