Comments Add Comment

मन्त्री पद अस्वीकार गरेका राई भन्छन् : देश संकटमा पर्दा मन्त्री बन्न सक्दिनथेँ

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सात मन्त्रीले राजीनामा दिएनन मात्र, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो । एउटा समूहको नेतृत्व स्वंयम प्रधानमन्त्री ओलीले गरे भने अर्को समूहको नेतृत्व प्रचण्ड-माधवकुमार नेपालले गरे ।

अर्को पक्षमा लाग्न लागेका केन्द्रीय सदस्यहरुलाई आफूतिर तान्न प्रधानमन्त्री ओलीले मन्त्री अफर गरे । प्रधानमन्त्री ओलीले पुस १० मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रभु साह, गौरीशंकर चौधरी, दावा लामाहरु गुट फेरेर मन्त्री भए ।

यस्तै अफर पदम राईलाई दिएको पाइएको छ । गृहमन्त्री रामबादुर थापा बादल निकट नेताहरुले गरेको प्रस्ताव राईले अस्वीकार गरे ।

देश संकटमा परेका बेला मन्त्रीको लोभमा नफस्ने राईको जवाफ थियो । गृह जिल्ला भोजपुर पुगेका राईले अनलाइनखबरसँग भने, ‘देश संकट पर्दैछ भनेर थाहा पाएपछि केहीले छँदाखाँदाको मन्त्री छोड्छन् । कोही भने मन्त्री खान सिद्धान्त विचार छोडेर दौडेछन् । मैले त्यस्तो गर्न सक्दिन ।’

२०६२/०६३ को जनआन्दोलन पश्चात गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका राईले बादलसँगै पार्टी विभाजन गरेर पुष्पकमल दाहाल प्रचण्ड छोडेका थिए । तर फेरि नेकपामा फर्किएका राई अहिले संविधान र व्यवस्था जोगाउने बेला भएको बताउँछन् ।

जनताको विश्वासमा धोका दिएर गद्धारी भएको बताउने राई भन्छन्, ‘नेपाली जनताले जसरी विश्वास गरेका छन्, नेताहरुबाट गद्धारी भयो । लोभपापमा दौडियो । धोकेबाज, अवसरवाद र स्वार्थले देखियो ।’

पाँच वर्ष सरकार चलाउन पाएको जनमत विपरीत तीन वर्षमै संसद विघटन गर्नु गद्धारी भएको राईको निष्कर्ष छ । ‘पाँच वर्ष सरकार चलाउ भनेर जनमत दिइएको थियो । तीनै वर्षमा फेरि भोट माग्न जानुलाई बुद्धि नभएको भन्दा अरु के भन्ने ? के मुख लिएर साथीहरु जान्छन् ?’, राई भन्छन् ।

संविधानको अक्षरंश पालना गर्नुपर्ने नै भक्षक बनेको उनको टिप्पणी छ । ‘संविधानको अक्षरंश पालना गर्नुपर्नेले नै संविधान कुल्चिएपछि देश कसरी चल्छ ? देश अराजकतामा जान्छ । मान्नुपर्नेले नमानेपछि अरु कसलाई मान भन्ने ?’, राईले प्रश्न गरे ।

कांग्रेसले दुवै हातमा लड्डु पायौं भन्नु मूर्खता रहेको राई बताउँछन् । ‘घरमा आँगो लागेको छ, काँग्रेसले मेरो कोठा सुरक्षित छ भन्ने निष्कर्ष निकाल्नु मूर्खता हो । घर खरानी हुँदा कोठा पनि जल्छ’, राई भन्छन् ।

संविधानसभाबाट जारी संविधान जोगाउनु काँग्रेसको पनि दायित्व भएको उनी बताउँछन् । ‘नेपाली जनताको भावनामाथि कुठराघात भइरहँदा काँग्रेसलाई मजा आउँछ । चुनाव जितेर मात्रै हुन्न । भोलि प्रधानमन्त्री बन्नेले पनि विघटन गरिदिन्छ । देशमा चुनाव मात्रै गरिरहने त ?’, उनी भन्छन् ।

देश र संविधान जोगाउन सवै अग्रगामी शक्तिहरु एक हुनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment