Comments Add Comment

भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई महत्व नदिएको देखियो

४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् ।

भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद समाधान गर्न ठोस सहमति भएको दाबी गरेपनि आधिकारिक दस्तावेजले त्यो देखाउँदैन ।

त्यसैगरी, नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने सम्बन्धमा पनि प्रगतीको अपेक्षा थियो । तर, यी दुवै महत्वपूर्ण विषय बैठकको औपचारिक एजेण्डा बनेन ।

भारतले ज्ञवालीको भ्रमणलाई खासै प्राथमिकता दिएनन् । संयुक्त आयोगको बैठकमा भाग लिने र भारतिय रक्षामन्त्री राजनाथ सिंहसँग बाहेक उनको अन्य राजनीतिक भेटघाट भएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुन पाएन् ।

भारतले मोदीसँगको भेटलाई भ्रमण तालिकामा नराखी कुनै उपयुक्त समयमा भेट गराउने आश्वासन दिएको थियो तर त्यो हुन सकेन ।

नेपाल र भारत सम्बन्धलाई लामो समयदेखि नजिकबाट नियालिरहेका र नेपाल–भारत प्रबुद्ध समूहको सदस्यको रुपमा काम गरेका सूर्यनाथ उपाध्यायसँग ज्ञवालीको भारत भ्रमणबारे गरिएको कुराकानी :

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण कस्तो रह्यो ?

भ्रमण एकदमै सामान्य रह्यो । भ्रमणमा कुनै पनि ठूलो उपलब्धी भएन । मैले बैठकको माइन्युट हेर्न पाएको छैन । नेपाल र भारत दुवैले प्रकाशित गरको प्रेस विज्ञप्ति हेरें । यो एकदमै सामान्य बैठक भएको छ, कुनै विषयमा ब्रेक थ्रु भएजस्तो लाग्दैन ।

दुई मुलुकबीच वार्ता चाहिं सुरु भएको छ । भारतको तर्फबाट कोभिड–१९ को भ्याक्सिन दिने प्रतिबद्धता भारतले जनाएको छ, जुन सकारात्मक छ । अरु त सामान्य लाग्यो, उपलब्धी भन्ने छैन, खाली वार्ता चाहिँ सुरु भएको छ ।

ज्ञवालीको भारत भ्रमणप्रति हाम्रा अपेक्षाहरु चाहि के के थिए ?

अपेक्षा त धेरै हुन्छ । हाम्रो महत्वपूर्ण प्राथमिकता सीमा विवाद हो । यस विषय समाधानका लागि एउटा समयावधी तोकिएको भए बेस हुन्थ्यो । सकेसम्म यसलाई समाधान गर्ने भन्ने एउटा अभिव्यक्ति आएको भए राम्रो हुने थियो, त्यो भएन । अहिले नै भएका संयन्त्रहरुबाट गर्ने भनिएको छ ।

भारतसँग पहिले नै विभिन्न संयन्त्रहरु छन् तर सीमा एउटा टठ्कारो रुपमा नयाँ ढंगले आएको छ । भारतले नयाँ नक्सा प्रकाशित गरेको छ र हामीले नक्सा प्रकाशित गरेको कुरा छ । त्यसमा तत्परता देखाएर छलफल अगाडि बढाउने अपेक्षा थियो तर त्यो भएन ।

भारत भ्रमणमा गएका ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट पाएनन्, यसलाई कसरी लिने ?

परराष्ट्रमन्त्रीले भेटको कोसिस गर्नु भएको होला । प्रधानमन्त्रीले पनि केही आशा गर्नु भएको थियो होला । भेट नहुनु राम्रो कुरा होइन किनभने भारतको विदेशमन्त्री नेपालमा आउँदा शिष्टाचार भेट हुने गर्छ । त्यसैले हाम्रो परराष्ट्रमन्त्रीलाई पनि भेट दिनु उपयुक्त हुन्थ्यो । यसबाट उसले त्यति महत्व दिएको छैन भन्ने देखियो ।

नेपालको आन्तरिक राजनीतिको कारणले पनि भेट नदिएको हो की ?

विभिन्न कारणहरुमध्ये एउटा यो हुनसक्छ किनभने काम चलाउ सरकार हो र यसको हैसियत र महत्व पूर्णकालीन सरकारको जस्तो निश्चय नै हुँदैन । यो कारणले पनि भेट नदिएको हुनसक्छ ।

ज्ञवालीलाई भेट नदिनुलाई राजनीतिक सन्देशको रुपमा पनि बुझेका छन् धेरैले, त्यसो होला ?

भारत ठूलो देश छ, त्यसैले उसले हामीलाई एउटै तहमा व्यवहार गर्दैन । उसको परराष्ट्र सचिव नै आएपनि यहाँ प्रधानमन्त्रीलाई भेट्न पाउँछ । हाम्रो यताबाट गएको सचिवले प्रधानमन्त्रीलाई त के मन्त्रीलाई पनि भेट्न पाउँदैनन् ।

यो परिस्थिति हुँदाहुँदै पनि अहिले यो सरकारको हैसियत काम चलाउ छ । उसको नजरमा हैसियत यसै पनि कम भएको हुनाले नभटेको हुनसक्छ, तर उसले पहिला देखि नै फरक व्यवहार गदै आएको हो । पहिला नै त्यस्तो असमान व्यवहार छ, अहिले त मन्त्रीपरिषद नै काम चलाउ भएको छ ।

तपाईं प्रबुद्ध समूहको एक सदस्य हुनुहुन्छ, यस पटकको बैठकमा पनि यो प्रतिवेदन वुझाउने बारेमा कुनै सहमति भएन्, यसलाई कसरी लिनु भएको छ ?

ईपीजीको प्रतिवेदनको विषय नेपालले भने जस्तो छ तर त्यसले एउटा रुप धारण गर्ने अथवा तत्परताका साथ त्यो गर्छन् र प्रधानमन्त्रीको तहमा त्यो पुग्छ भन्ने केही पनि देखिएन । समग्रतामा बिल्कुलै साधारण, बैठक गरिस् भन्दा गरें भन्ने खालको औपचारिकता मात्र पुरा भयो । यसको कुनै उपलब्धी देखिएन ।

नेपालको राजनीतिक घट्नाक्रमबारे भारत पहिलाभन्दा अहिले मौन रहेको देखिन्छ, यस पछाडीको कारण के होला ?

अहिलेसम्मको इतिहासले के देखाएको छ भने नेपालको राजनीति तरल हुँदा र यहाँ राजनीतिक उतारचढाव हुँदा अथवा भद्रगोल हुँदा यसको फाइदा भारतले पाएको छ । भारत स्थिर राजनीति भएको बलियो नेपालको पक्षमा भारतको चासो छैन । भारतको चासो जहिले पनि नेपालको अस्थिर राजनीतिबाट फाइदा उठाउने भारतको नीति रह्यो । त्यसो भएको हुनाले नेपालको अस्थिर राजनीतिमा भारतले प्ले गर्ने विषय सधै छ । अहिलेसम्मको इतिहासले त्यही देखाएको छ ।

भारतसँग राम्रोसँग डिल गर्ने हो भने सबै भन्दा पहिला देशभित्र राजनीतिक स्थिरता, वैदेशिक सम्बन्धमा प्रष्टता हुनुपर्छ । यो विषय भारतलाई चित्त बुझदैन । इतिहासका विभिन्न घट्नाक्रम हेर्ने हो भने के देखिन्छ भने भारत बलियो नेपालको पक्षमा रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment