Comments Add Comment

लहडमा विमानस्थल निर्माण :  देशभर १९ विमानस्थल बन्द

बागलुङको बलेवा एयर्पोर्ट । फाइल तस्वीर

२२ पुस, काठमाडौं । विगतमा सञ्चालनमा आएका र कतिपय निर्माण नै नसकिएका गरी देशभर १९ वटा आन्तरिक विमानस्थल बन्द भएका छन् ।

सडक यातायात पुगेपछि हवाई यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायिक योजना नहुँदा र नेताको लहडमा खोलिएका विमानस्थलहरु बन्द भएका हुन् ।

आवश्यक अध्ययन नगरी नेताहरुको दबाबमा विमानस्थलहरु बन्दा ठूलो लगानी खेर गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु स्वीकार गर्छन् ।

‘लगानीका दृष्टिले नागरिक उड्डयन क्षेत्र निकै संवेदनशील हो, तर नेपालमा सामान्य मानियो’, एक अधिकारी भन्छन्, ‘विगतमा अमुक विमानस्थल आयोजना अगाडि नबढे महानिर्देशकको जागिरै जानेसम्मको अवस्था हुन्थ्यो ।’

अहिले देशभर ५४ विमानस्थल छन् । एउटा आन्तरिक र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । बनिसकेका ५४ मध्ये १९ वटा विमानस्थल गौचरणमा परिणत भएका छन् । बन्द भएकामध्ये कतिपय विमानस्थलमा परीक्षण उडानसम्म हुन सक्यो ।

नागरिक उड्ययन प्राधिकरणले काभ्रेमा विमानस्थल व्यवसायिक र प्राविधिक दुवै हिसाबमा अनुपयुक्त हुने निष्कर्ष निकाले पनि हरेक वर्ष बजेटमा पर्ने गरेको छ । यो विमानस्थलका लागि पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले लबिङ गरिरहेका छन्

व्यवसायिक सम्भावना नभएका ठाउँमा भोटको लागि विमानस्थल निर्माणको दबाब दिने प्रवृत्ति भने अहिले पनि रोकिएको छैन । यसको पछिल्लो उदाहरण हो- काभ्रेमा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थल ।

नागरिक उड्ययन प्राधिकरणले काभ्रेमा विमानस्थल व्यवसायिक र प्राविधिक दुवै हिसाबमा अनुपयुक्त हुने निष्कर्ष निकाले पनि हरेक वर्ष बजेटमा पर्ने गरेको छ । यो विमानस्थलका लागि पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले लबिङ गरिरहेका छन् ।

उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार, विमानस्थलहरु बन्द हुनुमा साना जहाजको अभाव पनि एउटा कारण हो । निजी कम्पनीहरु नाफामुलक गन्तब्यमा केन्दि्रत हुदा नेपाल वायुसेवा निगम लगभग साना जहाजबीहिन बनेको छ ।

निगमले दूर्गममा उडाउन ल्याएका ६ वटा चिनियाँ थन्किएको छ । साना जहाज भएका निजी कम्पनीहरु सिमीकोट, लुक्ला जस्ता नाफाका क्षेत्रमा केन्द्रित हुँदा दूर्गम भेगका अधिकांश विमानस्थलमा घाँस उमे्रका छन् ।

कालोपत्रे विमानस्थलको संख्या ३७

देशभरका ४५ विमानस्थलमध्ये ३७ वटाको धावनमार्गमा कालोपत्र गरिएको छ । यसैवर्ष बैतडी, बझाङ र बाजुराका विमानस्थलहरुमा कालोपत्रे गरी नियमित उडान सूरु गरियो । मसिनेचौर र कालीकोट विमानस्थलमा कालोपत्र भइरहेको छ ।

खोटाङको लामिडाँडा र मनाङको हुम्दे विमानस्थल कालोपत्रे गरिएपनि बन्द छ । कतिपय विमानस्थल हेलिकोप्टर उडान-अवतरणमा सिमित छ । सरकारले न बन्द विमानस्थल चलाउने विकल्प दिन सकेको छ न त पूर्वाधार थपेको छ ।

५४ विमानस्थलमध्ये आठवटा भने चौबिसै घण्टा चल्न सक्छन् । प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलसहित विराटनगर, चन्द्रगढी, धनगढी, भैरहवा, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा रात्रिकालीन उडानको सुविधा छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सम्भावना भएका क्षेत्रका विमानस्थल क्रमशः संचालन गर्ने बताउँछन् । गत वर्ष कालोपत्रे गरेका सुदूरपश्चिमका विमानस्थलहरुमा अहिले उडान भइरहेको उनले बताए ।

विगतमा सम्भावना बोकेका कतिपय विमानस्थलले भने अहिले व्यवसायिक सम्भावना गुमाएको उनी बताउँछन् । ‘स्याङबोचे, जिरी, मेघौली जस्ता विमानस्थल अब व्यवसायिक प्रयोजनमा आउने सम्भावना कम छ,’ उनले भने, ‘ति विमानस्थल चल्ने अवस्था अहिले छैन ।’

हव विमानस्थल

काठमाडौं, विराटनगर, नेपालगन्ज, भैरहवा र पोखरा

संचालनमा रहेका आन्तरिक विमानस्थल

बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा, डोटी, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, लामिडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, रुकुम चौरजहारी, रुकुम सल्ले, रुम्झाटार, साँफेबगर, सिमरा, सिमीकोट, सुर्खेत, ताप्लेजुङ, लुक्ला, थामखर्क र तुम्लिङटार

बन्द विमानस्थल

बागलुङ (बलेवा), दार्चुला, ढोरपाटन, डोल्पा (मसिनेचौर), जिरी, कांगेलडाँडा, लाङटाङ, मनाङ, मेघौली, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङबोचे, टीकापुर, गुल्मी, इलाम, खिजी चण्डेश्वरी, कालीकोट, कमलबजार

निर्माणाधिन विमानस्थल : अर्घाखाँची

निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल

निजगढ, गौतमबुद्ध र पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment