Comments Add Comment
कोभिड-१९ योद्धा १७ :

परिवारसँग पराई बनेर निरन्तर संक्रमितको उपचार

२० पुस, बुटवल । कोरोना भाइरस संक्रमणले विश्वलाई नै आतंकित बनाइरहेको थियो । रोगको त्रास जनतामा मात्रै होइन, स्वास्थ्यकर्मीमा पनि उत्तिकै थियो । नेपालमा देखिएका संक्रमितकै व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको भारत लगायतका मुलुकबाट नेपालीहरु स्वदेश फर्कने क्रम सुरु भइसकेको थियो ।

लुम्बिनी प्रदेश सरकारले बुटवल औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पताल मातहत कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेसंगै मेडिकल विभाग प्रमुख डा. सुदर्शन थापालाई फोकल पर्सन तोक्यो ।

उनी आफैं कोरोनाका जानकार थिएनन् । वुटवल झरेको आठवर्षमा सोच्दै नसोचेको जिम्मेवारी आइलागेपछि उनले अन्तर्राष्ट्रिय जर्नल र मिडियाहरूमा कोरोना भाइरसबारे बुझ्न थाले । अलमलमै रहेको अवस्थामा उनकै नेतृत्वमा कोरोना विशेष अस्थायी अस्पताल खुलिसकेको थियो ।

पीपीई, मास्कलगायत स्वास्थ्य सुरक्षा सामग्री आइपुगेका थिएनन्, जनशक्तिको अभाव थियो । डा. थापाले स्वास्थ्य सामग्रीको जोहो र जनशक्तिको व्यवस्थापन गर्दै ड्युटीमा खट्न पर्‍यो ।

‘कोरोना भाइरस संक्रमणबारे आफुलाई नै धेरै जानकारी थिएन’, उनी सम्झन्छन्, ‘त्रास र चुनौतीपूर्ण वातावरणमा पाएको जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने संकल्प गरेर संक्रमितको उपचार गर्ने टिम बनाएँ । बजारबाट रेनकोट ल्याएर पीपीई सेट बनायौं ।’

टिममा काम गर्दा सहज भयो

संक्रमितको उपचारमा डाक्टर र नर्सहरुको मेडिकल टिम बनाउन सजिलो थिएन । सबैलाई डर थियो, कोही तत्पर हुन्थेनन् । यद्यपि डा. थापाले सबैलाई मनाएर टिम बनाए, उपचार प्रक्रियाबारे तालिम आयोजना गराए । कन्सल्ट्यान्ट फिजिसियन थापा भन्छन्, ‘टिम बनेर ट्रेनिङ पनि गरेपछि निर्धक्क भएर संक्रमितको उपचारमा खटिन सहज भयो ।’

वैशाख १९ गते जटिल अवस्थाका संक्रमित कोरोना अस्पतालमा भर्ना भए । लक्षण नभएका र भए पनि सामान्य अवस्थाका संक्रमितलाई उपचार गरिहेको अवस्थामा आईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमित आउँदा सुरुमा ठूलै अन्यौल भयो ।

‘तैपनि, उपचारबाट बचाउनुपर्छ भन्ने भयो’, डा. थापा भन्छन्, ‘सम्भव भएसम्म सबै विधि प्रयोग गरेर उपचार गर्‍यौं र केही दिनमा बिरामीको अवस्था सुधार भयो । त्यसले टिमको मनोबल र आत्मविश्वास बढायो ।’

त्यसबेला बिषेशतः नर्सहरुले ५–६ घण्टासम्म पानी नखाई, शौचालय नगई ड्युटी गरेको उनी बताउँछन् । त्यसरी सेवामा खट्दा पनि कोरोना अस्पतालमा काम गर्नेहरुप्रति समाजका कतिपय व्यक्तिले असन्तुलित व्यवहार गरेको उनले बताए ।

‘कतिपय सहकर्मीलाई घरबेटीले घरबाट निकाल्ने, साथीभाई टाढिने जस्ता व्यवहारले मनोवैज्ञानिक असर गर्‍यो’, उनी भन्छन्, ‘तर विस्तारै त्यस्ता व्यवहार कम हुँदै गए ।’

परिवारसंग ‘पराई’

कोरोना अस्पतालमा खट्न थालेपछि डा. थापा बुटवलमै रहेका आमा, छोराछोरी र श्रीमतीबाट टाढिए । परिवारसंग घुलमिल फोनमा सीमित भयो । अस्पतालमा लगातार दुई हप्ता खटेपछि होटेल क्वारेन्टिनमा बस्नुपर्ने पर्ने नियम थियो ।

‘हरेक १४ दिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए घर जान मिल्थ्यो’, उनी भन्छन्, ‘तर, १४ दिनमा घर गएपनि परिवारबाट अलग क्वारेन्टिन बस्यौं । यसले गर्दा हाम्रो टिम नै आफ्नो परिवारसंग ‘पराई’ हुन पुग्यो । एउटै घरमा बस्दा पनि छोराछोरी नजिक हुन पाएनन् ।’

विदा नलिएकै सात महिना भयो । यतिका दिनसम्म ११ वर्षकी छोरी र ५ वर्षको छोरालाई काखमा नपाएको उनी बताउँछन् । उनीहरु नजिक आउन खोज्दा ‘काम छ है’ भन्दै उठेर हिँड्न पर्दा सारै पीडा हुने उनले बताए ।

बेड कम हुँदा तनाव

लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका संक्रमित बुटवलको कोरोना विशेष अस्पतालमा निर्भर छन् । डा. थापाका अनुसार ३६ बेडको अस्पतालमा १६ बेड आइसीयू र ५ वटा भेन्टिलेटर बेड छन् ।

प्रदेश सरकारले हाई डेफिसेन्सी युनिट (एचडीयू) बेड थप्ने घोषणा गरेको तीन महिना पुग्न लाग्दा पनि काम नहुदा विरामीको चाप थेग्न गाह्रो परेको उनी बताउंछन् । ‘बेड नभएर विरामी फर्काउन पर्दा तनाव हुन्छ’, डा थापा भन्छन् ।

उपचार गरेको करिब तीनसय संक्रमितमध्ये ४५ जनालाई बचाउन नसकेको दुःख पनि डा. थापाको टिमलाई छ । ‘भर्ना भएका संक्रमित उपचारपछि निको भएर घर जाँदा बडा खुशी लाग्छ’, डा. थापा भन्छन्, ‘भरमग्दुर प्रयास गर्दा पनि विरामी बचाउन नसक्दा असाध्यै पीडा हुन्छ ।’

दुई हप्तासम्म भेन्टिलेटरमा रहेका बिरामी निको भएर घर फर्कंदा आफ्नो टिमको खुशीको सीमा नरहेको उनी सम्झन्छन् ।

दीर्घ रोग नभएका अधिकांश संक्रमित निको भएको उनी बताउँछन् । आत्मबल बलियो बनाउने र डाक्टरको सल्लाह अनुसार प्रतिरोधी औषधि खानेहरु सहजै कोरोना मुक्त हुने उनी बताउँछन् ।

संक्रमण र मृत्यु दर बढ्दै गएको देख्दादेख्दै सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डको वास्ता नगर्ने जस्ता हेलचेक्र्याईं बढेको देख्दा डा. थापा चिन्तित छन् । बजारमा मान्छेहरुको ताल हेर्दा कोरोना सकिएझैं देखिने उनी बताउँछन् ।

‘यस्तो लापरवाहीले धेरै भयावह अवस्था निम्त्याउन सक्छ’, उनी भन्छन्, ‘हामी उपचारमा खटेकाहरु सावधानी र संयोगले जोगिएका हौं । सात महिनामा हाम्रो टिमका एकजना नर्स मात्र संक्रमित हुनुभयो । लापरबाही बढ्यो भने त कोही जोगिनेवाला छैनन् ।’

डा. थापाको विगत

गुल्मीको मुसिकोट नगरपालिका १ पौदी अमराईमा मध्यम वर्गीय परिवारमा जन्मेका थापाले रूपन्देहीको भैरहवास्थित ईन्द्रराज्यलक्ष्मी माविबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरे । पढाईमा अब्बल थापाले घरपरिवारको चाहना अनुसार सानैदेखि डाक्टरीलाई जीवनको लक्ष बनाएका थिए ।

एसएलसी पछि उनले नेपाल साइसन्स क्याम्पसबाट आईएस्सी, चितवन मेडिकल कलेज अफ साइन्सेजबाट एमबीबीएस र सन् २००९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट एमडी गरे । डा. थापाले २००५ मा सरकारी सेवामा नाम निकालेर गुल्मी जिल्ला अस्पतालमा ४ वर्ष काम गरेका थिए ।

यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप यो पनि पढ्नुहोस संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’ यो पनि पढ्नुहोस एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन् यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो ! यो पनि पढ्नुहोस ‘कोरोनाले मलाई जितिसकेको थियो…’ यो पनि पढ्नुहोस कोरोना कहरमा चिनिएका डाक्टर यो पनि पढ्नुहोस सुदूरमा खटिएका डा. अशोक यो पनि पढ्नुहोस कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन् यो पनि पढ्नुहोस उनको प्रतीक्षा कहिले सकिएला ? यो पनि पढ्नुहोस प्लाज्माथेरापीका नेपाली पायोनियर यो पनि पढ्नुहोस संक्रमित हुने पालो कुर्दै अरुको स्वाब परीक्षण यो पनि पढ्नुहोस सत्तालाई निरन्तर खबरदारी गर्ने डाक्टर यो पनि पढ्नुहोस कोरोना संकटमा राष्ट्रिय आविष्कार केन्द्रको भरथेग यो पनि पढ्नुहोस एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा यो पनि पढ्नुहोस क्वारेन्टिनमा बस्दा आमालाई सम्झिन्छु : डा. रुपेश गामी यो पनि पढ्नुहोस कोभिड व्यवस्थापनमा अब्बल गंगालाल अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment