Comments Add Comment

चिनियाँ कम्पनी सिनोफर्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

१५ पुस, काठमाडौं । चीनको सरकारी खोप निर्माता कम्पनी सिनोफर्मले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी भएको बताएको छ । कम्पनीले आफ्नो कोरोना खोपलाई अनुमति दिन चिनियाँ नियामकमा आवेदन पनि दिएको छ । यससँगै कम्पनीको खोप चीनमा आम मानिसमा प्रयोगका लागि अनुमति पाउने पहिलो कम्पनी बन्ने दौडमा सबैभन्दा अगाडि देखिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)ले सिनोफर्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । यूएईले आफ्नो मुलुकमा भएको परीक्षणको नतिजालाई आधार मानेर उक्त नतिजा सार्वजनिक गरेको थियो । यद्यपि सिनोफर्मकी प्रवक्ताले भने यस विषयमा विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताएकी छन् ।

स्वास्थ्य विशेषज्ञहरुले भने विस्तृत जानकारी नदिई सार्वजनिक गरिएको प्रभावकारिताको नतिजाले मानिसहरुको खोपप्रतिको विश्वास कम हुने बताएका छन् ।

गत बिहीबार टर्कीका शोधकर्ताहरुले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना खोप ९१ दशमलव २५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । तर, ब्राजिलमा गरिएको सोही खोपको परीक्षणको नतिजा भने ५० देखि ९० प्रतिशतको बीचमा रहेको बताइएको छ । यस्तोमा चिनियाँ खोप कत्तिको प्रभावकारी हुने भन्ने विषयमा आशंका जन्मिएको छ । यद्यपि विशेषज्ञहरुले भने अहिले नै चिनियाँ खोप सफल हुन्छ वा हुँदैन भनेर भन्नु छिटो हुने बताएका छन् । अमेरिकामा र बेलायतले दोस्रो कोरोना खोपको लागि अनुमति दिइसकेको अवस्थामा चिनियाँ कम्पनीले पनि कोरोना खोप अनुमतिका लागि आवेदन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment