+
+
पठाओ भर्सेस राइडर :

कमिसन घटाउन कार्यालयमा तोडफोड, संलग्नलाई सेवामा प्रतिवन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते २१:०५

१४ पुस, काठमाडौं । छाटो समयमै सफलता पाएको राइड सेयरिङ ‘पठाओ-नेपाल’मा कम्पनी र राइडर एउटै मोटरसाइकलका दुई पाङ्ग्रा जस्तै हुन् । तर अहिले कम्पनी र राइडर आमनेसामने भएका छन् ।

सोमबार त राइडरहरुको एउटा समूहले मध्यबानेश्वरस्थित पठाओ नेपालको कार्यलयमा ढुंगामुढा गरेका छन् । कम्पनीले असन्तष्टहरूको समूह सानो रहेको बताएको छ भने विभिन्न माग उठाउनेहरू सबै राइडरको प्रतिनिधि आवाज बोलेको बताउँदैछन् ।

अघिल्लो सोमबार विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका राइडरहरु आज फेरि कम्पनी घेर्न पुगेका थिए । कार्यालय बाहिर जम्मा भएका उनीहरुलाई सम्बोधन गन आएका कम्पनीका प्रतिनिधिलाई दुर्ब्यवहार गर्दै तोडफोडमा उत्रिएपछि प्रहरी पुग्नुपर्‍यो । प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर बानेश्वर बृत्तमा राखेको छ र अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

के हो विवाद ?

पठाओ, नेपालमा धेरै प्रयोगकर्ता भएको राइड सेयरिङ एप हो । कम्पनीका अनुसार ७५ हजार राइडर आवद्ध भइसकेका छन् भने पठाओ एप प्रयोगकर्ताको संख्या १२ लाख नाघेको छ । जसरी प्रयोगकर्ता र राइडर बढ्दै गएका छन्, त्यही अनुपातमा असतुष्टि पनि बढ्दै गएको छ ।

पछिल्लो समयमा कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राखेर नयाँ नयाँ नियम लगाएको छ । यसमा राइडरहरुको असन्तुष्टि छ । सबैभन्दा ठूलो असन्तुष्टि कम्पनीले लिने कमिसनमा छ । राइडर मन्जिल राय -नाम परिवर्तन)का अनुसार उनीहरुले यसबारे कम्पनीको पटक-पटक ध्यानाकर्षण पनि गराएका हुन् ।

अहिले कम्पनी कमिसन २० प्रतिशत छ । यसो गर्दा कम्पनीले धेरै नाफा कमाउने, तर आफूहरु आर्थिक समस्या परेको राइडरहरुको गुनासो छ । त्यसैले कम्पनी कमिसन ८ प्रतिशतमा झार्न माग गरेका छन् ।

कम्पनीले तोकेका नियमहरु उल्लंघन गर्दा कम्पनीले गर्ने कारबाहीबारे पूर्व जानकारी दिनुपर्ने, कस्टमर केयर सेन्टरको फोन टोल पि|m हुनुपर्ने लगायतका ११ बुँदे माग राइडरहरुले अघि सारेका छन् ।

तर, पठाओ नेपाल सबै माग पुरा गर्न तयार छैन । कम्पनीले कम्पनीले सोमबार मात्र राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लाखको दुर्घटना बिमा गर्ने घोषणा गरेको छ । निलम्बन प्रक्रियालाई केही सहज बनाउन पनि कम्पनी तयार देखिएको छ, तर यात्रुको सुरक्षालाई ध्यानमा राखेर राइडरहरुको कतिपय माग पुरा गर्न नसकिने पठाओले बताएको छ ।

तोडफोड गर्नेलाई आजीवन प्रतिवन्ध

राइडरहरुको केही माग सम्बोधन गर्दागर्दै पनि कार्यालयमा तोडफोड भएपछि पठाओ नेपाल रुष्ट बनेको छ । उसले तोडफोडमा संलग्न राइडरहरुलाई आफ्नो प्लेटर्फममा आजीवन प्रतिवन्ध नै लगाउने तयारी गरेको छ ।

असन्तुष्टि पोख्ने नाममा आपराधिक गतिविधि गरेको भन्दै पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत तोडफोडमा संलग्नलाई सँधैका लागि निलम्बन गर्ने बताउँछन् । कम्पनीको नियम उल्लंघन गर्दा पटक-पटक निलम्बन गरेका राइडरहरु योजनाबद्ध रुपमा तोडफोडका लागि आएको पाइएको उनले बताए । उनले भने,’उच्छ्रृंखल गतिविधिमा संलग्न हुनेलाई अब हाम्रो प्लेटर्फमबाट ब्लक गर्छौं ।’

बस्नेतका अनुसार सोमबार कार्यालय तोडफोड भइरहँदा पनि ७ हजार राइडरले सेवा दिइरहेका थिए । र, असन्तुष्ट राइडरहरुले कम्पनीसँग आवद्धता तोडेपनि फरक नपर्गे उनको दाबी छ । ‘हामीले कसैलाई जबरजस्ती हाम्रै प्लेटर्फममा आउनुस् भनेका छैनौंं । यदि हाम्रो शर्तहरु स्वीकार्य छैन भने अन्यत्र गए हुन्छ’ पठाओ नेपालका क्षेत्रीय निर्देशक बस्नेतले भनेका छन् ।

राइड सेयरिङ स्वेच्छिक रोजगारी भएकाले राइड दिने/नदिने, कतिबेला र कुन समयमा दिने भन्ने राइडरको निर्णय हुने भन्दै उनले विभिन्न मागहरु राखेर आक्रमण उत्रिनुको औचित्य नरहेको बताए ।

उनका अनुसार पठाओमा अमेरिकाबाट विदेशी लगानी आएको छ । र, सोमबार कार्यालयमा भएको तोडफोडबारे नेपालस्थित अमेरिकन दूतावासले चासो दिएको छ । उनले भने, ‘यस्तो संकटका बेला देशभित्र रोजगारी सिर्जना गरिरहेको कम्पनीमाथि किन आक्रमण भयो भन्ने सरकारले पनि सोच्नुपर्छ ।’

कम्पनीले राइडरका मागका सम्बन्धमा जारी गरेको विज्ञप्ति हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?