Comments Add Comment

आकाश र संघर्षको उत्कृष्ट प्रदर्शनमा चितवन च्याम्पियन

२१ पुस, काठमाडौं । आकाश थापाको शतक अनी संघर्ष पौडेलले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको लागि बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा चितवन काठमाडौं जिल्लालाई १९३ रनको पराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

४० ओभरको खेलमा चितवनले दिएको २६१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २५.४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमै अलआउट भएको थियो । काठमाडौंका लागि रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंलाई अलआउट गर्न बलिङमा चितवनका संघर्ष पौडेलले ५ विकेट लिए । उनले ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चेर ५ विकेछ लिएका हुन् । यस्तै दीपेश श्रेष्ठले २ तथा गौतम केसी, दिवस आचार्य र ड्यानी इकवालले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ४० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २६० रन बनाएको थियो ।

चितवनका लागि ओपनर तथा विकेट किपर आकाश थापाले शतकीय पारी खेले । उनले ११९ बल खेल्दै १४ चौका र ५ छक्का मद्दतमा १ सय ३६ रन बनाए । यस्तै गौतम केसीले ३२, प्रतिक श्रेष्ठले २५ र रोविन शर्माले २४ रन बनाए । दिपेश श्रेष्ठले १९ र अजित भण्डारीले १६ रन बनाए ।

बलिङमा काठमाडौंका चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले समान १ विकेट लिए ।

चितवनका संघर्ष पौडेल फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।

उपविजेता बनेको काठमाडौंका इशान पाण्डे प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment