Comments Add Comment

१६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण

२९ पुस, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका समाजसेवी दीपकुमार भण्डारी, डाक्टर लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

करिब ६ लाखको लागतमा कक्षा तीन सम्मका विद्यार्थीहरुका लागि कक्षा कोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तकहरु उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए ।

विज्ञहरुबाट छानिएका पुस्तकहरुको अध्ययनसँगै स-साना विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको भण्डारीको भनाइ थियो ।

शिक्षाविद् समेत रहेका डाक्टर आचार्यले विद्यार्थीहरुमा पठन-पाठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाहरुको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको धारणा राखे ।

विद्यार्थीहरुलाई उनीहरुको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको दाबी थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिविना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।

राजधानीमा मंगलवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीहरुमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

सामुदायिक विद्यालयहरुबाट सुरु गरिएको यस्तो अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको उनीहरुले बताए । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment