Comments Add Comment

केपी ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने भयो : माधव नेपाल

१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि अनुशासनको थप कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । विघटनलाई असंवैधानिक भनेको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । यस्तै संसदीय दलको नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

ओली समूहले भने प्रचण्डको कार्यकारी अधिकार खोसेर केन्द्रीय कमिटी विस्तार गरेको छ ।

दुबै समूहले अरु कारबाही गरेको छैन र, आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

तर ओलीले गुटगत गतिविधि गर्दै अनुशासन उल्लंघन गरेकाले थप कारबाही गर्नुपर्ने अवस्था आएको अध्यक्ष नेपालले बताए । नेपाल वुद्धिजीवी संगठनले बिहीबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । यसबारे स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

नेताहरुका अनुसार शुक्रबार बस्ने प्रचण्ड–समूहको स्थायी कमिटी बैठकमा यसबारे प्रस्ताव आउनसक्छ ।

अध्यक्ष नेपालले ओलीसँग फेरि मिल्ने सम्भावना नरहेको समेत बताए । ‘धेरै मानिसहरुको मनमा आशंका रहेको छ, फेरि दुवै मिल्छन् कि क्या हो ! भित्रभित्रै केही भइरहेको छ कि ! किनभने बामदेव कमरेड केपीलाई सुधार्छु, मिलाउछु भनेर लाग्नुभएको छ’ अध्यक्ष नेपालले भने, , ‘कमरेड प्रचण्डले मिलाउन खोज्दा खोज्दै भन्नुहुन्थ्यो तेल घस्दाघस्दै कुकुरको पुच्छर बाङ्गो, सोझो हुँदै भएन । अब बामदेवले बालुवा पेलेर तेल निकाल्न खोज्दै हुनुहुन्छ । केही निक्लिनेवाला छैन ।’

यो जुनीमा केपी ओली सुध्रिएलान भन्ने आफूलाई नलागेको भन्दै उनले भने, ‘उहाँलाई सुधार्न सकिन्छ भन्ने कसैलाई लाग्या छ भने त्यो भ्रम मात्रै हो । भ्रम नराखे हुन्छ ।’

नेकपाको दुबै समूहलाई फेरि मिल्न दबाव दिँदै नेता बामदेव गौतमले अनियान नै चालिरहेका बेला अध्यक्ष नेपालले ओली सुध्रिएर नेकपाका दुबै समूह फेरि एक हुने भन्ने भ्रम मात्रै रहेको बताएका हुन् ।

ओली प्रवृत्ति लोकतन्त्र विकासको बाधक र राजनीतिक पद्धतिमा अवरोधक भएको उल्लेख गर्दै उनले भने, ‘उहाँ रहेसम्म यो देश संकटमा नै गुज्रिरहन्छ । उहाँलाई बरु आनन्दका साथ विश्राम गरेर बस्नका लागि वामदेव कमरेडले पनि भन्नुहोस् । अब उहाँको बोझ यो देशले बोक्न सक्दैन ।’

प्रचण्डबाट धोका पाइनेवाला छैन

ओली समूहले माधव नेपाल, प्रचण्डमा बिलिन भयो भनेर भ्रम पैदा गर्न खोजिएको भन्दै उनले त्यसको खण्डन गरे । प्रचण्डबाट धोका पाइन्छ कि भन्ने नरहेको उनले बताए ।

‘कमरेड प्रचण्डले प्रष्ट पार्नुभयो हाम्रो पार्टीमा अहिले हामी दुईको हैसियत बराबर छ । आलापालो अध्यक्षता गर्ने कुरा गरेका छौं’ अध्यक्ष नेपालले अगाडि भने, ‘अस्तिको स्थायी समितिको अध्यक्षता मैले गरेको थिएँ । मेरो नाम एक नम्बरमा, उहाँको नाम दुई नम्बरमा थियो । आजको बैठकको अध्यक्षता उहाँले गर्नुहुन्छ, उहाँको नाम एक नम्बरमा, मेरो नाम दुई नम्बरमा हुनेछ । जुन कुरा केपी ओलीबाट भएन, त्यो प्रचण्डले व्यवहारमा देखाउनुभएको छ ।’

कार्यक्रममा तत्कालिन एमाले निकट बुद्धिजीवीहरु पनि थिए । उनीहरुमा प्रचण्डबाट धोका पाइएला कि आशंका हुनसक्ने उल्लेख गर्दै त्यस्तो शंका नगर्न आग्रह गरेका छन् । ‘तपाईंहरुको मनमा पनि होला– कता कता खै कमरेड, पछि धोका पाइने हो कि ! कुनै धोका पाइनेवाला छैन । नचिनेको अचानक प्रकट भएको प्रचण्ड होइन । चार दशकदेखि व्यवहार गरेको व्यक्ति हो,’ नेपालले थपे, ‘पञ्चायतविरोधी आन्दोलनमा हामी संगसगै अगाडि बढेका हौं र गणतन्त्रको आन्दोलनमा पनि, शान्ति प्रक्रियाको अभियानमा पनि ।’

प्रचण्डसँग सहकार्यबारे अझ ब्याख्या गर्दै भने, ‘कहिलेकाहीँ पौठेजोरी पनि खेलेका हौं, पौठेजोरी खेल्दाखेल्दै फेरि अंकमाल पनि गरेका हौं । अगाडि पनि बढेका हौं । राजनीतिमा त यस्तै भइरहन्छ । अहिले फेरि हाम्रो विचार मिलेको छ । अहिले हाम्रो सोच मिलेको छ । अहिले हाम्रो चिन्तन मिलेको छ ।’

प्रचण्डसँगै मिलेर लोकतान्त्रिक मुल्य–मान्यतामा आधारित क्रान्तिकारी पार्टी बनाइने उनले बताए । पार्टी निर्माणदेखि परिवर्तनका एजेण्डासम्मका सोचहरु प्रचण्डसंग मिलेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफूहरु समाजवाद उन्मुख जनताको जनवादमा केन्द्रित भएर अगाडि बढ्ने बताए । २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादको सम्रिश्रणको आधारमा समाजवाद उन्मुख जनताको जनवाद भनिएको उनले बताए ।

तत्कालिन नेकपा एमालेले जनताको बहुदलीय जनवाद (जबज) भन्दै आएको थियो भने तत्कालिन माओवादी केन्द्रले २१ औं शताब्दीको जनवाद भन्ने गरेको थियो । पार्टी एकीकरणपछि नेकपाले समाजवाद उन्मुख जनताको जनवाद भन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment