२२ पुस, काठमाडौं । ११ चैत २०७६ मा नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन सुरू हुनुअघि गुल्मीका श्रीधर पौडेल बिहान ४ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) पुस्तकालयमा पुग्थे ।
पुस्तकालयको गेट ६ बजे खुल्ने भएपनि बेलैमा लाइन नलागे सिट पाउन हम्मे–हम्मे पर्थ्यो । उनका अनुसार सिट ओगट्नकै लागि उनी दुई घण्टा अघि त्यहाँ पुग्थे ।
कोरोनापछि त्यो अवस्था पुरै फेरियो । एकै पटक ५० जना बसेर पढ्न मिल्ने कक्ष झण्डै १० महिना सुनसान रह्यो । बुधबारदेखि त्रिवि पुस्तकालय परिसरमा रहेको अध्ययन कक्ष खुलेपछि पौडेलले राहत महशुस गरेका छन् ।
लोकसेवा आयोग लिने परीक्षाको तयारीमा रहेका पौडेल अध्ययन कक्ष खुलेपछि आफ्नो दैनिकी पुस्तकालय हातामा नै बित्ने गरेको बताउँछन् । बाह्र वर्षमा खोलो फर्खिन्छ भने जस्तै १० महिनामा बन्द रहेको पुस्तकालय खुल्यो ।
सरकारले कोभिड–१९ कारण बन्द गरेको पुस्तकालय खोल्ने अनुमति दिने निर्णय गरेपछि भने पौडेल जस्ता धेरैलाई सजिलो हुने भएको छ । तर यति लामो समय पुस्तकालयमा बसेर पढ्न नपाउँदा पढाइमा गम्भीर नोक्सानी भएको देखिन्छ ।
विगत सम्झिँदै पौडेलले पुस्तकालय बन्द भएपछि आफ्नो अध्ययन शून्यप्रायः अवस्थामा पुगेको बताए । भन्छन्, ‘मसँग खासै किताब पनि छैनन्, पुस्तकालयकै भर थियो । लकडाउनका बेला पुस्तकालय बन्द भएपछि पढाइ शून्यप्रायः भयो ।’
मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयले सुरक्षा मापदण्ड तयार पारेर पुस्तकालय खोल्न सक्ने निर्णय गरेको छ । तर मन्त्रालयले सो निर्णयबारे पुस्तकालयहरूलाई जानकारी दिएको छैन । जसले गर्दा विद्यार्थीहरुले अझै पनि सहज रुपमा पुस्तकालयमा बसेर अध्ययन गर्न पाएका छैनन् ।
सरकारले आर्थिक क्षतिलाई छिटै सम्बोधन गरेपनि बौद्धिक रूपमा परेको असरलाई सम्बोधन नगरेको भन्दै केही पुस्तकालयले सरकारी निर्णयको बेवास्ता गरी अघिल्लो सातादेखि नै सेवा सञ्चालन गरिसकेका थिए भने केहीले माघको पहिलो सातादेखि नै पुस्तकालय खोल्ने तयारी थालेका थिए ।

गणना नहुने नोक्सान
पुस्तकालय र संग्रहालय जस्ता सेवा बन्द हुँदा हिसाब गर्न सकिने गरी नोक्सानी हुँदैनन् । तर, यसले दीर्घकालीन असर पुर्याउने गरी क्षति ब्यहोर्ने भए पनि सरकारले यसको संवेदनशीलता नबुझेर सबैभन्दा पछि पुस्तकालय खोल्ने निर्णय गरेको पुस्तकालयका अधिकारीहरु बताउँछन् ।
१० महिनासम्म पुस्तकालय बन्द हुँदा हजारौं अध्येताले भोगेको असुविधालाई हेर्ने हो भने यो अन्य क्षेत्रकोभन्दा धेरै रहेको बताउँछन्, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठ ।
काठमाडौं उपत्यकामा रहेका अन्य पुस्तकालयलाई छाड्ने हो भने पनि नेपालको सबैभन्दा ठूलो पुस्तकालय मानिएको त्रिवि केन्द्रीय पुस्तकालय बन्द हुँदा यसको प्रत्यक्ष असर दैनिक करिब २००० जनामा पर्ने गरेको छ । प्रत्यक्ष रुपमा यसमा असर परेजस्ता नदेखिए पनि यो झनै दीर्घकालीन असर पर्ने श्रेष्ठ बताउँछन् ।

केसर पुस्तकालय खुल्यो
सरकारले मापदण्ड पूरा गरेर पुस्तकालय खुला गर्ने निर्णय गर्नुभन्दा अघि नै १५ पुसदेखि कान्तिपथमा रहेको केसर पुस्तकालयले सेवा सुरु गर्न थालेको थियो । विद्यार्थीलाई अध्ययनबाट बञ्चित गर्नुहुन्न भन्ने सोचेर सरकारले अनुमति दिनुभन्दा पहिले नै सर्वसाधारणलाई प्रवेश खुला गरिएको पुस्तकालयका प्रमुख दशरथ मिश्र बताउँछन् ।
पुस्तकालय र संग्रहालय समेत एउटै भवनमा रहेको केसर महल भूकम्पका कारण जीर्ण भएपछि संग्रहालयको सेवा ६ महिनाअघिदेखि बन्द गरिएको छ ।
६५ हजार भन्दा धेरै पुस्तक रहेको पुस्तकालयले भने सामाजिक दुरी कायम गरेर सेवा सुरु गरेको हो । कोरोना महामारी अघिसम्म दैनिक करिब दुई सय जना पढ्न आउँथे । तर अहिले मुस्किलले ४/५ जना आउने गरेको मिश्रले बताए ।
केन्द्रीय पुस्तकालय माघदेखि खुल्ने
झण्डै १० महिनासम्म पुस्तकालयभित्र र पुस्तकालयको भवनसँगै रहेको अध्ययन कक्ष बन्द गरेको त्रिवि केन्द्रीय पुस्तकालयले लकडाउनमा पनि पुस्तक लैजाने र फिर्ता गर्ने सेवालाई भने बन्द गरेको थिएन । तर पुस्तकालय परिसरमा बसेर पढ्न नपाएपछि विद्यार्थीहरुले यसको प्रत्यक्ष असर ब्यहोरे ।
सरकारले खुला गर्ने निर्णय नगरेको भए पनि माघ पहिलो सातादेखि त्रिवि केन्द्रीय पुस्तकालय खोल्ने तयारी त्यहाँको व्यवस्थापनले गरेको थियो ।
पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ लामो समयसम्म सरकारको बाटो हेरेर बसेपनि सरकारले पुस्तकालयलाई कम प्राथमिकतामा राखेको बताउँछन् । त्रिवि पुस्तकालय निजामती सेवामा प्रवेश गर्न चाहनेदेखि विभिन्न लेखक र अध्येताहरूको प्रमुख गन्तव्य हो । ४ लाख ४० हजार पुस्तक, ६ लाख थेसिस र ७ लाख अन्तर्राष्ट्रिय जर्नल रहेको पुस्तकालयमा बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म विद्यार्थीहरुको भिड हुने गर्छ ।

एउटा कोठामा ५० जनाको दरमा तीनवटा कोठा रहेको अध्ययन कक्ष पुस्तकालयले नै निर्माण गरेको संरचना हो । १५० जना मात्रै अट्ने सो अध्ययन कक्षमा सिट पाउनकै लागि कैयौं विद्यार्थी बिहानै आएर केन्द्रीय पुस्तकालय बाहिर प्रतीक्षारत हुन्छन् । विद्यार्थीकै दबाबका कारण गत सातादेखि सो अध्ययन कक्ष खुला गरिएको छ । तर पुस्तकालयभित्र जान पनि माघदेखि खुला गर्ने तयारी रहेको उनी बताउँछन् ।
अहिले एकातिर विद्यार्थीहरूको पुस्तकालय खोल्न आउने दबाब र अर्काेतिर सरकारी नीतिको चपेटामा आफू परेको प्रमुख श्रेष्ठ बताउँछन् । भन्छन्, ‘माघदेखि सरकारले अनुमति नदिए पनि पुस्तकालयमा विद्यार्थीलाई प्रवेश खुला गर्ने तयारीमा छौं, विद्यार्थीको तीव्र दबाबका कारण हामीले बाध्य भएर गत सातादेखि प्राङ्गणमा रहेको अध्ययन कक्ष खुला गर्यौं । माघको पहिलो सातादेखि नै पुस्तकालय खुल्छ होला ।’
बाल पुस्तकालयको हरिबिजोग

भूकम्पपछि सुस्ताउँदै गएको केन्द्रीय पुस्तकालय र सँगै रहेको बाल पुस्तकालयको सेवा कोरोनापछि पूर्ण रूपमा बन्द भयो । भूकम्पमा मूल भवन भत्किएपछि आधाभन्दा धेरै पुस्तक सानो गौचरणस्थित महेन्द्र भवनमा सारेर आधा पुस्तकसँगै रहेको बाल पुस्तकालयमा राखे पनि त्यहाँ कोरोना महामारीसम्म बालबालिकाहरूको राम्रै आउजाउ हुन्थ्यो ।
सिंगै बाल पुस्तकालयलाई केन्द्रीय पुस्तकालयको प्रशासनिक कार्यको लागि प्रयोगमा ल्याएर एउटा हलमा मात्रै बाल पुस्तकालयलाई सीमित गरे पनि कोरोना महामारीका कारण भएको लकडाउनपछि बालबालिकालाई सेवा दिन पनि बन्द भयो । बाल पुस्तकालयमा ११ हजार बाल पुस्तकहरु छन् । मन्त्रिपरिषद्बाट पुस्तकालय खोल्ने अनुमति पाएकाले अब बालबालिकाले त्यहाँ गएर पढ्न पाउने भएका छन् ।
मदन पुस्तकालयको टेलिफोनबाटै सेवा
ललितपुरमा रहेको मदन पुस्तकालयले लकडाउनको अवधिमा पनि आफ्नो सेवालाई पूर्ण रूपमा बन्द गराएन । नियमित पुस्तक ल्याउन लैजानको लागिभन्दा पनि अभिलेखको रुपमा स्रोत खोज्न आउनेहरुको लागि विशेष रहेको यो पुस्तकालयले अहिलेसम्म भौतिक रूपमा विद्यार्थीलाई पुस्तकालयमा पढ्न खुला गरेको छैन । यो पुस्तकालय लकडाउनअघि पनि त्यति धेरै मान्छेको भिड लाग्ने पुस्तकालय त होइन ।
तर आउनेहरू अध्येता र अनुसन्धान कार्यमा सक्रिय हुनेहरू बढी सो पुस्तकालय धाउने गर्छन् । पुस्तकालयको संकलन विभागका निर्देशक राजीव सिंह पुस्तकालयले लकडाउनको समयमा पनि अध्येताहरूको जिज्ञासालाई टेलिफोनबाट सम्बोधन गर्ने प्रयास गरिएको जानकारी दिए । ‘हाम्रो पुस्तकालय धेरै मान्छे भेला हुने पुस्तकालय होइन । पहिले पनि दैनिक ४/५ जना अध्येता मात्रै पुस्तकालय आउने थिए’, सिंहले अनलाइनखबरसँग भने ।
पुस्तकालयमा हाल ४४ हजार पुस्तक, जर्नल लगायतका ५७०० शीर्षकका अन्य सामग्रीहरू, विभिन्न समयमा भएका राजनीतिक पर्चा, पम्प्लेट आदिलाई समेत डिजिटल भर्सनमा उतारेर राखिएको छ ।
‘धेरैले रिफ्रेन्स भेरिफाइ गर्नको लागि पुस्तकालयमा टेलिफोन गर्ने गर्छन्, हामीले सो सेवा बन्द नगरेका कारण रिफ्रेन्स भेरिफाइ गर्नेहरुको लागि त कुनै असर परेको छैन, थेसिसका लागि दिनभरि पुस्तक अध्ययन गर्न आउने अध्येताहरुको लागि चाहिँ समस्या परेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4