Comments Add Comment
सन्दर्भ भूकम्प सुरक्षा दिवस :

पटक-पटक भूकम्प आयो तर हामीले सिक्न सकेनौं पाठ

२०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकको तत्कालीन दृश्य

आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । १९९० सालको महाभूकम्पमा पुगेको क्षतिको सम्झनामा २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष नेपाल भूकम्पीय जोखिममा रहेको बताइरहे पनि यसको सुरक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेको जानकारहरू बताउँछन् ।

नेपालमा भूकम्प प्रतिरोधी भवन निर्माणको मार्ग दर्शनको लागि बनेको भवन निर्माण संहिता इन्जिनियरिङ विषयका विद्यार्थीलाई अझैसम्म पनि नपढाइनुले पनि हाम्रो अपरिपक्वतालाई स्पस्ट पारेको जानकारहरू बताउँछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको द्वेमासिक प्रकाशन ‘पुनर्निर्माण’को असोज-कात्तिक अंकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक सम्पदाको पुनर्निर्माणमा ६ वटा मुख्य पाठ सिकेको उल्लेख गरेका थिए ।

पहिलो, पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माण गर्दा समय र धैर्यता आवश्यक छ, हतारो गर्दा सम्पदाको मौलिकता हराउन सक्छ ।

दोश्रो, हाम्रा सम्पदाहरूको संरक्षण र पुनर्निर्माण गर्नुपूर्व आवश्यक अध्ययन र अनुसन्धान गरी हाम्रो परम्परागत प्रविधि, शैली र निर्माण सामाग्रीका बारेमा स्पष्ट हुनु आवश्यक छ ।

तेश्रो, स्थानीय समुदाय र सरोकारवालाहरूको सुझाव सुन्नु आवश्यक छ । उनीहरूसँगको समन्वय र सहकार्यले सम्पदाप्रति अपनत्व बढ्छ ।

चौथो, हाम्रा पुर्खाहरूले छाडेर गएका हाम्रा सम्पदाहरूभित्र हाम्रो आफ्नै बेजोड कलात्मकता र प्रविधि लुकेको छ, त्यसलाई उजागर गर्दै हामीले हाम्रा सन्ततिलाई सिकाउनु पर्नेछ र उक्त प्रविधिमा थप विकास गर्नु आवश्यक छ ।

पाँचौं, हाम्रा सम्पदा हाम्रा अमूल्य निधि हुन् । यसको संरक्षणबाट हामी हाम्रो मुलुककै पहिचानलाई थप सुदृढ बनाउन सक्छौँ र छैठौं पाठ हो, मूर्त सम्पदाको संरक्षण गर्दा हामीले अमूर्त सम्पदाको संरक्षण गर्नमा उत्तिकै ध्यान दिनु आवश्यक छ ।

चीनले पुनर्निर्माण गरिदिएको दरबार हाइस्कुल

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले यस्तो बताइरहँदा हामीले पुरातात्विक क्षेत्रको पुनर्निर्माणमा नै विदेशी निकायलाई गुहारेर अर्काे भूल गरिरहेको जानकारहरु बताउँछन् ।

‘सांस्कृतिक धरोहर एवं अस्पतालहरूको पुनर्निर्माणमा समेत विदेशीको मुख ताक्नु लज्जास्पद विषय हो’ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का पूर्वअध्यक्ष आमोदमणि दीक्षित भन्छन् ‘सकेसम्म त विदेशीको प्राविधिक सहायतालाई न्यूनीकरण गर्दै जानुपर्छ । तर हामी भने सांस्कृतिक धरोहर जस्ता संवेदनशील क्षेत्रमा नै विदेशीको सहयोग सहर्ष स्वीकार्छाैं ।’

तथ्यांकलाई हेर्ने हो भने २०७२ सालको भूकम्पमा पुरिएकालाई उद्दार गर्नको लागि अन्तर्राष्टि्रय टोली तामझामका साथ नेपाल आयो । त्यो टोलीले नेपालमा फसेका मुस्किलले डेढ दर्जन मान्छेलाई मात्रै उद्दार गर्‍यो । जबकि नेपाली सेना, प्रहरी आदिले ४ हजार जना र छिमेकीले १८ हजार जनालाई उद्दार गरेका थिए । यसले पनि विदेशी प्रविधिको भर पर्नेभन्दा पनि स्वदेशीलाई नै दक्ष बनाउनुपर्छ भन्ने ज्ञान दिएको छ । यो अनुभवलाई पनि हामीले कार्यान्वयन गर्न सकेका छैनौं ।

भूकम्पपछि पनि हामीले सिक्न नसकेका धेरै विषयहरू छन् भन्ने कुरालाई पुष्टि गर्ने केही आधारहरू पनि छन् । अध्यक्ष दीक्षित ४ वटा विषयमा विभाजन गरेर समग्र हामीले सिक्न नसकेको ज्ञानलाई विश्लेषण गर्छन् ।

पहिलो, हामी धेरै विदेशीको मुख ताक्ने भयौं, हामी आफू सिक्ने भन्दा पनि अरूले सिकाइहाल्छ नि भन्ने तिर धेरै ध्यान दिन थाल्यौं ।

दोस्रोमा कानुनी र संगठन संरचनालाई दीगो रुपमा समेट्न सकेनौं, जसका कारण दीर्घकालीन योजना बन्न सकेन ।

तेस्रोमा संघीयतालाई व्यवहारिक रुपमा लागू गर्दै भूकम्प प्रतिरोधी संरचना निर्माणलाई स्थानीय तहसम्म पुर्‍याउन सकेनौं । र चौथोमा जसले भूकम्पको पूर्वतयारीमा सकारात्मक कदम चालेको छ त्यसको राम्रो पक्षलाई पनि सरकारले आत्मसाथ गर्न सकेन ।

दीक्षितले भनेजस्तै भूकम्पपछिको पुनर्निर्माणको लागि विदेशीको मुख ताकेको विषय विभिन्न सांस्कृतिक सम्पदामा विदेशी निकायलाई पुनर्निर्माण गर्न दिनुले पनि हामीले अझै धेरै सिक्न बाँकी छ भन्ने स्पष्ट हुन्छ भन्ने दीक्षितको मत छ ।

विदेशी दातृ निकायको सहयोगमा निर्माण भएका धेरै संरचनामा विदेशी सिप र प्रविधिको प्रयोग भएको छ, जुन हाम्रोलागि फाइदाजनक नभएको जानकारहरु बताउँछन् । अमेरिकी सहयोग संस्था युएसएडले जारी गरेको सूचना अनुसार भूकम्पपछिको पुनर्निर्माणमा तालिम तथा प्राविधिक सहायताको नाममा मात्रै अमेरिकाले नेपाललाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे विदेशीको अधिकांश सहयोग अनुदानभन्दा पनि वैदेशिक ऋणको रूपमा प्राप्त भएको बताउँछन् । ‘टर्न कि’ अर्थात् पूर्ण निर्माण सम्पन्नपछि मात्रै हस्तान्तरण गर्ने परियोजनाबाहेक अन्य पुनर्निर्माणका कार्यमा विदेशीको प्रत्यक्ष प्राविधिक सहयोग नलिइएको उनले स्पष्ट पारे ।

भक्तपुरका एक भूकम्प पीडित

एनसेटको प्रतिवेदन अनुसार नेपालमा ठूला प्रकृतिका भूकम्प एक शताब्दीमा एक पटक, मध्यम खाले क्षति गर्ने भूकम्प ५० वर्षमा एक पटक र सामान्य तर धनजनको क्षति गर्ने भूकम्प प्रत्येक २०/२० वर्षको अन्तरमा आउने गरेको छ । हामीले विगतमा धेरै भूकम्प भोगेको भए पनि सम्झना र क्षतिको विवरण यकिन भएको वि.सं. १९९० सालपछिका भूकम्प मात्रै हुन् । त्यसपछि हामीले मुख्यगरी ३ वटा विनाशकारी भूकम्प भोगेपनि त्यसबाट पर्याप्त ज्ञान सिक्न नसकिएको दीक्षित बताउँछन् ।

२०४५ सालको भूकम्पपछि नेपालमा बिस्तारै भूकम्पबाट जोगिने र घर बनाउँदा भूकम्पप्रतिरोधी बनाउने प्रेरणा दिन थालिएको हो । गैरसरकारी संस्थाहरुले स्कुलस्कुलमा यसका तालिम र कक्षाहरू चलाउन थाले । जसले गर्दा सोचेभन्दा कम क्षति भोग्नुपरेको पूर्वअध्यक्ष दीक्षित बताउँछन् । ‘विद्यालयस्तरमा प्रसारण गरिएको भूकम्प शिक्षाको प्रभावकारिता बढेको छ’ उनी भन्छन् ‘यद्यपि निर्माणको समयमा गरिने लापरबाही हेर्दा भने हामीले अझै सिक्न धेरै बाँकी रहेको बुझिन्छ ।’

सरकारले न त विपद् जोखिम न्यूनीकरणको विषयमा व्यवस्थित हिसाबले शिक्षा दिने गरेको छ न त एउटा दिगो निकाय गठन गरेर यसको दीर्घकालीन योजना बनाएर काम नै गरेको छ । भूकम्पपछिको पुनर्निर्माणकोलागि स्थापना गरिएको राष्टि्रय पुनर्निर्माण प्राधिकरण समयसीमाका कारण दीर्घकालीन योजना बनाएर अघि बढ्न सकेको छैन ।

अहिले भुइँचालोको अघिसम्म एनसेटले नै शक्तिशाली भूकम्प आयो भने यसले १ लाखसम्म मान्छे मर्नसक्ने दाबी गरेको थियो । तर मृत्युको तथ्यांकलाई ९ हजारको हाराहारीमा सीमित गर्नसक्नु ३० वर्षको अथक प्रयासको देन हो भन्छन् दीक्षित ।

नेपालमा सम्भावित भूकम्पको क्षतिको बारेमा सन् २००२ मा गृह मन्त्रालय र जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) ले गरेको अध्ययनमा पनि काठमाडौंमा ठूलो भूकम्प आएको खण्डमा ४० हजारसम्मको मृत्यु, ९५ हजार जना घाइते हुन्छ भन्ने आकलन गरेको थियो । जसमा ६० प्रतिशत घर ध्वस्त हुन्छ भन्ने अनुमान गरिएको भए पनि २०७२ सालको उत्तिकै शक्तिशाली भूकम्पबाट पनि सोचेकोभन्दा निकै कम क्षति भयो ।

कति छन् विदेशी सहयोगमा सञ्चालित आयोजना

पुनर्निर्माणकै क्रममा भारत र जापानले गरेको ऋण वा अनुदान सहयोगको पुनर्निर्माणमा प्राविधिकहरू पनि सम्बन्धित देशबाट नै आउने गरेको पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता घिमिरे बताउँछन् ।

दीक्षित भने नेपाली माटो सुहाउँदो निर्माणको लागि मौलिक सिकाइलाई नै व्यवस्थित गर्दै लैजानुपर्ने भन्दै पटकपटकको भूकम्पमा पनि हामीले सिक्न नसकेको मुख्य पाठ यही रहेको बताउँछन् ।

२०७२ सालको भूकम्पको समयमा ‘भूकम्पले मान्छे मार्दैन, हामीले बनाएको संरचनाले मार्ने हो’ भन्ने भनाइ चर्चामा आयो । तर त्यो चेत लामो समय चल्न सकेन । अहिले एक आनामा बन्ने घरहरु प्रशस्तै देखिन्छन् । मुलुक संघीयतामा गए पनि प्राविधिक सिकाइको काम भने स्थानीय तहसम्म पुग्न नसकेका कारण स्थानीय तहले पूर्ण भूकम्प प्रतिरोधी भवन बनाएका छन् भन्नेमा अझै शंका रहेको जानकारहरु बताउँछन् ।

नेपालको भूकम्प संहिता अझै हुँदैन पढाइ

नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहिता निर्माण गरिए पनि झण्डै तीन दशकसम्म पनि पाठ्यक्रममा राखिएको छैन । पुल्चोक इन्जिनियरिङ कलेजमा अध्यापनरत त्रिविका प्राध्यापक प्रेमनाथ मास्केले भूकम्प प्रतिरोधी भवन बनाउने विषय उल्लेख रहेको राष्टि्रय भवन संहिता १९९४ अहिलेसम्म पाठ्यक्रममा नराखिएको बताए ।

जानकारहरु यसलाई नै विदेशीको मुख ताकेको उत्कृष्ट प्रमाण मान्छन् । केही आवश्यक परेमा विदेशीले सहयोग गरिहाल्छन् भन्ने मान्यताका कारण पनि अहिलेसम्म विद्यार्थीलाई यसबारेमा अध्यापन नगराइएको उनीहरुको तर्क छ ।

‘नेपालको पुनर्निर्माणमा नेपाली भवन संहितालाई समावेश नगरेर विदेशी प्राविधिकको सहयोग लिनुजति लज्जास्पद के हुन्छ अरू ?’ दीक्षित भन्छन् ‘तीन दशकसम्म त्रिविले विपद् जोखिम न्यूनीकरणमा ३ दशकमा केही पनिगरेको देखिँदैन । त्यसैले हामीले जति सिक्यांै भने पनि व्यावहारिक रूपमा केही सिकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment