Comments Add Comment

थलिएको ठमेल बजार : खोल्नुभन्दा बन्द गर्नुमा फाइदा रहेछ

नयाँ वर्षमा पनि बौरिएन कोमामा पुगेको ठमेल

१६ पुस, काठमाडौं । क्रिसमस आयो, गयो । आज अंग्रेजी वर्षको अघिल्लो दिन हो । योबेला ठमेलमा आन्तरिक र वाह्य पर्यटकको खचाखच उपस्थिति हुनुपर्ने हो । हरेक चोक सिंगारिनुपर्ने हो । रेस्टुरेन्ट र होटेलहरु ग्राहकले खचाखच हुनुपर्ने हो । तर, यो वर्ष ठमेल विगतजस्तो देखिएन ।

चौबीसै घण्टा अनिँदो रहने ठमेल कोभिड-१९ को महामारीका कारण अहिलेसम्म सुनसान छ । न मानिसहरुको चहल-पहल छ, न न्यू इयर इभको सेलिब्रेसन बनाउने मुडमा छ ठमेल ।

बरु, मध्य दिनमा पनि पाइलैपिच्छे सटरहरु बन्द देखिन्छन् । खुलेका रेस्टुरेन्ट, होटेल खाली छन्, हेण्डीक्राफ्टका पसलमा बसेका सञ्चालकहरु निराश छन् । ‘हामीले १० वर्षे युद्ध र जनआन्दोलन, नाकाबन्दीमा पनि ठमेलको व्यवसायबाहेक कुनै विकल्प सोच्नुपरेको थिएन’, ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष पुण्यराम लगेजु भन्छन्, ‘कोरोनाकालमा लकडाउनसँगै ठमेल कोमामा गएको छ ।’

लगेजुका अनुसार ठमेलका करिव ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । अब ठमेल फेरि पहिलेकै अवस्थामा फर्किन सक्ला त भन्ने यक्ष प्रश्न उब्जेको छ ।

ठमेलमा डेढ सयभन्दा बढी रेस्टुरेन्ट, करिव तीन सयको संख्यामा होटेल, दुई हजार हाराहारी र एक हजारभन्दा बढी कार्गो व्यवसायी रहेका थिए । ठमेल पर्यटन विकास परिषदमा मात्र दुई हजार व्यवसायी सूचीकृत छन् ।

ठमेलको यति ठूलो व्यवसाय ६० देखि ७० प्रतिशत बाह्य पर्यटकमा आश्रति थियो । बार, डिस्को र क्लबमा रमाउन आउने नेपालीहरुको संख्या पनि उत्तिकै हुन्थे । परिषदका अनुसार दैनिक अर्बभन्दा बढीको कारोबार ठमेलबाट मात्र हुन्थ्यो ।

तर, कोभिडले बाह्य पर्यटनको आगमन ठप्प भएको छ । आन्तरिक पर्यटकको पनि क्रय शक्ति कमजोर बन्दै गएकाले ठमेल पुनर्जागि्रत हुन सकेको छैन । ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजु भन्छन्, ‘सटर खोलेका व्यवसायीसँग पनि झिंगा धपाएर बस्नुबाहेक अरु विकल्प छैन ।’

पहिलोपटक ठमेल विकल्पको मोडमा

ठमेलमा खुलेका थोरै रेष्टुरेन्टमध्ये एक हो, ‘ला बेला क्याफे एण्ड एक्यू बार’ । क्याफे लाइट र सोफाले सुसज्जित छ । कुक र वेटरहरु पनि ग्राहकको प्रतिक्षामा छन्, तर दिनमा पाँचजना ग्राहक पाउन मुस्किल छ ।

नौ करोडको लगानीमा दुई तलामा बनेको यो क्याफेका सञ्चालकले मासिक भाडा भने तिर्दै आएका छन् । ‘योबीचमा दुईपटक गरी एक/डेढ महिना खोलेँ । अहिले तीन हप्तादेखि फेरि खोलेको छु’, क्याफेका सञ्चालक संघर्ष विष्ट भन्छन्, ‘खोल्नुभन्दा बन्द गर्नुमा फाइदा रहेछ ।’

विष्टको लाबेलासँगै नर्थफिल्ड क्याफे पनि छ । तर, उनले नर्थफिल्ड खोल्ने आँट गरेका छैनन् । २७ वर्षदेखि ठमेलमा व्यवसाय गर्दै आएका उनलाई ठमेलमा अब आफ्ने क्याफे जोगाउन नै हम्मेहम्मे पर्ने देखिएको छ । उनी, जायजेथाले भ्याएसम्म थाम्ने र नसके छोड्ने मनस्थितिमा बनाएका छन् । ‘अरु क्षेत्र विस्तारै लयमा फर्कन थाले पनि पर्यटनमा आधारित क्षेत्रहरु मृत्युशैय्यामा छटपटाइरहेका छन्’, उनले भने, ‘एक लाखलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले कुनै कार्यक्रम लिन नसक्दै ज्यादै दुःख लागेको छ ।’

थर्ड आई र इन्ह्याङ रेस्टुरेन्टका सञ्चालक तेजेन्द्रनाथ श्रेष्ठ पनि कोरोनाकालमा एक करोडभन्दा बढी घरभाडा बुझाइसके । तर, रेस्टुरेन्ट खोल्न सकेका छैनन् । ‘अरु खर्च पनि जोड्दा दुई करोड बढी घाटा भइसक्यो’, उनले भने । अब आगामी माघबाट रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना बनाएका छन् । तर, व्यापार हुन्छ भन्नेमा ढुक्क छैनन् ।

ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजुको सातघुम्ती नजिकै ट्रेकिङ गेयरका पसल ‘यामा आउट डोर’ छ । उनको पसल एकजना स्टाफले कुरिरहेकी छिन् । पहिले दैनिक ३०/४० हजारको व्यापार हुन्थ्यो । अहिले आक्कल-झुक्कल हुने व्यापारले खाजा खर्चसम्म पुग्छ ।

ठमेलमै भएको अर्को कार्गो व्यवसाय उनले अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैनन् । अधिकांश कार्गो व्यवसायीले ठमेल क्षेत्र छोडेका छन् । उनले पनि बानेश्वर, बसन्तपुर र ढल्कोमा मःम मज्जा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । ‘व्यवसाय शुरु गरेको २० वर्षदेखि अहिले ठमेलको विकल्प खोज्नुपरिरहेको छ’ उनले भने, ‘थोरै लगानी गर्ने हामीलाई यत्ति गाह्रो छ भने ठूलो लगानी गर्नेहरुको के हालत होला ?’

मिन्हाज खानको कफी सप पनि सुनसान छ । उनका अनुसार पहिले दैनिक २०/२५ २ हजारको व्यापार हुन्थ्यो । लकडाउनपछि व्यवसाय शून्यमा झरेको छ । मासिक ५० हजार रुपैयाँ सटर भाडा भने बुझाउनुपर्छ ।

उनले पर्यटकलाई लक्षित गरी सञ्चालित होस्टेल कोरोनाकालमै बेच्न बाध्य भए । मिन्हाज भन्छन्, ‘३५ लाखमा बनाएको होस्टेल १९ लाखमा बेच्नुपर्‍यो ।’

ठमेलको नरसिङ चोकदेखि केही अगाडि रेड लायन लाइभ लन्ज, बार छ । ११ चैतको लकडाउनसँगै बन्द रहेको रेडलाइन अहिलेसम्म खुल्न सकेको छैन । त्यसको दुई घर अगाडि फूल मुन क्याफे पनि कहिल्यै नखुल्ने गरी बन्द भएको छ । रेस्टुरेन्ट र होटेल बन्द हुने क्रम निरन्तर जारी छ । व्यवसायीहरु भन्छन्, ‘ठमेलका सटरहरुमा ‘टु लेट’ (भाडामा) लेखेको ब्यानर देख्न परेको थिएन । अहिले त छ्यापछ्याप्ती देखिन्छन् ।’

३० करोडको होटेलमा ताला

सागर पाण्डेले १ अक्टोबरदेखि यात्री होटेलमा ताला लगाए । दुई वर्षअघि ३० करोड लगानी गरेर सञ्चालनमा ल्याएको होटेलकोे मासिक भाडा मात्र २२ लाख रुपैयाँ छ । होटल खोलेपछि नियमित खर्च थपिन्छ । तर, होटल पनि राम्रोसँग नचल्ने, खर्च भने बढ्ने भन्दै सागर भन्छन्, ‘आफूलाई सेफ साइडमा राख्न पनि होटेल बन्द गर्नुपर्‍यो ।’

उनले होटेल मुनलाइट, नर्वोलिङ, होटेल इन्काउन्टर नेपाल र अफ्तार भने जसोतसो खोलेका छन् । भन्छन्, ‘छिटपुट रुपमा ग्राहक आउने भएपनि यात्रीमा जस्तो ठूलो खर्च नभएकाले अन्य होटेलक जसोतसो धानिरहेको छु ।’

उनका अनुसार सबै होटल सञ्चालनमा आउँदा ६ सयभन्दा बढीलाई रोजगाी पाउँँथे भने वषिर्क ५/६ करोड रुपैयाँ कर रसकरारलाई तिर्थे । कोभिडकालमा आम्दानी त छैन नै, सात करोडभन्दा बढी घाटा भयो । ‘सरकारलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने पर्यटन व्यवसायीलाई सरकारले बेवास्ता गर्नु निकै दुःखद छ’, उनले गुनासो पोखे ।

उनका अनुसार ठमेलका करिव ३०० होटलमध्ये २०/२५ प्रतिशतले ताला लगाइसकेका छन् । हुन पनि अरुबेला निकै चहल-पहल हुने सञ्चय कोषदेखि नरसिङ चोक, सात घुम्ती हुँदै सोह्रखुट्टे निस्कने बाटो आसपासका अभिकांश सटर बन्द भएका छन् । भित्री गल्लीका त ५० प्रतिशतभन्दा बढी सटर बन्द छन् । र, अधिकांशले व्यवसाय नै छाडेर हिँडेको ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजु बताउँछन् ।

सबैभन्दा मारमा ठमेल

कोभिड-१९ को महामारीले विदेशी पर्यटकमा आश्रति झिलिमिली ठमेलको मानक नै परिवर्तन हुने अवस्थामा पुगेको छ । हेण्डीक्राफ्ट, क्युरियोदेखि अधिकांश होटेल रेस्टुरेन्ट विदेशी पर्यटकलाई लक्षित गरेर खोलिएका छन् ।

विदेशी पर्यटकहरु नआउँदासम्म ठमेलको अवस्था यस्तै रहने व्यवसायीहरुको अनुमान छ । किनकि छिटफुटरुपमा पुग्ने नेपाली ग्राहकले ठमेललाई धान्न सक्ने अवस्था छैन । ‘दरबारमार्ग, झम्सीखेल, लाजिम्पाटजस्ता ठाउँहरु नेपाली ग्राहकहरुका कारण विस्तारै पुनउत्थान हुँदैछन्’, व्यवसायी तेजेन्द्रनाथ भन्छन् । ‘तर ठमेलको अवस्था भिन्न छ ।’

यद्यपि पछिल्लो दुई हप्तादेखि सरकारले रातको १२ बजेसम्म क्लब र बार चल्ने अनुमति दिएपछि भने उक्त क्षेत्रले अलिकति सास फरेेको व्यवसायी तेजेन्द्रनाथ बताउँछन् । किनकि नाइटलाइफमा रमाउने नेपालीहरुको संख्या निकै ठूलो छ । ठमेलमा २५/३० वटा नाइट क्लव र बार छन् । तेजेन्द्र भन्छन्, ‘नाइट क्लबमा विश्वासै नगरेको मानिसहरुले आइरहेका छन्, जसका कारण व्यवसाय टिकाउने आश बढेको छ ।’

ठमेललाई राहत दिन सरकारले आन्तरिक पर्यटनलाई पनि प्रोत्साहन गर्नुपर्ने तेजेन्द्रको भनाइ छ । भन्छन्, ‘वाषिर्क १२ लाख नेपाली विदेश घुम्नको जाने गरेको तथ्यांक छ । उनीहरुलाई नेपालमा पनि घुम्नको लागि प्रोत्साहन गर्नुपर्छ ।’

रेस्टुरेन्ट बार एसोसियसनका उपाध्यक्षसमेत रहेका संघर्ष विष्टले सरकारले ‘टुरिज्म रिभाइभ प्याकेज’ कार्यान्वयन नगरेको चिन्ता व्यक्त गर्छन् । सहुलियतपूर्ण ऋण पनि पहुँचवालाले मात्र पाउने उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment