Comments Add Comment

नम्बर एक बरियताका रत्नजितलाई हराउँदै प्रिन्स फाइनलमा

४ माघ, काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराइज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको सेमिफाइनलमा प्रिन्सले राष्ट्रिय वरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङलाई २-१ ले हराए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट प्रिन्सले २१-१४ ले जित्दै अग्रता बनाएका थिए । दोस्रो सेटमा रत्नजितले पुनरागमन गर्दै २१-१५ ले आफ्नो पक्षमा पार्दै खेल तेस्रो सेटमा पुर्‍याए ।

निर्णायक सेटमा सुरुवातदेखि नै रत्नमाथि दबाब राखेको प्रिन्सले २१-१५ ले सेट जित्दै खेल आफ्नो पक्षमा पारेका हुन् ।

नेपाल नम्बर वान तथा लगातार आठ पटकका विजेता रत्नजितमाथि प्रिन्सले एकलमा जित हात पारेको यो लगातार दोस्रो पटक हो । डेढ महिना नपुग्दै प्रिन्सले रत्नलाई फेरि पराजित गरेका हुन् । प्रिन्सले मंसिर अन्तिम साता तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियस्तरको पुरुष एकलको सेमिफाइनलमै रत्नलाई सोझो सेटमा पराजित गरेका थिए ।

प्रिन्सले अब उपाधिका लागि एपीएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धात्मक बनेको अर्को सेमिफाइनलमा धामीले पनि सेनाका प्रफुल महर्जनलाई २-१ को सेटमा हराए । धामीले प्रफुललाई २१-१२, १८-२१, २१-१२ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ वरियताको स्पर्धामा जेशिका गुरुङ र रशिला महर्जन फाइनल पुगेका छन् ।

एपिएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङलाई २१-१३, २१-१५ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।
यस्तै अर्को सेमिफाइनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीलाई २१-६, १८-२१, २१-१२ ले पराजित गरिन् ।

सुरोज र पविनको जोडी फाइनलमा

नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा फाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाइनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनलाई हराए । सुरोज र लिनथेपको जोडीले १८-२१, २१-१५, २१-१३ को जित निकालेको हो ।

महर्जन र लिनथेपको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाइको जोडीमाथि २१-१०, २१-१६ को जित निकालेको हो ।

यस्तै महिला युगलमा एफिएफका जेसिका गुरुङ र सुनयना मुखियाको जोडी फाइनल प्रवेश गर्यो । जेसिका र सुनयनाको जोडीले बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र सिमा राजबंशीको जोडीलाई २१-१५, २१-१५ ले हरायो ।

यस्तै अर्को स्पर्धामा सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले जित निकाल्यो । गिरी र महर्जनको जोडीले कैलालीका प्रार्थना देउवा र एलिना तिरवाको जोडीलाई २१-५, २१-८ ले पराजित गरेको हो ।

१६ बरियता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधीका लागि भिड्ने भएका छन् । देवराजले सेनाका डेभिड थापामगरलाई २४-२२, २१-१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी इन्द्र बहादुर महतालाई २१-६, २१-१२ ले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।

यस्तै महिलाको १२ बरियता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्रार्थना देउवा विजयी भइन् । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१-१२, २०-२२, २१-१९ ले पाखा लगाइन् । अब देउवाले उपाधिका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपीएफकी प्रक्षा राईलाई २१-१३, २१-११ ले पराजित गरिन् ।

ब्वाइज यु १७ एकलमा सेनाका भोज बहादुर गुरुङ्ग र आयुष्मान नागरी उपालीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । भोजले पाँचथरका एशिया जवेगुलाई २१-१४, १४-२१, २१-१४ ले तथा आयुष्मानले १७-२१, २१-१९, २१-१७ ले पराजित गरे । गर्ल्स १७ मा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१-३, २१-१ को सहज जित निकालिन् ।

रशिलाले उपाधिका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् । रोजले कैलालीकी प्रार्थना देउवालाई महिला एकलमा भएको हारको बदला लिँदै २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष भेट्रान्स ४५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल लाखेको जोडी, पाल्लाका बसन्तलाल बज्राचार्य र महेशमान बज्राचार्यको जोडीलाई २१-१५, २१-१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब श्रेष्ठ र लाखेको जोडीले फाइनलमा पोखराका शोभाकर भन्डारी र नविन पराजुलीको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । भन्डारी र पराजुलीको जोडीले बिराटनगर ब्याडमिन्टन क्लबका जीवन बोगटी र डिल्ली राम डाँगीको जोडीलाई २२-२०, २१-१८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment