Comments Add Comment

कथा : कफीको अन्तिम घुट्को

बिदाको दिन । साँझको समय । हप्ताभरको कामको थकान र तनाव कम गर्न म सियोल पुगेकी थिएँ । प्रायः बिदाका दिन म यसरी नै निस्कन्छु । कहिले समुद्रको जवानी हेरेर फर्किन्छु । कहिले उत्तर कोरियाबाट बहेर आएको चिसो बतास समात्न पुग्छु । यसरी नै मेरो विकेन्ड बित्छ । त्यसदिनको पनि घुमघाम, भेटघाट सकेर बासस्थान फर्किने क्रममा ट्रेन स्टेसनमा पुगेँ । त्यहाँबाट बस स्टेसन पुगें । बस आइपुगेको थिएन । घडी हेरें, पन्ध्र मिनेट बाँकी थियो । गोजीबाट मोबाइल झिकेँ । सामाजिक सञ्जालको जंजालमा प्रवेश गरेँ । न्युजफिड स्क्रोल गर्दै थिएँ ।

बस आइहाल्छ कि भनेर सडकतिर आँखा पनि डुलाउँदै थिएँ । संगसंगै फेसबुकमा मन परेको पोष्टहरूमा रियाक्ट पनि गर्दै गएँ । कानमा एयरफोन कोचेकी थिएँ । गीत सुन्दै मनपरेका पोस्ट, लेख रचना पढ्नमा आनन्द लाग्छ । कहिलेकाँही दोहोर्याएर पनि पढ्छु । आँखा कहिले मोबाइलमा कहिले सडकतिर हुर्याउँदै थिएँ ।

अरे ! चिने चिनेजस्तो लाग्छ त ।

अचानक प्रतिक्षालयको कुर्सीमा उसलाई देखेँ । तर ऊ यहाँ ? दक्षिण कोरियामा । यो कसरी सम्भव छ ? उसलाई त मैले निकै पहिले नेपाल, विर्तामोडको कुनै मोडमा छोडेर आएकी थिएँ । ऊ त विदेशको नाम नै सुन्न चाहदिनँ थिई । ऊ त आफ्नै रमाइलो घरसंसारमा रमाइरहेकी थिई । संसारमा एउटै अनुहारको सात जनासम्म फेला पर्छन् भन्छन् । होइन–होइन । मेरो भ्रम हुनुपर्छ यो । शरीरको ढाँचा अलिअलि उस्तै छ । तर उसको कपाल त यस्तो थिएन । अनुहारको रङ त झन् यस्तो थिएन । मलाई पत्यार नै लागेन । फेरी पनि निर्क्यौल गर्न मन लाग्यो । नजिकै गएँ ।

‘अरे ! दिपा दिदी ।’

मैले ठम्याउनुअगावै उसले मलाई ठम्याई । चिच्याई । उल्लासले, उत्साहले । खुसीले ।

‘सरिता’

हामी दुवैको भावभङ्गी यस्तो थियो मानौं संसारको आठौं आश्चर्य देख्यौं ।

ऊ छेउमा आई । उसलाई कोरियामा देखेर म घोर आश्चर्यमा परेँ । ऊ हलुकासँग मुस्कुराई । ऊ सरीता तामाङ । विर्तामोडमा अचानक भेट भएको थियो, कुनै समय । विर्तामोडमा हामी दुवै डेरावाल थियौँ । त्यो छिमेकी डेरावाल । ऊ पहाडको रानी इलामबाट झरेकी थिई, गर्मीको राजा झापा कलेज पढ्न बहिनीसँग । म पनि कलेज पढ्न बसेकी थिएँ । मेरो कोर्स सकिन लागेको थियो । कलेज बिहानीपख लाग्थ्यो । त्यसैले दिउँसोको समय फुर्सदिलो हुन्थ्यो । उस्तै विद्यार्थी जीवन । उस्तै विद्यार्थीकर्म । उही स्थान । उमेरमा एकाध वर्षको फेर । यस्ता यावत  तत्त्वले हामीलाई कम समयमै नजिक्याएको थियो । फुर्सद हुँदा एकअर्काको कोठामा गफ्फिन पुग्थ्यौं । घण्टौं बात माथ्र्यौं । गर्मीका दिनहरूमा बेलुकीपख डुल्न निस्कन्थ्यौँ । शनिश्चरे रोडको चटपटेको ठेला नै कब्जा गथ्र्यौँ । पानीपुरी र  चटपटेको लागि । हिडेरै कृषि थोकलाई चक्कर लगाउँथ्यौँ । सब्जी किनेर फर्किन्थ्यौं ।

रिसले सरीताको ओठ काँपिरहेको थियो । ऊ यसरी रिसाएको मैले पहिलोपटक देखेँ । म निस्तब्ध भएँ । अवाक् उसलाई हेरिरहेँ । कफीसप बाहिर बेजोडले बतास बग्यो । साकुराको पात बेस्सरी हल्लियो । म भित्रभित्रै एकपटक सिरिङ्ग भएँ

कहिले कृष्णहल त कहिले अन्नपूर्ण हल पुग्थ्यौं, सिनेमा हेर्न । पश्चिम बस स्टेसन छेउको पन्चकन्या प्लटिङमा उभिन्थ्यौं । प्लटिङमा आउने प्रेमिल जोडीहरूको हाउभाउ र क्रियाकलापको नक्कल गर्थ्यौं । बिदाको दिन त आउनै हुँदैनथ्यो । बर्ने मुनिको चियाबारीमा एक चक्कर लगाउन जान्थ्यौँ । बिर्तामोडको सपिङ कम्प्लेक्सको चप्पाचप्पा चाहार्थ्यौं । हामीले यस्ता बाक्ला स्मरणीय समय बिताएका थियौँ विर्तामोडमा ।

यतिकैमा बस आइपुग्यो ।

‘दिदी अर्को बसमा जाउ न है ।’ उसले मधुरो आवाजमा अनुरोध गरी ।

मैले हुन्छ भन्ने भावमा संकेत जनाए ।

‘अनि कसरी कोरिया आइपुग्यौ त ?’ मेरो कुतुहलता बढेको थियो ।

‘कहानी लामो छ दिदी ।’ उसले सुस्केराको लामो खुइया दक्षिण कोरियाको हावामा उडाई ।

‘कति भयो आएको ?’ मैले थप प्रश्न गरेँ ।

‘पाँच महिना भइसक्यो नि दिदी ।’ उसले प्रतिक्षालयमा आँखा घुमाउँदै भनी ।

‘अनि कता काम गर्दै छौ ?’ मेरो उत्सुकता थप बढ्यो ।

‘यतै नजिकै छ दिदी ।’

‘जाउँ एकएक कप कफी पिउँ । बस आइपुग्न अझै पैंतिस मिनेट बाँकी छ ।’

मैले प्रस्ताव राखेँ । कफीसपमा पुगेर कफि मगायौँ ।

‘ल भन । तिमी कसरी यहाँ आइपुग्यौ ? कहिल्यै विदेश जान्न भन्ने गर्थ्यौ !’

ऊ अनकनाई । ‘ज्वाँई कता हुनुहुन्छ ?’ मैले कुरा खोतल्ने थप प्रयास गरेँ ।

‘मर्यो त्यो । त्यसलाई ज्वाइँ नभन्नु दिदी । अब त्यो अरू कसैको लोग्ने भइसक्यो ।’ रिसले सरीताको ओठ काँपिरहेको थियो । ऊ यसरी रिसाएको मैले पहिलोपटक देखेँ । म निस्तब्ध भएँ । अवाक् उसलाई हेरिरहेँ । कफीसप बाहिर बेजोडले बतास बग्यो । साकुराको पात बेस्सरी हल्लियो । म भित्रभित्रै एकपटक सिरिङ्ग भएँ ।

विर्तामोडमा हुँदा उसको पढाइ राम्रो थियो । ‘म सरकारी जागिर खान्छु  ।’ मसँग ऊ यसै भन्थी । श्लोकसँग पनि । श्लोक शर्मा– सरीताको प्रेमी । स्नातक पढ्न पाँचथरबाट झापा झरेको श्लोक र सरीता एकअर्कालाई बेस्सरी मन पराउँथे । माया गर्थे । एकाअर्काको ख्याल राख्थे । सरिता कम्प्युटरमा दक्ष थिइन् । एउटा ईन्स्टिच्युटमा काम पनि गर्न थालेकी थिई । श्लोक पनि बोल्नमा निकै तेज थियो । स्मार्ट देखिन्थ्यो । बिर्तामोड मनकामना मोटर सोरुममा काम गर्थ्यो । श्लोक आफ्नी दिदीसँग बस्थ्यो । सरिता र श्लोकको प्रेम सम्बन्धबारे दिदी जानकार थिइन् तर परिवारका अन्य सदस्यलाई खबर थिएन । फेरी श्लोक त्यति आँटिलो पनि थिएन कि घरमा अरूलाई भनोस् । र यसो हुनुमा सरीताको जात, कारक तत्त्व बनेको थियो । बाहुन केटा र तामाङनी केटीको प्रेम सम्बन्ध सहजै स्वीर्काला जस्तो श्लोकलाई लागेन । यद्यपी सरीताको परिवारलाई भने थाहा थियो । उनीहरूले सरीताको खुसीलाई सहजै स्वीकारेका थिए । सरीताका बा, आमा छोरीलाई प्रेम गर्थे । छोरीको प्रेमलाई पनि प्रेम गर्थे ।

पहिलो वर्षको नतिजा राम्रै आयो दुबै जनाको । दोस्रो बर्षमको पढाई चल्दै थियो । एकदिन कुराकानी कै क्रममा सरीताले भनिन् ‘दिदी म र श्लोक बिहे गर्दैछौ ।’

‘अनि घर परिवार ?’ मैले सोधेकी थिएँ । सरीतालाई ।

‘मेरो त ममी, बाबालाई थाहा छ । श्लोकको चै दिदीलाई मात्र थाहा छ । केही समय हो । पछि त स्विकार्लान् नि ।’ सरिता एककिसिमले विश्वस्त थिई । श्लोकको प्रेमले जितेको थियो । ऊ आशावादी थिई ।

सरीता बिहे गरेर गई । बिर्तामोडबाट कस्सिएर हिँड्दा पुगिने ठाउँमा । बिहेपछि पनि हाम्रो भेट हुन्थ्यो । ऊ खुसी देखिन्थी । श्लोक पनि । एकअर्कालाई जीवनसाथीको रूपमा पाएर दुबै दंग थिए । चारवर्षे बिर्तामोड बसाइलाई बिट मारेर म घर फर्किएँ । त्यसपछि भने हाम्रो भेट पातलियो । म कोरिया आएपछि त भेट हुने कुरै थिएन ।

नौ वर्षपछि सरितालाई भेटेकी थिएँ । दक्षिण कोरियाको यात्रु प्रतिक्षालयमा । मनको एक पाटा खुसीले बुरूक्क उफ्रिएको थियो । अर्को पाटो निस्तेज भएको थियो । सरीताको कथा सुनेर । कफी आइपुग्यो । कफीको चुस्कीसँगै ऊ निरन्तर बग्दै गई ।

‘श्लोकसँग बिहे भएको दुई वर्ष बितिसकेको थियो । घरबाट बोलावट आयो । त्यस दिन मेरो खुसीको सीमा थिएन । संसारको आधा भाग हिँडेरै पुग्छु जस्तो स्फुर्ति भरिएको थियो, शरीरमा । मैले काम गर्न छोडेकी थिएँ । श्लोकले दुबईको लागि भिसा अप्लाई गरेको थियो । कम्पनी राम्रो थियो । हामी भिसा रेस्पोन्सको प्रतिक्षामा थियौँ । यत्तिमै घरबाट बोलावट आएको थियो ।  हामी दुबै खुसी खुसी  घर गयौँ । महिना दिन बस्यौँ । घर बस्ने क्रममा मैले थाहा पाएँ कि मलाई उनीहरूले आत्मादेखि भने स्वीकारेका थिएनन् । लोकको सामु लोकाचार भने गरेका थिए । तर मलाई भान्सामा पस्न रोक लगाएका थिए । कथमकदाचित म भान्सामा पसेँ भने त्यसदिन तिनीहरू कोही भान्सामा पस्दैन थिए । पूजा कोठामा त पाइलै हालिनँ । श्लोकसंग दुखेसो पोख्थेँ।

‘विस्तारै सबै ठीक हुन्छ । नआत्तिउ ।’ श्लोक मलाई सान्त्वना दिन्थ्यो । महिनादिन बस्दा अघिका मेरा सारा भावनामाथि कुठाराघात भएको थियो । म तिनीहरूको व्यवहारले थिलोथिलो भएकी थिएँ ।

ढुङ्गालाई त्यति नै पुज्ने हो भने देवता भइसक्थ्यो । तर ऊ ढुङ्गै रह्यो । अन्ततः मैले डिभोर्स पेपरमा साइन गरिदिएँ । नचाहेरै मैले जीवनबाट उसलाई नामेट गरिदिएँ

केही समयमा श्लोकको भिसा लाग्यो । हामी दुबै घरबाट फर्कियौँ । मेरो ब्याचलर क्लियर भइसकेको थियो । श्लोकलाई मैले मास्टर्स पढ्ने मनसाय राखेँ । ऊ मञ्जुर भयो । उसले घरमा बतायो । तर कसैले पनि यसबारे प्रतिक्रिया दिएनन् । मलाई गाउँमा बस्नु थिएन । मलाई आफ्नो अध्ययन पुरा गर्नु थियो । श्लोकले मञ्जुरी दिएपछि बिर्तामोडमै बसेर पढ्ने भएँ ।

घरबाट फर्किएर दुई दिन बिर्तामोड बस्यौँ । हप्तादिनपछि श्लोकको फ्लाईट थियो । म श्लोकसंगै काठमाण्डौ गएँ । एक हप्तापछि श्लोक दुबईको लागि उड्यो । म रित्तोरित्तो भएर बिर्तामोड फर्किएँ । उदास समय अनुहारमा बोकेर । श्लोकसँग त्यसरी पहिलोपटक छुटेकी थिएँ । मलाई उसको अनुपस्थितिमा बाँच्ने बानी नै थिएन । ओछ्यानमा ओल्टोकोल्टो परेर श्लोकलाई खोजिरहेँ निकै रात । पछिपछि बानी पर्दै गयो । हामी स्काइपमा कुरा गर्थ्यौं । दुबई पुगेको केहीदिन श्लोक पनि निकै दुखी देखिन्थ्यो । समयले मसँगको विछोडमा उसलाई पनि छटपटी दिएको थियो । केही दिनसम्म त श्लोक काम गाह्रो भएकोले बस्न सक्दिन भन्थ्यो । घर फर्किन्छु भन्थ्यो । बिस्तारै बानी पर्दै गयो । काम सिक्दै गयो । उसको अंग्रेजी राम्रो भएकोले वर्षदिनमै बढुवा भयो । ऊ सहायक म्यानेजर बन्यो । कमाई राम्रै हुन थाल्यो । सुनौलो भविष्यको परिकल्पनामा हामी डुबेका थियौँ । मेरो मास्टर्सको पहिलो वर्ष सकियो । दोस्रो वर्षमा भर्ना भएँ । त्यसबिचमा म पटकपटक घर पुगेँ । उत्साह बोकेर  कहिँकतै परिवारको मन बद्लिहाल्छ कि  भन्ने लाग्थ्यो । तर त्यो मेरो फगत् भ्रममात्र थियो । म प्रति परिवारको दृष्ट्रिकोण यथावत नै थियो । मसंग उनीहरू कहिल्यै सकारात्मक भएनन् । श्लोकलाई सुनाउँथेँ ।

‘धैर्य गर न । केही समयमा सबै ठीक हुन्छ ।’ ऊ बारम्बार यसै भन्थ्यो । मलाई नि हो जस्तै लाग्थ्यो । पर्खनुको विकल्प थिएन । श्लोकको कुरा मान्थेँ । बाह्र वर्षमा खोला फर्किन्छ भन्छन् । यिनीहरू त मान्छे पो हुन् । कुनै न कुनै दिन कसो मन नफर्केला भनेर सोच्थेँ । फेरी मैले जीवन बिताउने श्लोकसंग हो । उसले माया गरेकै छ । हाम्रो भविष्यकै लागि मरूभूमिमा पसीनाको खोला बगाउँदैछ । मेरो संसार भनेकै श्लोक हो । उसको साथ, समर्थन छदैछ । बाँच्ने उपक्रममा केही छुट्छ, केही प्राप्त हुन्छ । मैले श्लोक पाएकी छु । यो नै मेरो लागि महत्त्वपूर्ण छ । यसै भनेर पटक्कै नबुझ्ने मन बुझाउँथेँ ।

दुबई उडेको डेढ वर्षपछि बिस्तारै श्लोकमा परिवर्तन देखिन थाल्यो । खोई किन हो उसको व्यवहारमा कठोरता झल्किन थालेको थियो । फोनमा लामो समय झुण्डिने श्लोक सक्दो कम समयमै कुरा टुङ्ग्याउन खोज्थ्यो । काममा व्यस्त भएकोले धेरै बोल्न नमिल्ने भन्थ्यो । पहिले मसंग बोल्दाबोल्दै निदाउने श्लोक मसंग नबोली निदाइसक्थ्यो । मैले पटकपटक मबाट केही गल्ती भयो कि भनेर सोधेँ । ऊ यसोउसो भनेर टार्थ्यो । कामको व्यस्तता बढेको कुरा सुनाउँथ्यो ।

मलाई अचम्म लाग्न थाल्यो । के यो उही श्लोक हो ? जोसँग मैले संगत गरेको वर्षौं भइसकेको थियो ।  आकाश–पात्तालको फरक थियो त्यो श्लोक र यो श्लोकमा । मलाई डर लाग्न थालेको थियो । उसको मप्रतिको उदासिनता देखेर । अन्ततः उसले आफ्नो मोबाईलको स्वीचअफ गर्यो । स्काईप एकाउन्ट नै डिएक्टिभ गर्यो । मसंग पुरै विच्छेद भयो । उसको कम्पनीमा काम गर्ने अरू कोहीसंग पनि मेरो चिनजान थिएन । कसलाई सम्पर्क गर्नु ? श्लोकको दिदीलाई फोन गरेर बुझ्न खोजेँ । दिदीले पनि आफूसँग सम्पर्क नभएको जानकारी दिइन् ।

श्लोकको नेपालमै भएका साथीहरूसँग पनि सम्पर्क गरेर बुझ्न खोजेँ । कसैले पनि सम्पर्कमा भएको बताएनन्  । सबैसंग सम्पर्कबिहिन भएर बसेको बुझियो । म अन्योलमा परेँ । के गर्ने ? कहाँ खोज्ने ? कसो गर्ने भयो ।  कति दिन त म अचेतजस्तो भएर बिर्तामोडको गल्लीगल्ली श्लोकको पत्तो लाउन भौतारिएँ । मेरो हविगत देखेर ममीबाबा पिर लिनुहुन्थ्यो । माइत लैजान पटकपटक आउनुभयो । मैले मानिनँ । त्यसपछि बहिनी मसंगै बस्ने शर्तमा फर्किनुभयो ।

एक साँझ श्लोकको दिदीले फोन गरिन् । मेरो हाल खबर सोधिन् । मैले आफू ठीकै रहेको बताएँ । दिदीले श्लोक घर फर्किएको बताइन् । मेरो खुसीको ठेगान थिएन । म तुरून्तै घर आउँछु भने । दिदीले श्लोकको पोखराको केटीसँग बिहे हुदैछ भनिन् । मेरो हातबाट हठात् मोबाइल खस्यो । हठात् म पनि खसेँ अग्लो छाँगाबाट । गहिरोमा । मस्तिष्क शुन्य भयो । आँखा भने सुख्खा थिए । हृदय कसैले आगो लगाइदिए जस्तो भतभत पोल्यो । शुन्य मस्तिष्कले केही सोच्न सकेन ।

मैले दिदीसंग श्लोकको मोबाइल नम्बर मागेँ । पटकपटक श्लोकको नम्बर डायल गरेँ । उठेन । म्यासेज गरेँ । रिप्लाई आएन । मप्रति श्लोकको गलतफहेमी भए त्यो हटाउँ भन्ने सोचेर भेट्ने प्रयास गरेँ । सबै विफल भयो ।

दुबईबाट फर्किएको महिना दिनपछि बल्ल मलाई भेट्न आयो । अचानक नमिठो सपनाबाट ब्युँझदाँ आफ्नो मान्छे समीपमा पाए जस्तो लाग्यो । उसलाई देख्नासाथ अंगालो हाल्न पुगेँ । ऊ परैबाट तर्कियो । परै बस्यो । लामो समय मौन बस्यो । अन्ततः बोल्यो ।

‘म बिहे गर्दैछु । तिमीलाई डिभोर्स दिएर । यसमा साइन गर ।’

यो अकल्पनिय प्रस्तावले म चकित भएँ । म उभिएको जमिन भास्सिँदै गएजस्तो महसुस भयो । छाती पिटेर रोएँ ।

‘मेरो के गल्ती भयो ?’ मैले पटकपटक सोधेँ । श्लोकसंग उत्तर थिएन । मात्रै प्रस्ताव थियो । डिभोर्सको । मैले मानिनँ । ऊ डिभोर्स पेपर टेवलमा छोडेर गयो ।

श्लोकले छोडेर गएको ठाउँबाट म हलचल नगरी दिनभर बसेँ । साँझपख पन्चकन्या प्लटिङमा गएर बेस्सरी रोएँ । कसैले नदेख्ने गरी ।  अबेरमात्र घर फर्किएँ । मलाई बिर्तामोड बस्न मनै लागेन । माइत गएँ । हप्तादिन जति बसेँ । धेरै सोचेँ । मसंगको सारा भावना मरिसकेको मान्छेसँग किन जोडिइराख्नु ? भावनै नभएको सम्बन्ध त जीर्ण हुन्छ । धरापमा हुन्छ । जतिखेरै पनि दुर्घटित हुन सक्छ । श्लोक मसंग फर्किन तयार छैन भने मैले मात्र जबरजस्ती गरेर हुदैन । भैगो यो कमजोर धरातलमा अडिएको सम्बन्ध रहेछ । कमजोर धागोले बाँधिएको सम्बन्ध रहेछ । अलिक कस्न खोजे चुँडिएरै जाने हो । आफैंलाई थुम्थुम्याएँ । मन शान्त बनाएँ । म बिर्तामोड फर्किएँ । योपटक पनि मलाई नै निर्णय गर्ने अधिकार दिनुभयो ममीबाबाले । हप्तादिनपछि मैले शर्त सहित श्लोकलाई म्यासेज गरेँ । डिभोर्सको लागि । ऊ मेरो शर्त मान्न तयार भयो । मेरो शर्त सुनेर वकिल पनि अचम्मित भयो । शर्त अनुसारकै कागज बन्यो ।

मेरो शर्त थियो, एक महिनासम्म श्लोक मसँग बस्नु पर्नेछ । मलाई अझै पनि झिनो आशा थियो, कतै महिनादिन सम्म संगै रहदाँ श्लोकको मन परिवर्तन हुन्छ कि भनेर । म उसलाई कन्भिन्स गर्न चाहन्थेँ । मलाई यसको लागि समय चाहिएको थियो ।  श्लोक शर्त अनुरूप मेरो कोठामा आयो । मैले आफूलाई सक्दो सामान्य रूपमा प्रस्तुत गरेँ । बिहान कलेज जान्थेँ । दिउँसो औपचारिक कुराकानी मात्र हुन्थ्यो । ऊ खासै मसंग कुरा गर्न चाहँदैनथ्यो । हप्तादिनपछि मैले सिनेमा हेर्न जाउँ भन्ने प्रस्ताव राखेँ । उसले नाइँ भनेन । हुन्छ पनि भनेन । तटस्थ बस्यो । उसको मौनताले मेरो मुटु खायो । मैले सिनेमा हेर्न जाने योजना रद्ध गरेँ । श्लोक एकदम असामान्य ढङ्गले बस्यो । यसरी नै महिनादिन बित्यो । अँह मप्रति उसको मन फर्किएन । मैले मागेको समय सकियो । उसलाई कसैगरी पनि सम्झाउन सकिनँ । बुझाउन सकिनँ । ऊ कठोर भएको थियो ।

ढुङ्गालाई त्यति नै पुज्ने हो भने देवता भइसक्थ्यो । तर ऊ ढुङ्गै रह्यो । अन्ततः मैले डिभोर्स पेपरमा साइन गरिदिएँ । नचाहेरै मैले जीवनबाट उसलाई नामेट गरिदिएँ । र कोरियाको लागि प्रयास गरेँ । नाम निस्कियो । श्लोकको यादबाट भाग्दै यहाँ आईपुगेँ ।’

सरीताले चिसो भइसकेको कफीको अन्तिम घुट्को पिई । कफीसंगै पीडा निली । मेरो भने घाँटीमा कसैले अठ्याएजस्तो भयो । सहानुभूतिसमेत जताउन सकिनँ । एकहोरो सरीतालाई हेरिरहेँ । उसको उदास अनुहारमा श्लोकप्रतिको माया र घृणा बराबरी देखेँ । यो उमेरमै उसले भोगेको दुःख, पीडाको पराकाष्टा सम्झिएर भक्कानो फुटला भयो । उसको कफी समातेको हात काँप्न थालेको थियो । वर्षौपछि कसैलाई आफ्नो वेदना फुकाउन पाएर होला ऊ निरन्तर बग्दै थिई आँखाबाट  ।

मेरो उकुसमुकुस बढेर गयो । के गरौं, कसो गरौं भयो । उसको आँखाबाट बगेका मोटा आँशुका दाना पुछ्न मेरा हात बढे । हठात् टेबलमा मेरो हात बज्रिन पुग्यो । ड्याम्म । सँगसँगै ओठबाट फुत्कियो– ‘फ…. अफ श्लोक ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment