Comments Add Comment

पर्सागढीमा मनाइयो विजय उत्सव

१९ पुस, वीरगञ्ज । संसद विघटनपछि आन्दोलन र प्रदर्शन भइरहने वीरगञ्जको घण्टाघरमा आइतबार बेग्लै दृश्य देखियो । नेपाली सेनाका जवानहरु हातमा राष्ट्रिय झण्डा लिएर बसेका थिए भने १५ जना साइकल यात्रीहरु सेतो गञ्जी लगाएर उभिएका थिए ।

सेतो गञ्जीको पछाडि लेखिएको थियो – वि.स. १८७१ को ‘ऐतिहासिक युद्ध स्थल’ पर्सागढी विजय महोत्सव २०६औं वर्ष । पुर्खाहरुले सोचेको हाम्रो इतिहास र पर्सा जिल्लाको गौरव वि.स. को विजयगढी पर्सागढी ।

यी सबै परिदृश्य पर्सागढीमा नेपालले अंग्रेजलाई हराएको दिनको स्मरणमा आयोजित विजयोत्सवको थियो । पर्सागढी नगरपालिकाले पर्सागढी मन्दिर संरक्षण समिति, नेपाली सेना, होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटन पत्रकार संघ, वीरगञ्ज साइकिलिङ समूहलगायतका सरोकारवालासँगको सहकार्यमा विजय महोत्सव मनाउँदैछ ।

साइकिलिङ पदयात्रा, विभिन्न साँस्कृतिक झाँकीको प्रदर्शनी तथा विजय र्‍यालीसहितका कार्यक्रम राखिएका छन् । वीरगञ्जको घण्टाघरबाट १५ जना साइकलमा पर्सागढीका लागि निस्किएका छन् ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले पर्सागढीमा पुर्खाले अदम्य प्रयासले अंग्रेजलाई परास्त गरेको दिनको स्मरणमा विजयउत्सव राखिएको जानकारी दिए ।

‘ऐतिहासिक युद्ध स्थल पर्सागढीको विकास र प्रवर्द्धनका लागि नगरपालिका लागि परिरहेको छ,’ उनले भने, ‘रञ्जित चौधरी नेतृत्वको नेपाली फौजले आजैका दिन अंग्रेजलाई पराजित गरेको थियो । त्यही दिनको सम्झनामा साइकल र्‍याली, पदयात्रा, विभिन्न साँस्कृतिक झाँकी प्रदर्शनीको कार्यक्रम राखेका छौं । साइकल यात्राको टोली वीरगञ्जबाट छुटिसकेको छ । पर्सागढी नगरपालिका कार्यालयबाट झाँकीसहितको पदयात्रा गर्छौ ।’

यो पनि पढ्नुहोस नेपालीले अंग्रेजलाई हराएको पर्सागढी ओझेलमा

वि.स. १८७१ पुस १८ र १९ गते नेपाल र भारतलाई औपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो । महेशराज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण २०२२ पुस्तकको पुष्ठ ७१ मा यसबारेमा उल्लेख छ । नेपालतर्फको नेतृत्व रञ्जित चौधरीले गरेको र अंग्रेजतर्फको नेतृत्व मेजर जनरल मार्ले/कप्तान सिब्लीले गरेक थिए । अंग्रेजहरुको फौज ५ सयको संख्यामा रहेको अनुमान छ ।

पूर्वमा सिंग्याही खोला र पश्चिम तिलापे खोलाको बीचमा गढी इलाका रहेको प्रमाणहरु भेटिएको छ । विभिन्न हातहतियारबाट सुसञ्जित अंग्रेज फौजलाई दुवै नदी थुनेर ठूलो संख्यामा भैंसी, राँगा र गोरुहरुको सिंगमा मसाल बाँधेर छोडेर गोर्खाली फौज ठूलो संख्यामा रहेको भान पारी अत्याएर उनीहरुलाई पराजित गरेके किंवदन्ती छ ।

पुराना रुखहरुमा तोपका गोलाले लागेको चोटको निशानासमेत भेटिने गरेको थियो । नेपाल एकीकरण अभियानमा योगदान पुर्‍याएको स्थलहरुको संरक्षणमा नेपाली सेनाले समेत चासो दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment