Comments Add Comment

वीरगञ्जबाट दुईजना बालक बेपत्ता

शनिबारदेखि बेपत्ता दुई बालक ।

२७ पुस, वीरगञ्ज । वीरगञ्जबाट दुईजना बालक बेपत्ता भएका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा वेपत्ता भएका हुन् । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए ।
शनिबार बिहान होम ट्युसन पढेपछि साइकल लिएर निस्केका उनीहरु घर फर्किएका छैनन् । बालकहरु परिवारको सम्पर्कमा नआउँदा परिवार चिन्तित छन् ।

दिनभर आफन्त साथीभाइकोमा खोजी गर्दा नभेटिएपछि शनिबार नै प्रहरीलाई खबर गरिएको छ । प्रहरी र परिवार मिलेर बालकहरुको खोजी भइरहेको छ ।

होम ट्युसनपछि घरबाट खेल्न निस्केको छोरा रातिसम्म नआएपछि खोजी सुरु गरिएको शिवेशको बुवा जगरनाथ कलवारले जानकारी दिए । ‘केही मागेर नल्याइदिएको पनि हैन, घरमा झगडा गरेको पनि थिएन,’ उनले भने, ‘घरबाट सँधै जस्तै निस्केको मान्छे फर्केर नआएपछि साथीभाइ आफन्तकोमा खोजी गर्‍यौं । नभेटिएपछि प्रहरीको सहयोग लिएका छौं ।’

यातायात व्यवसायी कलवारको होटल व्यवसायमा समेत लगानी छ । त्यसैले बालकहरुको अपहरण भएको हुनसक्न आशंका कतिपयले गरेका छन् । तर बालकहरु अपहरणमा परेका हुन वा कतै गएका हुन ? यकिन भइसकेको छैन । अहिलेसम्म कतैबाट फोन नआएको कलवारले बताए । प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली पनि बालहरुको खोजीमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे जानकारी आए लगत्तै सूचना संकलन र खोजी सुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले बालकहरुको खोजीमा प्रहरी गम्भीर भएर लागि परेको बताए ।

‘घरबाट साइकल र व्याग लिएर निस्किएका रहेछन् । कता गए भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘ खोजीका लागि प्रहरी टोली खटाएका छौं । उनीहरुले हिजैदेखि काम गरिरहेका छन् ।’

इलाका प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले परिवारसँग सम्पूर्ण सूचना लिएर सम्भावित ठाउँहरुमा खोजी गरिरहेको बताए । ‘बालकहरु घरबाट निस्केपछि कतातिर गए भनेर वीरगञ्जका सबैजसो सीसीटीभीहरु हेरिरहेका छौं,’ उनले भने, ‘ एक ठाउँको सीसीटीभीमा देखिएको छ । उनीहरु गएको रुट थाहा भएपछि खोज्न थप सहज हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment